भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको अवसरमा नेपाल–भारतबीच उर्जा व्यापार सम्झौताका साथै जलविद्युत विकास सम्झौता गर्ने विषयमा प्रमुख तीन दलका नेताहरुबीच नीतिगत सहमति भएको छ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न तीन दलको बैठकले भारतसँग हुनसक्ने सम्झौताको बारेमा आन्तरिक गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
बैठकमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले सेतोपाटीलाई दिएको जानकारी अनुसार उक्त कार्यदलमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रामशरण महत, एमालेका उपाध्यक्ष भीम रावल र एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सम्मिलित छन्।
'उक्त तीन सदस्यीय कार्यदलले हालै भारतीय सरकारको तर्फबाट नेपालको विकासका लागि दुई देशबीच उर्जा व्यापार सम्झौता, जलविद्युत सम्झौता साथै अन्य विकास निर्माणका लागि पठाएको प्रस्ताव उपर आन्तरिक गृहकार्य गर्ने छ,' उनले भने।
कार्यदलले नेपालले भारतसँग उर्जा व्यापारसँगै उर्जा विकास परियोजना सञ्चालनका लागि आफ्नो राष्ट्रिय हितलाई कसरी सिद्ध गर्न सकिन्छ भन्ने विषयमा जलस्रोत तथा उर्जा मन्त्रालयका उच्च पदाधिकारीका साथै अरु राजनीतिक दलहरुसँग पनि वार्ता र सम्वाद गरी प्रतिवेदन तयार पार्ने छ।
मंगलबारको बैठकमा सरकारको तर्फबाट भारतीय प्रधानमन्त्रीको भ्रमणका साथै सरकारको तयारी बारेमा नेताहरुलाई जानकारी गराइएको थियो। त्यसपछि नेताहरुले लामो समयको अन्तरालमा भारतीय सरकारको तर्फबाट प्रधानमन्त्री मोदी नेपाल आउन लागेको अवस्थामा दुईपक्षिय सम्बन्धलाई अझ मजबूद बनाउँदै आपसी हितको विषयमा सझौता गर्नुपर्ने कुरामा सबै सहमत भएको खड्काले बताए।
बैठकमा नेताहरुले भारतसँग बहुचर्चित उर्जा व्यापार सम्झौता गर्दा उर्जा उत्पादनको विषयलाई अलग गर्दै भोलिका दिनमा नेपालले अरु मुलुकसँग उर्जा व्यापार गर्न सकिने गरी भारतसँग सम्झौता गर्नुपर्नेमा जोड दिएका थिए।
भारतसँग जलविद्युत विकास सम्झौता गर्ने विषयमा नेताहरुले नेपालको राष्ट्रिय हितका लागि खासगरी माथिल्लो कर्णाली जलविद्युत परियोजना लगायतका महत्वपूर्ण परियाजनाको विकासका लागि सम्झौता गर्नुपर्ने धारणा राखेका थिए।
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनु पूर्व राजनीतिक दलहरुबीच आन्तरिक सहमतिको वातावरण निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै सरकारी निवास वालुवाटारमा मंगलबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताहरुको बैठक डाकेका थिए।