व्यवस्थापिका–संसद्को बुधबराको बैठकमा पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने थारू समुदायमा महामारीका रुपमा फैलिएको सिक्कल एनिमिया रोग नियन्त्रणबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भयो।
'पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायमा मात्र लाग्ने सिक्कल सेल एनिमिया रोग प्रकोपको रूपमा फैलिएकाले सरकारले तत्काल रोग नियन्त्रणको सम्पूर्ण उपाय अवलम्बन गरोस्' थरूहट पार्टीका सभासद् गोपाल दहितले यो विषयको जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्र्नु ।
दहितले महामारी फैलिएको सम्बन्धमा प्रधानमन्त्री, अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँदा पनि नियन्त्रणका लागि कुनै बजेट विनियोजन नगरेकामा चिन्ता व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल विज्ञ टोली खटाउन, रोग परीक्षण गर्ने उपकरण उपलब्ध गराउन, निःशुल्क औषधि उपचार गराउन र खोप तथा जनजेतनाका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए।
सो प्रस्तावमा तेजुलाल चौधरी, विश्रामप्रसाद चौधरी, शिवलाल थापा, आशा कोइराला र रामकुमार राईले समर्थन जनाउँदै सरकारले यस समस्यालाई गम्भीरतापूर्वक लिएर औषधि उपचारको व्यवस्था गरिदिनु पर्ने बताएका थिए।
उनीहरुले ४० लाख थारूहरू रोगले च्याप्दै सकिन थालेकामा चिन्ता व्यक्त गर्दै सन्तुलित भोजन नभई रक्तअल्पताका कारण यो रोग उत्पन्न भएको पाइएपनि अस्पतालहरूमा परीक्षण गर्ने उपकरण नहुँदा बिरामीहरू थप थला पर्ने स्थिति पैदा भएको गुनासो गरे।
साथै संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा राखिएपनि सरकारले यस रोग नियन्त्रणका लागि विशेष योजना र कार्यक्रम नल्याएर संवेदनहीनता प्रस्तुत गरी नागरिकप्रति गैर जिम्मेवारीपन प्रदर्शन गरेको आरोप उनीहरुले लगाए।
उनीहरूले यस विषयमा सरकार गम्भीर नभए आन्दोलन गर्ने चेतावनी पनि दिए। उनीहरुले पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा फैलिएको यो रोग वंशाणुगत भएकाले यसको निराकरणका लागि विशेषज्ञबाट अध्ययन र खोजी गराएर रोगको कारण पत्ता लगाउनुपर्नेमा जोड दिए।
सो प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा (एमाले) का केशवप्रसाद बडालले मार्मिक, संवेदनशील र गम्भीर विषयमा यसअघि नै संसद्मा आवाज उठेपनि सरकारको बजेटले कुनै सम्बोधन नगरेकामा चिन्ता व्यक्त गरेका थिए।
नेपाली काँग्रेसका अमरेशकुमार सिंहले रोग नियन्त्रणमा भएका प्रगतिबारे नियमित जानकारी लिन र सरकारलाई घच्घच्याउन एक संसदीय समिति गठनको माग गरे।
छलफलमा हरिलाल ज्ञवाली, अमललाल मोदी, डा. सुवोधकुमार पोखरेल, मीना चौधरी, जनकलाल चौधरी, हरिचरण शाह, कमलेश्वर पुरी गोश्वामी, दलजित विके, योगेन्द्र तामाङ, कृष्णभक्त पोख्रेल, गङ्गा चौधरी, राजेन्द्रकुमार केसी, सञ्जकुमार गौतम, नागेन्द्र थारु, गौरी शंकर चौधरी र शान्ता मानवीले थारू समुदायमा महामारीका रुपमा फैलिएको यो रोग नियन्त्रणप्रति सरकार गम्भीर हुनुपर्ने बताए।