नेपाली कांग्रेस पदाधिकारीको बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको बारेमा पार्टीको तर्फबाट सरकारमा रहेका प्रतिनिधीहरुमार्फत जानकारी लिएको छ।
पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास वालुवाटारमा मंगलबार अपरान्ह बसेको पदाधिकारी बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारले गरेको तयारीका बारेमा जानकारी लिएको कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले सेतोपाटीलाई दिए।
लामो समयको अन्तरालपछि भारतीय सरकार प्रमुखले गर्न लागेको भ्रमणका अवसरमा दुईपक्षिय सम्बन्ध सुधारका अलवा दुबै देशको पारस्परिक हित र विकासका लागि विभिन्न विषयमा हुनसक्ने सहमति र सझौताका बारेमा सरकारलाई स्पष्ट प्रस्तावसहित साँझ बस्ने तीन दलिय बैठकमा उपस्थित हुन पनि आग्रह गरेको उनले बताए।
यसका अतिरिक्त पदाधिकारी बैठकमा संविधानसभा र त्यस अर्न्तगतका विभिन्न समितिहरुमा संविधान निर्माणको सवालमा भए गरेको प्रगति विवरणहरुको बारेमा पनि छलफल भएको थियो।
लामो समयदेखि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न नसकीरहेको अवस्थामा आजको पदाधिकारी बैठकले कार्यसमितिको बैठक बोलाउने विषयमा पनि छलफल भएको थियो।
सरकारले हालै घोषणा गरेका नयाँ नगरपालिकाहरुमा पार्टीको संगठनिक संरचना बनाउने बारेपनि छलफल भएको खड्काले बताए।
त्यसैगरी पार्टीको आगामी महाधिवेशन तयारीका लागि आवश्यक क्रियाशिल सदस्यता वितरण प्रक्रियालाई तिब्रता दिदै जतिसक्दो चाडो त्यसको रिपोर्ट केन्द्रमा दिने विषयमा पनि छलफल भएको थियो।