नेपालमा नयाँ शक्ति निर्माण हुनुपर्ने बताउँदै आएका पुर्व प्रधानमन्त्री एवं एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ संविधानलाई टेकेर नयाँ शक्ति बनाउने उद्घोष गरेका छन्। भट्टराईले बदि्लिँदो परिस्थितिको नेतृत्वको लागि चाँडै नयाँ शक्ति निर्माण गर्ने समेत खुलासा गरेका छन्।
सुनसरीको इटहरीमा वैकल्पिक विचार मञ्चले आयोजना गरेको कार्यक्रममा झण्डै डेढ घण्टा बोलेका उनले नयाँ शक्तिको लागि नयाँ संगठन बन्नुपर्नेमा जोड दिएका थिए। 'पुरानो राज्यसत्ता फ्याँकेर अहिलेका राजनीतिक दलहरुले एक चरणको काम सकेका छन्,' उनले भने, 'नयाँ चरणको कार्यभार पुरा गर्न नयाँ शक्तिको आवश्यकतामा छ, र त्यो शक्ति बन्छ।'
पछिल्लो समय आफ्नै पार्टीभित्र समेत असन्तुष्ट डा. भट्टराईले नयाँ शक्ति निर्माण हुनुपर्ने विचार राख्दै आएका बेलामा उनले समाजवादसहितको पूँजीवादी संरचना विकासको लागि नयाँ शक्तिको विचार, ऐजेण्डा तथा नेतृत्व संरचनाबारे चर्चा गरेका थिए। त्यसका साथै सहभागिहरुले सोधेका प्रश्नको जवाफ समेत दिएका थिए।
काँग्रेस, एमाले, माओवादी लगायत विभिन्न संगठन तथा विचारका मानिसहरु सहभागि कार्यक्रममा उनले नयाँ परिस्थितिलाई नेतृत्व गर्न पुराना दलहरु असमर्थ रहेको आरोप लगाउँदै नयाँ शक्ति निर्माणमा जोड दिए। उनले भने, 'गधालाई धोएर गाई हुँदैन, त्यसैले हरेक पार्टीभित्रका अग्रगामी सोँच राख्नेहरु नयाँ शक्तिमा एकबद्ध हुनुपर्छ।'
उनले पछिल्लो समयको सबैभन्दा क्रान्तीकारी पार्टी आफू आबद्ध एमाओवादी भएको बताउँदै एमाओवादीले समेत नयाँ सोँच र नयाँ आवश्यकता पुरा गर्न नसक्ने दावी गरे। उनले हाल भएका पार्टीहरु रुपान्तरित हुन् भन्ने चाहना राखेको भएपनि रुपान्तरित हुन नसके पार्टीभित्र अग्रगामी सोँच राख्नेहरु एकजुट हुनुपर्नेमा जोड दिए। 'या त आफ्नो पार्टीलाई रुपान्तरित गर्नुपर्यो, या त पार्टी छाड्न सक्नुपर्यो,' उनले भने, 'नभएदेखि अढाइ करोड नेपाली राजनीतिमा असंलग्न छन्, उनीहरु संगठित भएर अघि बढ्नुपर्छ, इतिहासको गतिलाई कसैले रोक्न सक्दैन।'
उनले शोषण र दमनको साधनको रुपमा नभएर जनतालाई पूर्णरुपले जनवादको अधिकारको प्रत्याभुती गर्न सक्ने, र सबै खालको शोषण र उत्पीडनको छेकवार गर्ने सत्ताको आवश्यकतामा जोड दिए।
