उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले संविधानसभाका २६ सभासद्को मनोनयन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वदेश फर्केलगत्तै हुने बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब एक हप्ताभित्रमा २६ सभासद्को मनोनयन कार्य पूर्ण हुने जानकारी दिए ।
पार्टी उपाध्यक्षसमेत रहेका गृहमन्त्री गौतमले विधिको शासनबाट सरकार सञ्चालन भइरहेको दावी गर्दै काँग्रेससँग भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
सरकार गठन हुनुपूर्व एमाले र काँग्रेसबीच भएकोे सहमति कार्यान्वयनप्रति काँग्रेस गम्भीर रहेको उल्लेख गर्दै उनले नयाँ संविधान जारी हुनु अगावै राष्ट्रपति तथा उपराष्ट्रपति अनुमोदन हुने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्री गौतमले आगामी ६ महिनाभित्र सहमतिको आधारमा सबैलाई मान्य हुने गरी सङ्घीय गणतान्त्रिक संविधान आउने विश्वास प्रकट गरे ।
उनले अदालती प्रक्रियाको कारण अतिरिक्त प्रहरी नायब महानिरीक्षक (एआइजी)को बढुवा रोकिएकाले अब प्रहरी नियमावलीअनुसार चाँडै नै यस सम्बन्धमा टुङ्गो लाग्ने बताए । रासस