भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला नेकपा-माओवादी सडक आन्दोलनमा उत्रने भएको छ । माओवादीले आज एक प्रेस विज्ञप्ति जारी गर्दे मोदी नेपाल भ्रमणमा रहेका बेला प्रर्दशनमा उत्रने जनाएको हो ।
माओवादीले आगामी साउन १९ गते अपरान्ह ४ बजे “शान्ति वाटिका” मा र त्यसको भोलिपल्ट अपरान्ह ४ बजे नै सोही स्थानमा विरोध कार्यक्रम गर्ने जनाएको छ । मोदी आगामी साउन १८ गते नेपाल आउने संभावना छ ।
भारत सरकारका प्रधानमन्त्री मोदीको प्रस्तावित नेपाल भ्रमणकोनिमित्त भारतीय विदेशमन्त्री सुष्मा स्वराजको तयारी भ्रमणको सन्दर्भमा“गणतान्त्रिक भारत सरकार र नेपाल सरकारबीच उर्जा क्षेत्रमा सहयोगका लागि भएको सम्झौता” शिर्षकमा भारत सरकारबाट पठाइएको प्रस्तावमा उल्लेखित नेपालको जल विद्युत आयोजनामा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्तरुपमा सम्पन्न गर्ने प्रस्तावलाई नेपाल सरकारले गोप्य राखी भित्रभित्रै संझौता गर्ने तयारी गरिरहेको अनुमान माओवादीको छ ।
नेपालको जलश्रोतका साथै राष्ट्रिय स्वाधिनता माथिकोसमेत हस्तक्षेप भएको भन्दै माओवादीले विरोधका कार्यक्रम गर्न लागेको हो । नेपालमा लामो समय देखि विरोध हुँदै आएको माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतको डि पी ए सम्झौतामा पनि हस्ताक्षर गर्ने भित्री योजना रहेको भन्दै माओवादी शंसकित छ ।