पार्टी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै उनले अहिलेको पार्टी संरचनाको समेत आलोचना गरेका थिए। 'आफैले आफैलाई अग्रदस्ता घोषित गर्ने, आजिवन आफूलाई पदमा केन्द्रित गर्ने, जनवादी केन्द्रियताको नाममा जनताको सहभागिता नगराइ आफैमा शक्ति केन्द्रित गरेर आफैलाई नयाँ वर्गमा परिणत गर्ने तरिकाले अब चल्दैन,' उनले भने, 'अग्रदस्ता, वृद्ध, प्रौढ र युवा समेटिएको थ्री इन वनको अवधारणा र विपरीत वर्गको सहभागिता र एकत्वको अवधारणासहितको जनवादमा आधारित नयाँ ढाँचाको पार्टी निर्माण गर्नुपर्छ।'
केही सामन्ती अवशेषसँगै नेपाल पूँजीवादमा प्रवेश गरीसकेको बताउँदै उनले नेपालमा भएको वित्तीय वा बैंकिङ पूँजीवादलाई औद्योगिक पूँजीवादमा रुपान्तरण गर्नुपर्ने बताए। 'अहिलेको पूँजीवाद नोकरशाही र दलाल पूँजीवाद हो, यो राष्टि्रय हितमा छैन,' उनले भने, 'औद्योगिकमा रुपान्तरण गर्न सजिलै सकिँदैन, त्यसको लागि सडक र सत्ता वा सदनबाट नियम कानुन फेर्न दबाब दिनुपर्छ।'
उनले औपचारिक स्वतन्त्रता भन्दा पनि सबै जनताको सहभागिता हुने गरी नयाँ किसिमको लोकतन्त्र आवश्यक रहेको बताएका छन्। उनले गतिशिल र 'रेम्बो नेशन स्टेट'को रुपमा नेपाललाई बुझेर अघि बढ्नुपर्ने बताउँदै आर्य खसको राष्ट्रमात्र भनेर नहुने बताए।
उनले मार्क्सवाद र लेलिनवाद अहिलेको समयमा सान्दर्भिक नभएको भन्दै मार्क्सको द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई टेकेर नयाँ सिद्धान्त बनाउनुपर्नेमा जोड दिएका थिए। 'मार्क्सको सिद्धान्तले राज्यसत्ता फ्याँक्न मात्र काम गर्यो, तर कहिँपनि पूर्ण सफल भएन,' उनले विश्वभर एउटै रणनीतिको क्रान्ती सम्भव नभएको बताउँदै भने, 'मार्क्सको समयमा त कुनै आन्दोलन नभएकोले आन्दोलनको वास्तविक संश्लेषण उनीहरुले गर्न पाएका थिएनन्, त्यसैले त्यो त्यती व्यवहारिक छैन।'
उनले संसारमा कहिँपनि समाजवाद अस्तीतत्वमा नभएको र समाजवाद रहेको भनिएका रुसजस्ता मुलुकमा राष्ट्रिय पुँजीवाद मात्र रहेको दावी गरे। उनले चीनको समाजवाद नोकरशाही पुँजीवादको चरित्र संज्ञा दिँदै मार्क्सको द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई टेकेर नयाँ सिद्धान्त बनाउनुपर्नेमा जोड दिए। उनले नयाँ शक्तिको लागि नयाँ सिद्धान्तमा जोड दिँदै उनले वर्गलाई मात्र नहेरेर गैह्र वर्गीय र मानविय पक्षलाई समेत जोडेर अन्तर्विरोध हल गर्नुपर्ने बताए।
दर्शकले सोधेको फरक प्रश्नको जवाफ दिँदैन उनले भारतले अघि सारेको ऊर्जा सम्झौताको प्रस्तावलाई हुबहु स्वीकार गर्न नसकिने बताउँदै नेपालले विद्युत् बेच्न र भारतलगायतका अन्य राष्ट्रले पनि लगानी गर्न पाउने गरी सम्झौता गर्न सकिने बताए।
उनले माघ ८ गते भित्र नयाँ संविधान नबने परिणाम निकै भयावह हुने दावी गरे। उनले प्रतिक्रान्तीले सत्ता हत्याएर प्रतिगमनतिर लाने सम्भावना रहेको समेत बताए।