ऐतिहासिक तथा सांस्कृतिक खोजका क्रममा फेला परेका १० औं श्यामार्पा रिन्पोचेसम्बन्धी कागजात बुझाउने क्रममा ३० वर्षअघि डा. रमेश ढुंगेलको १४ औं श्यामार्पा रिम्पोचेसँग भेट भएको थियो। आफ्नै पूर्व अवतारसँग जोडिएका कागजात आफूलाई देखाएपछि अत्यन्तै खुसी भएका श्यामार्पाले गम्लङ्ग अँगालो हाल्दै भनेका थिए, ‘तपाईंलाई भगवान बुद्धले पठाउनु भएको हो।’
‘वर्षौंदेखि मैले यस्तो मान्छे खोजिरहेको थिएँ,’ १४ औं श्यामार्पा रिन्पोछेले भनेको उनी सम्झिन्छन्, ‘विदेशमा अध्ययन गरेर फर्केका हुँदा उहाँ हातै मिलाउनुहुन्थ्यो, तर त्यो दिन उहाँ कागजात देखेर अत्यन्त उत्साहित हुनुभयो।’
डा. ढुंगेलले फेला पारेका ती कागजातमा तिब्बतबाट भागेर आएका १० औं श्यामार्पा रिन्पोचेलाई फिर्ता पठाउन चीनका बादशाहले नेपाल सरकारलाई आग्रह गरेको र आफ्नो शरणमा आएका लामा गुरूको मरण गर्ने काम हुँदैन भन्ने जवाफ दिएको विवरण उल्लेख थियो।
उनको निधनपछि श्यामार्पाका हड्डी, नोकरचाकर र सम्पत्तिसमेत पठाउन पत्र लेखे पनि नेपालले पठाएन। यसै निहुँमा १८४६–१८४९ सालमा नेपाल–चीन–तीब्बतबीच लडाइँ भएको थियो। उनै श्यामार्पाले नेपाली सेनालाई चीनसँग लड्न जाने बाटो पनि देखाइदिएका थिए। मृत्युपछि उनलाई स्वयंभूमा हारती मन्दिरको बगलमै चैत्य बनाएर समाधि गरिएको थियो।
यो संसार एउटा दूरभि सन्धि (ग्य्राण्ड डिजाइन) भनेजस्तै भयो, डा. ढुंगेलको जीवनमा श्यामार्पा रिन्पोचेसँगको सम्बन्ध। १० औं श्यामार्पाको पार्थिव शरीर चीन पठाउन नेपालले नमानेको दस्तावेज फेला पार्ने उनी, १४ औं श्यामार्पाको कुदुङ (पार्थिव शरीर) भूटानबाट नेपाल ल्याउन दिन सरकारसँग बहस गर्ने पनि उनै भए।
त्यतिमात्र होइन, बालुवाटारदेखि सिंहदबारसम्म अनुमतिको पत्र पाउन उनी धाइरहे। सरकारले अनुमति दिएको चिठी मंगलबार अपरान्ह पाइसकेपछि श्यार् मिन्हुन इन्ष्टिच्युटका उपाध्यक्ष रोशन बज्राचार्य र धर्मोदय सभाका लक्ष्मीदास मानन्धरसहित उनी त्रिभुवन विमानस्थलमा गए। बल्ल उनको पार्थिव शरीर ड्रूक एअरबाट काठमाडौं ल्याइयो।
पहिलो भेटमा पनि केही दस्ताबेजसहित उनी श्यामार्पालाई भेट्दै थिए भने अन्तिम दर्शन पनि नेपाल सरकारको कागजकै कारण भइहेको थियो। अन्यथा, उनको समाधि भूटान वा भारतको कालिम्पोङमा हुने थियो।
कसरी फेरियो निर्णय?
