राष्ट्रपति डा. रामवरण यादवसँग भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शिष्टाचार भेट गरेकी छन्।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयका साथै नेपालको समसामयिक वस्तुस्थितिबारे छलफल भएको थियो।
“दुई देशबीचको सम्बन्धका साथै राजनीतिक, सामाजिक, आर्थिक मामिलाबारे राष्ट्रपति र भारतीय विदेशमन्त्रीले विचार आदानप्रदान गरिन्”, राष्ट्रपतिको कार्यालयका सचिव शारदाप्रसाद त्रितालले भेटबारे जानकारी दिँदै भने. पारस्परिक सम्बन्धलाई अझ सुमधुर एवम् सुदृढ तुल्याउने विषयमा उहाँहरू केन्द्रित रहनुभयो।'
नेपालको सामाजिक–आर्थिक विकासमा भारतबाट ठूलो सहयोगको अपेक्षा आफूले गरेको राष्ट्रपतिले उल्लेख गरेको र त्यसको प्रत्युत्तरमा विदेशमन्त्री स्वराजले सकारात्मक जवाफ दिएको पनि सचिव त्रितालले बताए।
भारतीय विदेशमन्त्रीले तेइस वर्षपछि भएको भारत–नेपाल संयुक्त आयोगको बैठक, त्यसको कार्यसूची, दुवै देशका अधिकारीबीच प्राविधिक तहमा भएका समझदारी, भावी सहकार्यका योजना तथा आपसी हित र चासोका विषयबारे राष्ट्रपतिलाई सङ्क्षिप्त जानकारी गराएको सचिव त्रितालले उल्लेख गरे।
भेटका अवसरमा भारतीय विदेश सचिव सुजाथा सिंह, नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायत भारतीय विदेश मन्त्रालयका उच्च पदाधिकारीहरु उपस्थित थिए। रासस