व्यवस्थापिका संसदको नियमावलीअनुसार सदनमा कुनै पनि सभासदले बोलिरहँदा वक्ता र सभामुखको बीचबाट काटेर हिँड्न मिल्दैन। यस्तो अवस्थामा सभामुखले तत्काल फर्कन निर्देशन दिन सक्छन्।
सभासदहरु स्वय्ंले तयार पारेको नियमावलीको पालना तिनै सभासद्हरुबाट हुनेभन्दा पनि उल्लंघन बढी हुने गरेपछि सभामुखले पटकपटक सभासदहरुलाई सम्झाउनु नियमित कार्यसूचीभित्र पर्ने गरेको छ।
पछिल्लोपटक साउन ११ गते संसदको बैठक सुरु गर्नासाथ सभासद्हरुले बीचबाट बाटो काटेर हिँड्ने क्रम सुरु भयो। संविधानसभामा पहिलोपटक निर्वाचित भएर आएका सभासदहरुले समेत ६ महिनाको लामो संसदीय अभ्यास गरिसकेका छन्। बेलाबखतमा नयाँ र अपरिपक्व सभासदहरुबाट यस्तो घटना एकाध रुपमा हुनु खासै ठूलो विषय पनि होइन। तर, विगतमा पटकपटक निर्वाचित भएर सदनको कारबाहीमा भुक्तभोगी भएका पाका पुराना सभासद्देखि प्रमुख राजनीतिक दलका सचेतकसमेत भइसकेका व्यक्तिहरुले नियमावलीको पालना गर्न नसकेपछि सदनको मर्यादा कसले राखिदिने?
यस्तै भयो, साउन ११ गतेको बैठकमा। नेपाली कांग्रेसका सभासद् अर्जुनरसिंह केसी, अर्जुनप्रसाद जोशीदेखि एमालेका पूर्वसचेतक एवम् पर्यटनमन्त्री भीम आचार्यसहित आधा दर्जन सभासद्ले बीचबाट हिँडेपछि सभामुख सुवासचन्द्र नेम्वाङले पटकपटक बाटो नकाट्न निर्देशन गर्नुपर्यो।
संविधानसभा नियमावलीको दफा ३३ को बैठकमा पालना गुर्न पर्ने कुराहरु अन्र्ततको उपदफा (च) अनुसार अध्यक्षको आसन र वोलिरहेको सदस्यको वीचबाट हिड्न हुदैन भन्न प्रावधान राखिएको छ।
एमालेका सभासद् राजेन्द्र पाण्डेले विशेष समयमा बोल्दै गर्दा मात्रै मन्त्री भीम आचार्य र अर्का एक सभासद्ले बीचबाट हिँड्दा सभामुखले पटकपटक फर्कन निर्देशन दिनुपर्यो। त्यसपछि नदी किनारबाट रोडा, बालुवा र ढुंगाको उत्खनन गरी बिक्री वितरणमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा बोल्दै गरेका पाण्डेले सभामुखसँग आफ्नो ४ मिनेटको समयमा सभामुखको निर्देशनले समेत असर पारेको गुनासो गरे।
त्यसलगत्तै राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले सभासद्जस्तो मर्यादित व्यक्तिहरुले नै सचिवालयको पुस्तकालयमा अध्ययन गरिरहेका अरु सभासदहरुको ख्यालै नगरी चर्को आवाजमा मोवाइलमा कुरा गर्नेदेखि सदनको कारबाही चलिरहँदा वक्ता सभासद र सभामुखको बीचबाट बाटो काटेर हिँड्ने गरेको घटनाप्रति आपत्ति जनाए।
'राज्यको मूल कानुन निर्माण गरी देशमा सुव्यवस्था कायम गर्न प्रतिवद्ध सभासदहरुले नै यस्ता गैरजिम्मेवार पूर्ण व्यवहार गर्छन् भने उनीहरुले कसरी र कस्तो संविधान तथा कानुन निर्माण गर्लान्?' सभासदहरुको व्यवहारप्रति कटाक्ष गर्दै केसीले सभामुखसँग भने, 'सभामुख महोदय, माननीय सदस्यज्यूहरुलाई के गर्न हुने के गर्न नहुने विषयमा संसदभित्र अभिमुखीकरण तालिम दिने व्यवस्था गर्नु पर्यो।'
हुन त यो सामान्य सभासदहरुको मात्रै समस्या होइन। सरकारकै मन्त्रीहरु समेत आफ्नो पदीय मर्यादा विपरीत आफ्नो कुर्सीमा बस्नुको सट्टा कहिले प्रधानमन्त्रीको कुर्सीमा त कहिले उपप्रधानमन्त्रीको कुर्सीमा बस्ने गर्दा कतिपय विपक्षी दलका सभासद्हरुले आपत्ति जनाउने गरेका छन्।
प्रधानमन्त्री सुशील कोइराला बर्माको राजधानी म्यान्मारबाट फर्कने दिन उनलाई विमानस्थलमा स्वागत गर्न निस्कनु पूर्व आफ्नो मन्त्रालयको विषयमा सभासदहरुले उठाएको प्रश्नहरुको जवाफ दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई बोलाउँदा अधिकारी प्रधानमन्त्रीको कुर्सीमा बसे। त्यसको विरोध गर्दै समाजवादी पार्टी नेपालका सभासद प्रेमबहादुर सिंहले आपत्ति जनाएपछि मन्त्री अधिकारी आफ्नै कुर्सीमा फर्केका थिए।
सरकारको नीति तथा कार्यक्रम सदनसमक्ष राष्ट्रपति रामवरण यादवले पेश गर्ने दिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मा लिएर बसेका गृहमन्त्री वामदेव गौतमले समेत मर्यादा विपरीत तलमाथि गरी बसिदिँदा अर्का मन्त्री कर्णबहादुर थापाले बस्ने सिट नै पाएनन्।
गौतम प्रधानमन्त्रीको कुर्सीमा बसेपनि अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंह भने आफ्नै कुर्सीमा बसिरहेका थिए भने मन्त्री थापा केही समय कुर्सीविहीन अवस्थामा उभिन बाध्य भएका थिए।
सभासदहरुले पटकपटक गर्ने गरेको नियमावलीको उल्लंघनबारे प्रतिक्रिया दिँदै समाजवादी पार्टी नेपालका सभासद प्रेमबहादुर सिंहले सदनमा करिब ८५ प्रतिशत नयाँ र पहिलोपटक सदनमा उपस्थित भएको कारण पनि यस्ता घटना हुने गरे पनि पुराना र शीर्ष नेताहरुले नै नियमावलीको पालना गर्न नसक्नु दुभाग्यपूर्ण भएको बताए।