श्यार् मिन्हुन इन्स्टिच्यूटका तर्फबाट श्यामार्पाको कुदुङ ल्याउने अनुमतिका निम्ति निवेदन दिइएको थियो। जर्मनीको बोधीपथ कग्र्यु केन्द्र रिन्छेन उलमा जेठ २८ गते ह्ृदयघातबाट निधन भएका उनको पार्थिव शरीर अन्तिम दर्शनको लागि भारतको कालिम्पोङ हुँदै भूटान पुर्याए नेपाल ल्याउने कार्यक्रम तय भएको थियो।
सरकारले उनको पार्थिव शरीर ल्याउने अनुमति दिइसकेको थियो। अमिताभ बुद्धको अवतारसमेत मानिने यी लामा गुरूको अन्मित समाधिका बेला धेरै ठूलो भीडभाड हुने भएकोले शान्ति सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गर्दै परेको निवेदनपछि सरकारले थप खोजबिन गर्न थाल्यो।
विदेशी नागरिकलाई ढाँटेर नेपाली भन्दै ल्याउन खोजेको भन्ने निश्कर्ष निकाले कुदुङ ल्याउन नदिने निर्णय भयो। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका बामदेव गौतमले यो निर्णय गरेपछि उनको पार्थिव शरीर ल्याउन रोक लाग्यो। यसले समुदायमा छटपटी बढिरहेको थियो, कारण बिहीबार उनको समाधि गर्ने दिन तय भइसकेको थियो। संसारभरबाट बौद्ध धर्मावलम्बीहरू आउन थालिसकेका थिए।
भूटानी राजाले मानेका धर्मगुरू भएका कारण उनलाई २२ वर्षअघि नागरिकता र त्यसैका आधारमा रातो पासपोर्ट चढाएका थिए। उनलाई त्यस्तो पासपोर्टले यात्रा गरिरहन सजिलो भयो। त्यो प्राप्त गरेपछि उनले दिल्लीस्थित नेपाली राजदूताबासलाई नेपाली नागरिकता फिर्ता गरेका थिए।
तिब्बतमा जन्मिएर ६ वर्षको उमेरमा सिक्किमको रुमतेक गुम्बामा शिक्षादीक्षा भएका यी लामा गुरूले नेपाली नागरिकता २०३२ सालमा पाएका थिए। उनको शव ल्याउन दिन सरकारले अनुमति दिने क्रममा अनेकन कागजात मागेको थियो।
त्यसमध्ये नागरिकतामा उनको नाम दोर्जे रिन्पोछे लामा लेखिएको थियो। कर्मचारीहरूलाई श्यामार्पा भनेको पदवी भएकोले दोर्जे रिन्पोछे नै श्यामार्पा रिन्पोछे हुन् भन्ने प्रमाणित गरिदिनु परेको थियो। त्यो कागजातमा बज्रजाचार्य, मानन्धर र डा. ढुंगेलले सनाखत गरिदिएका थिए। यसै कारणले पनि प्रक्रिया रोकिएला कि भन्ने उनीहरूलाई भइरहेको थियो।
त्यस्तै नेपाली नागरिकता भारतको नयाँदिल्लीस्थित राजदूताबासमा बुझाएको कागजातसमेत बुझाइएको थियो। कुनै बेला नेपाली नागरिक भएको भन्ने पक्षलाई समेत आधार बनाएर कुदुङ नेपाल ल्याउने अनुमति दिइएको थियो। यस्ता लामा गुरूहरू तिब्बतबाट आउँदा ल्याएको सम्पत्तिलाई संसारभरि आफू गएका ठाउँमा विभिन्न हिसाबले प्रयोग गर्ने गरेका छन्। नेपालमा पनि यस्ता संस्थाहरूमा उनीहरूका परम्परादेखिका सम्पत्ति र अभ्यास जोडिएका छन्।
