शिख गाविस–६ स्थित खोप्रा लेकमा आजदेखि चौंरी गाईको आलो रगत पिउने मेला सुरु भएको छ ।
नाङ्गी–पाउद्धार संयुक्त चौंरीपालन समितिको आयोजनामा भइरहेको मेलामा हिमाली भेगमा पाइने विभिन्न जडीबुटी खाएका चौंरी गाईको आलो रगत पिएर उपचार गराउन सर्वसाधारणको खोप्रा लेकमा भिड लागेको छ ।
यार्सगुम्बा, जटामसी, निरमसी, पाँचऔलेलगायत जडीबुटी पाइने चरनमा चरेका चौंरीको आलो रगत पिएमा ग्यास्ट्रिक, गानोगोला, बाथ, शारीरिक कमजोरी र हाडजोर्नीसम्बन्धी रोग निको हुनुका साथै शारीरिक स्फुर्र्ति बढ्ने भएकाले रगत पिउन आउने बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको समितिका अध्यक्ष रुद्रबहादुर तिलिजा मगरले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने सो मेलामा शिख, घार, नारच्याङ, भुरुङ तातोपानी, दाना, झिँ, पाखापानी, घतान, पुलाचौर, बेनीसँगै पोखरा र काठमाडौँबाट समेत आएका ५०० भन्दा बढी व्यक्तिले आलो रगत पिउने अनुमान गरिएको समितिका सचिव भीम पुनले बताए ।
अध्यक्ष मगरका अनुसार प्रतिगिलास ८० का दरले मेलामा चौंरी गाईको रगत बिक्री गरेर भएको आम्दानी हिमाञ्चल उच्च मावि नाङ्गी र शिखको पाउद मावि सञ्चालन गर्न खर्च गरिँदै आइएको छ । विशेष प्रकारको छुराको सहयोगले चौंरीको घाँटीबाट २० देखि २५ गिलाससम्म रगत निकाल्ने र यसरी रगत निकाल्दा चौंरीको स्वास्थ्यमा कुनै असर नपर्ने रगत निकाल्ने काम गर्दै आएका (आम्ची) पर्तबहादुर चोचाङ्गी मगरले बताए । शिखको खोप्रामा प्रत्येक वर्षको साउन र लरेनीमा फागुन महिनामा आयोजना हुने यो मेलाका लागि २५० चौंरीपालन गरिएको छ । रासस