प्रधानन्यायाधीश न्यायपालिकाको प्रमुख व्यवस्थापक पनि हो। ठेक्कापट्टा, खरिद, लिलाम लगायत आर्थिक कारोबार र प्रशासनकि निर्णयमा प्रधान न्यायाधीशको प्रमुख सहयोगीको भूमिका सर्वोच्च अदालतको रजिष्ट्रारको हुन्छ। त्यसैले प्रधान न्यायाधीश र रजिष्ट्रारको संवन्ध सुमधुर रहन्छ।
यहिँ संवन्धलाई दिगो बनाउन प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले एउटा प्रयास गरे, 'रजिष्ट्रार लोहितचन्द्र शाहलाई पुनरावेदनको मुख्य न्यायाधीश बनाउने।' अवकाश पाउन एक महिना चानचुन बाँकि रहेका शर्माको नेतृत्वको न्यायपरिषद्मा अचेल पुनरावेदनका सोह्र मुख्य न्यायाधीशको नियुक्तिबारे छलफल चलिरहेको छ।
शर्माकै रोजाइमा अर्को नाम पनि आएको छ नायव महान्यायधिवक्ता राजानारायण पाठक। न्यायपरिषद् स्रोतका अनुसार कानून मन्त्रालयका सचिव भेषराज शर्मा पनि न्यायाधीश हुने 'रेस'मै छन्।
न्यायापरिषद्को औपचारिक र अनौपचारिक छलफलका क्रममा शर्माका रोजाइमा परेका शाह र पाठकको नाममा अरु सदस्यहरुले अहसमति जनाएका छन्। स्रोतले दिएको जानकारी अनुसार न्याय परिषद् सदस्य कानून मन्त्री नरहरि आचार्यले पाठक र सर्वोच्चका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले रजिष्ट्रार शाहको नाममा आपत्ति प्रकट गरेका छन्।
कानून मन्त्रीले रोलक्रममा रहेका न्यायाधीशहरुको गुण र दोषको आधारमा छनोट गर्नुपर्ने धारणा न्यायपरिषद्का अरु सदस्यहरुसमक्ष व्यक्त गरेका छन्। सोह्रभित्र रहेका केहि न्यायाधीशहरुको नाम छाँटिएपनि त्यसमुनिका पुनरावेदनकै न्यायाधीशबाट छनोट गर्नु उचित हुने राय न्यायपरिषद्का अरु सदस्यको पनि छ। परिषद्मा बारका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने र प्रधानमन्त्री कोटामा नियुक्त खेमनारायण ढंुगाना सदस्य छन्।
न्यायपरिषद् अध्यक्ष शर्माले पुनरावेदनको मुख्य न्यायाधीश बनाउन चाहेका व्यक्तिहरुको चयन भयो भने 'सिनियरिटी' विरुद्व हुने भन्दै आलोचना पनि भइरहेको छ। पुनरावेदनको मुख्य न्यायाधीश हुने आकांक्षीहरु शाह, पाठक र शर्मा सहसचिव छदा उनीहरका हाकिम (सचिव)हरु अहिले पुनरावेदनका अठार, वीस र एक्काइस नम्बरका न्यायाधीश छन्। उनीहरुलाई तलै राखेर तीन जानालाई मुख्य बनाउन सम्भव नभएको भन्दै भित्रभित्र लविङ चलिरहेको छ।
मुख्य न्यायाधीश नियुक्तिको विषयमा आज (शुक्रवार) अपरान्ह पनि परिषद् बैठक बस्यो। सदस्य न्यौपानेले दिएको संक्षिप्त जानकारी अनुसार परिषद्मा 'नियुक्ति मापदण्डबारे सैद्वान्तिक छलफल' सुरु भएको छ।
'मुख्य न्यायाधीशको नियुक्ती कसरी गर्ने भन्ने नितिगत छलफल सुरु भएको छ,' सदस्य न्यौपानेले भने। उनले यसबारे थप कुराकानी गर्न मानेनन्।
परिषद स्रोतका अनुसार आइतबारसम्ममा मुख्य न्यायाधीशको सिफारिस भैसक्नेछ। मुख्य न्यायाधीशमा पुनरावेदनका वरिष्ठ न्यायाधीशबाट मात्रै ल्याउने वा न्यायसेवावाट पनि ल्याउने भन्ने बारे सदस्यहरुले धारणा राखेको स्रोतले बताएको छ।
यसअघि परिषदले बनाएको न्यायाधीस नियुक्तिको मापदण्ड सर्वोच्च अदालतको एक इजलासले खारेज गरिसकेको छ। मापदण्ड खारेज भएपछि मुख्य न्यायाधीशको नियुक्ति प्रक्रियाबारे परिषदले छलफल गरि टुंगो लगाएर मात्रै सिफारिस गर्ने भएको हो।
वरिष्ठताकै आधारमा मुख्य न्यायाधीश नियुक्त गर्ने प्रचलन भने पुरानै हो। खारेज गरिएको मापदण्डले न्याय र कानुनको क्षेत्रमा लामोसमयसम्म योगदान पुराएका व्यक्तिलाई पनि मुख्य न्यायाधीश बनाउन सकिने व्यवस्था थियो।
बरिष्ठताको आधारमा मुख्य न्यायाधीश बनाए, पुनरावेदनका २२ जना न्यायाधीशहरु प्रतिस्पर्धामा छन्।
'छलफलमा जुनसुकै कोणबाट कुरा आउँछन्, तर अन्त्यमा पुरानै चलनअनुसार वरिष्ठ न्यायाधीश बाटै मुख्य न्ययाधीशको सिफारिस हुने सम्भावना छ,' स्रोतले भन्यो।
परिषद्को अर्को बैठक शनिबार दिँउसो २ वजे बस्ने छ।