उच्च सरकारी कर्मचारी र केही मन्त्रीहरूले भने यसमा गम्भीर आपत्ति प्रकट गरेका थिए। विदेशीलाई अन्तिम सतगत गर्न यहाँ ल्याउन कानुनले नदिने उनीहरूको तर्क थियो। अझ बंशजका आधारमा यी शरणार्थीलाई कसले नागरिकता दियो त्यसमा छानबिन गर्नुपर्छ भन्ने आवाजसमेत उठेको थियो। भोलि अरू धर्मका गुरूले पनि यस्तो अनुमति मागेमा दिने कि नदिने भन्ने प्रश्न पनि उठेका थिए। तर, लामा गुरू श्यामार्पाको पार्थिव शरीर यहाँ ल्याएर सतगत गर्नु अन्य सामान्य नागरिकको शब ल्याएजस्तो मात्र होइन भन्ने तर्क आयोजक पक्षले गरेको थियो।
एक उच्च सरकारी स्रोतका अनुसार, श्यामार्पाको पार्थिव शरीर ल्याउन दिने वा नदिने निर्णयले सत्तारूढ गठवन्धनमै समस्या आउनेजस्तो पनि देखिएको थियो। प्रधानमन्त्री सुशील कोइराला आएपछि अनुमति दिन दुईपटक निर्देशन दिनु परेको थियो। तर, गौतमले यसमा अडान राखेका हुनाले निर्णय हुन सकेको थिएन।
श्यामार्पासँगको साइनो
यी लामा गुरूकहाँ बेलाबेलामा ढुंगेल गइरहन्थे। एउटा विद्धान र खोजकर्ताका रूपमा उनीहरूका कार्यक्रममा यी पुगिरहन्थे। त्यति मात्र होइन, २०६७ फागुन ८ गते बौद्ध चुच्चेपाटीमा आयोजित शान्ति महोत्सवमै श्यामार्पा र रिन्पोचेको किताब समेत विमोचन भएको थियो। ५० हजारभन्दा बढी भेला भएको त्यो समारोहमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थिति थियो।
राष्ट्रपतिलाई समेत त्यो बेला विवादमा परिने हो कि भन्ने डर थियो। तर, श्यामार्पाको कार्यक्रम विवादास्पद नरहेको र धार्मिक गतिविधि मात्र हो भन्ने बुझाएपछि आउन तयार भएका थिए।
त्यसको एक वर्षअघि श्यामार्पा रिन्पोछे र डा. डुंगेलका किताबको सामुहिक विमोचन कार्यक्रम होटल याक एण्ड यतिमा भएको थियो। ढुंगेलको ‘द लष्ट हेरिटेज’ र श्यामार्पाको ‘क्रियटिङ ट्रान्सपरेन्ट डेमोक्रेसी ः अ न्यू मोडल’ र यसको नेपाली अनुवाद ‘नेपालको सन्दर्भमा पारदर्शी शासनको स्वरूप’ त्यहाँ सार्वजनिक भएका थिए।
अहिलेका संचारमन्त्री डा. मीनेन्द्र रिजालले त्यो कार्यक्रममा श्यामार्पाका किताको विमोचन गर्नुका साथै त्यसको समीक्षासहित प्रमुख वक्ताका रूपमा बोलेका थिए। यी यावत विषयको जानकारी भएका कारण यसपटक संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य र अर्का मन्त्री रिजालले उनको पार्थिव शरीर ल्याउने अभियानमा साथ दिएका थिए। त्यसमा निरन्तर घच्घच्याउने समुदायका सदस्यहरू छदै थिए।
राष्ट्रपति यादवले समेत पटकपटक सरकारको ध्यानाकर्षण गराएका थिए। श्यामार्पाको समाधि यहाँ बनाउँदा त्यसले समुदायमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराउन शितल निवास गएका सभासद र समुदायका व्यक्तिहरूलाई उनले अनुमति दिन सरकारलाई पत्र लेख्ने आश्वासन समेत दिएका थिए।
तर, उपप्रधान तथा गृहमन्त्री गौतमले कार्यवाहक प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिलाई भेटेर शान्ति सुरक्षा दिन नसकिने र सानोतिनो कुनै घटना भएमा अपगाल आउन सक्ने बताएका थिए। यी सबै घटनाहरूले श्यामार्पाको शब ल्याउन सकिने जस्तो देखिएको थिएन।
हिमाली संस्कृतिको संयोग
