पार्टीभित्र देखिएको अन्तरकलहलाई समाधान गर्ने विषयमा छलफल गर्न एमाओवादीको विवाद समाधान समितिको बैठक बुधबार पनि बस्दैछ । यस अघि मंगलबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।
विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसक्दा समस्या झन बझिल्दै गएको छ ।
संस्थापन पक्षले आफ्नो विचार समूहलाई पेलेको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराई पक्षले सिन्धुली, गोरखा, डोटी, मकवानपुर र धनुषामा समानान्तर समिति गठन गरेको थियो । परम्परागत तवरले पार्टी अगाडि बढ्न नसक्ने भन्दै भट्टराई पक्षले सङ्गठनात्मक संरचना बदल्नुपर्ने माग गरेको थियो । एमाओवादीको विवाद समाधान समितिमा अध्यक्ष प्रचण्ड उपाध्यक्षद्वय श्रेष्ठ र बोगटी, नेता भट्टराई र महासचिव कृष्णबहादुर महरा छन् ।