सार्वजनिक लेखा समितिको सभापतिमा एमाओवादीका सभासद जनार्दन शर्माको चयन पक्का भएको छ।
संसद सचिवालयले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार बिहीबार साँझसम्म पनि लेखा समितिका अरु कुनै सदस्यले उम्मेदवारी मनोनयन पत्र दर्ता नगरेपछि शुक्रबार बिहान हुने सभापति चयनको निर्वाचनमा एमाओवादी नेता निर्विरोध निर्वाचित हुने भएका हुन्।
संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार समितिको बिहीबार बस्ने बैठकमा शर्मा प्रक्रिया पुर्याएर निर्विरोध निर्वाचित भएपश्चात सभामुख सुवासचन्द्र नेम्वाङले साढे ११ बजे शर्मालाई सभापतिको पद तथा गोपनीयताको सपथ दिलाउने छन्।
सरकारसँग प्रमुख राजनीतिक दलका नेताहरुले संसदीय समितिका सभापतिहरुका चयनका लागि आवश्यक सहमति कायम गरी समितिको कामकारबाही प्रभावकारी बनाउन निर्णायक पहल नगरेपछि सभामुख नेम्वाङ एक्लैले सार्वजनिक लेखा समितिको सभापति चयनको प्रक्रिया अगाडि बढाएका थिए।
संसदीय अभ्यासमा संसदभित्रको प्रमुख एक समिति मानिने लेखा समितिको सभापति सामान्यतया: प्रमुख प्रतिपक्ष दलका सदस्यलाई दिने गरिन्छ।