श्यामार्पासँगको संगत र हिमाली संस्कृतिप्रतिको लगावका कारण डा. ढुंगेललाई यो समुदायका व्यक्तिहरूले राम्रै चिनेका थिए। सरकारले दिइसकेको अनुमति रद्द भएपछि उनीहरू सहयोगका निम्ति उनलाई भेट्न आए। त्यसो त उनी श्यार् मिन्हुन इन्स्ट्च्यिुटका सल्लाहकार समेत हुन्। श्यामार्पाले यो इन्स्टिच्युटलाई विश्वविद्यालयका रुपमा विकास गर्न चाहेका कारण पनि एउटा विद्वान व्यक्तिका रूपमा कुनै न कुनै रुपमा जोडिएका थिए।
त्यसपछि उनी श्यार मिन्हुन इन्स्टिच्यूटका उपाध्यक्ष बज्राचार्य, धर्मादय सभाका मानन्धरलगायतका व्यक्तिहरूसँग निरन्तर बैठकमा संलग्न भए। उनीहरूले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई समेत भेटे। श्यामार्पा संस्थासँगको नेपाल साइनोबारे जानकारी दिने उनले लेखेका लेख, ऐतिहासिक कागजातसहित सरकारका विभिन्न निकायको विश्वास लिने काम भएको थियो।
झण्डै एक महिना अवधिमा यो समुदायका ज्ञात अज्ञात धेरै व्यक्तिहरू सक्रिय भए। त्यसमा मन्त्रीद्वय आचार्य र रिजालको सकारात्मक सहयोग रह्यो। गौतम यो निर्णयबाट पछि नहट्ने देखेपछि प्रधानमन्त्री सुशील कोइरा उपचार गराएर फर्कने समयको प्रतिक्षामा रहे।
यसपटकको सबैभन्दा सुन्दर पक्ष भनेको कसैले पनि नकारात्मक अभिव्यक्ति दिएनन्। सरकारले अनुमति नदिँदा पनि संयमित भएर उनीहरू बसे। विरोध प्रदर्शन आदिजस्ता घटना भएका भए त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्ने थियो। समुदायका मनमा चोट पुग्दा एकजना शान्तिप्रिय बौद्ध लामाका निम्ति अशान्तिपूर्ण क्रियाकलाप हुन सक्ने थिए।
प्रधानमन्त्री र उनको निकटका व्यक्तिहरूलाई श्यामार्पाको पार्थिव शरी नेपाल ल्याउनुको गहन अर्थबारे बताइएको थियो। रानीवनस्थित यो इन्स्टिच्यूट एउटा ठूलो धार्मिक संस्था बन्ने र त्यसले नेपाललाई निरन्त पर्यटक ल्याउन र धार्मिक सहिष्णुता भएको मुलुकको रुपमा चिनाउन मद्दत गर्ने जानकार विज्ञहले गराएका थिए।
वास्तवमा श्यामार्पा रिन्पोचेका कुदुङ यहाँ ल्याउन सक्नुमा मुख्य भूमिका हाम्रो इतिहास र संस्कृतिबारे बुझाउने प्रयासले निर्वाह गरेको छ। उनको अवतार नेपालमै भएको कारण पनि यहाँ ल्याउन दिनुपर्ने तर्क भएको थियो। श्यामार्पा संस्थाको सबैभन्दा ठूलो केन्द्र नेपालमै स्थापना भएको छ। स्वयंभूको कर्मराज विहार श्यामार्पा इन्स्टिच्यूट मातहत रहेको छ।
श्यामार्पाको पार्थिव शरीर ल्याउन रोक नलागेको भए हाम्रो हिमाली संस्कृति र यसका विशेषताबारे धेरै छलफल हुने थिएन। कम्तिमा यो अप्ठ्यारो स्थितिले यसबारे बुझ्न वाध्य पा¥यो। हाम्रा संस्कृति र जातीय तथा धार्मिक विविधताबारे जानकारी हुन नसक्दा यस्ता समस्या आउने हुन्। कम्तिमा डा. ढुंगेलजस्ता अनुसन्धाताहरू नहुने हो भने हामी हाम्रैबारेमा पनि अनविज्ञ भएर निर्णय गर्ने रहेछौं भन्ने यो घटनाले देखाएको छ।