इजरायलले प्यालेष्टाइनमा विगत १७ दिनदेखि गरेको बम हमलाको विरुद्ध नेपालका लेखक, कलाकार, स्तम्भकार र अगुवाहरुलेे संयुक्त राष्ट्र संघ भवन अगाडि सांकेतिक प्रदर्शन गरेका छन्।
बम हमलाबाट अवोध प्यालेष्टाइनी बालबालिका, महिला र नागरिकको हत्या भएको भन्दै प्लेकार्ड सहित शान्तिपूर्णरुपमा प्रर्दशनमा उत्रिएका प्रदर्शनकारीहरुले प्यालेष्टाइनबिरुद्धको एकोहोरो बमबारी रोकिनुपर्ने, राष्ट्र संघले तत्काल इजरायलमाथि बम हमला रोक्न दबाब दिनुपर्ने लगायतका माग राखेका थिए।
बिहिवार दिउँसो तीन बजे पुल्चोकस्थित संयुक्त राष्ट्र संघ भवन अगाडि उपस्थित भएका पाँच दर्जन बढी लेखक, पत्रकार, साहित्यकारहरुले एक घण्टा धर्ना दिएका थिए।
धर्नाको क्रममा कविहरु निभा शाह, हरिगोविन्द लुइँटेल, लक्ष्मण श्रेष्ठ, केशव सिलवाल लगायतले कविता सुनाएका थिए।
दीपक सापकोटा, बन्धु विक्रम क्षेत्रीले कृष्ण सेन इच्छुकले चालिसको दशकमा प्यालेष्टाइनी जनताको समर्थनमा लेखेका कविता बाचन गरेका थिए। कार्यक्रमलाई समापन गर्दै नागरिक आन्दोलनका अगुवा एवं लेखक श्याम श्रेष्ठले शक्ति राष्ट्रले निरिह देशहरुमाथि गरेको नृशंस दमन रोक्न तत्काल राष्ट्र संघले अगुवाई गर्नुपर्ने बताए।