एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज संविधानसभा भवन नयाँ बानेश्वरमा भेटवार्ता गरेकी छन्।
भेटवार्तामा नेपालको शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पूरा गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नेपालका राजनीतिक दलहरु पूर्ण प्रतिबद्धताका साथ लागेकाले त्यसमा भारत सरकारको सहयोगको अपेक्षा एमाओवादीले गरेको थियो।
राजनीतिक तहमा नै संवाद होस् र सम्बन्ध विकास होस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको भन्दै भेटवार्तामा एमाओवादी अध्यक्ष दाहालले अन्य तहमा हुने संवादले दुवै मुलुकलाई हित नगरेकामा समेत भारतीय विदेशमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
जवाफमा विदेशमन्त्री स्वराजले आफ्नो मुलुकको चासो पनि राजनीतिक तहमा नै सबै विषयवस्तुहरु अगाडि बढोस् भन्ने रहेको र त्यसैमा नै जोड दिइएको बताएकी एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए।
शान्ति र संविधानलाई पूर्णता दिई विकास निर्माणका लाग्ने नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै विदेशमन्त्री स्वराजले सो काममा हरप्रकारको सहयोग गर्न आफ्नो मुलुक प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए।
भेटवार्तामा एमाओवादीले नेपाललाई भारत सरकारको तर्फबाट एउटा बृहत् जलविद्युत् आयोजना उपहारस्वरुप दिन आग्रह गरेको थियो।
एमाओवादीको आग्रहलाई सकारात्मक रुपमा लिँदै विदेशमन्त्री स्वराजले सो प्रस्तावलाई जस्ताको तस्तै प्रधानमन्त्री नरेन्द्र मोदी कहाँ पुर्याउने विश्वास व्यक्त गरेकी महासचिव कृष्णबहादुर महराले जानकारी दिए।
यस्तै हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, जलविद्युत् क्षेत्रको विकास समानताका आधारमा अगाडि बढाउन र दुवै पक्षलाई हित हुने गरी काम गर्नसमेत एमाओवादीले आग्रह गरेको थियो।
संविधानसभामा प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको एमाओवादीले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण र विकास निर्माणमा राखेको चासोलाई सकारात्मक रुपमा सम्बोधन गर्ने विदेशमन्त्रीको प्रतिबद्धताले आगामी दिन सहज ढङ्गले अगाडि बढ्ने विश्वास लिइएको छ।
भेटवार्तामा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्षद्वय श्रेष्ठ र पोष्टबहादुर बोगटी, महासचिव महरा, सचिव एवम् संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेल थिए भने विदेशमन्त्री स्वराज र नेपालका लागि भारतीय राजदूत रञ्जित रेलगायतको सहभागिता रहेको थियो।