संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय समितिले मंसिर ४ गते सम्पन्न संविधानसभामा भाग लिएका सबै राजनीतिक दलह र सरोकारवाला सबै पक्षसँग निर्वाचनको सवालमा उठेका प्रश्नहरुको बारेमा उनीहरुको धारणा माग गरेको छ।
संसद सचिवालयमा सोमबार बसेको बैठकले संविधानसभाको निर्वाचनमा देखिएका कमिकमजोरीका साथै आगामी दिनमा गर्नु पर्ने सुधार कार्यक्रमका बारेमा आफ्नो धारणा एक हप्ताभित्र समिति समक्ष पेश गर्न राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकार्यलाई आग्रह गरेको समितिका सदस्य भानुभक्त ढकालले बताए।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकमा एमाओवादीले लगायतका असन्तुष्ट दलहरुले तयार पारेको निर्वाचन रिपोर्टका साथै राष्ट्रिय प्रजातन्त्र पाटीका नेता प्रकाश चन्द्र लोहनीले तयार पारेको नुवाकोट क्षेत्र नम्बर १ को निर्वाचनमा भएको अनियमितताको विवरण पनि पेश भएको थियो।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा अनपेक्षित परिणाम आउन थालेपछि एमाओवादी लगायतका १६ वटा साना राजनीतिक दलहरुले निर्वाचन पश्चात मतपेटिका ओसार्ने क्रममा राज्यले धाँधली गरेको भन्दै नेपाली कांग्रेस र एमालेसँग त्यसको छानविन नभएसम्म संविधानसभामा उपस्थित नहुने अडान लिएका थिए।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि पनि एमाओवादी सहितका कतिपय दलले समानुपातिक सूचि निर्वाचन आयोगमा बुझाउन नमानेपछि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलका शिर्ष नेताहरुको बैठकले संसदीय अध्ययन समिति गठन गर्ने सहमति भएको थियो।
जस अनुसार संसदको बैठकमा असारको दोस्रो साता संसदीय अध्ययन समिति गठन गरेको थियो।