‘जातपातले राजनीति चल्दैन र नेपाली जनताको हित गर्न सक्दैन’ भन्ने धारणाका साथ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले कहिल्यै पनि आफ्नो जातसूचक श्रेष्ठ लेखेनन् ।
मुलुकमा स्थापना गर्ने भनिएको सङ्घीयताको पक्ष र विपक्षमा फरक–फरक विचार र सिद्धान्त आइरहेका बेला पुष्पलालको सो दर्शन आज एकपटक नेपालका कम्युनिस्टहरूले अनुशरण गर्न लायक छ ।
नेपालको जात पहिले नेपाली हो अनि पछि मात्रै आफूले लिएर आएको थर वा जात हो भन्ने धारणा राख्नुहुने पुष्पलाल सामाजिक सद्भावसहितको जनतन्त्रको पक्षमा जीवनभर अडिरहे ।
विसं २००६ मा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य राखेका श्रेष्ठको जन्म १९८१ असार १५ गते रामेछापमा भएको हो । तत्कालीन राणा शासकको अत्याचार र दमनचक्रका विरुद्ध प्रतिरोध सङ्घर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण राजनीतिक आन्दोलनमा लाग्ने प्रेरणा उनलाइ प्राप्त भएको थियो ।
उनलाई राजनीतिमा ल्याउन महत्वपूर्ण योगदान गर्नेमा विसं १९९७ मा राणा शासकले गोली हानी हत्या गरिएका दाजु गङ्गालाल श्रेष्ठको रहेको थियो ।
गङ्गालालले पुष्पलाललाई ‘माइला मैले प्रजातन्त्रको निम्ति बालेको दियोलाई तैँले प्रज्ज्वलित पार्नेछस्’ भन्ने भनाई नै प्रमुख प्रेरणाको स्रोत बनेको थियो ।
गङ्गालाललाई मृत्युदण्ड दिइने अघिल्लो दिन भद्रगोल जेलमा भेटन् जाँदा पुष्पलाललाई दाजु गङ्गालालले सो विचार व्यक्त गरेका थिए ।
पुष्पलालको बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका र सहकार्यसमेत गर्नुभएका वामपन्थी नेता लोककृष्ण भट्टराईका अनुसार उनी संयुक्त जनआन्दोलनको पक्षपाती थिए ।
पुष्पलालकै राजनीतिक धारअनुसार २०४६ सालमा कम्युनिस्ट र काँग्रेस मिलेर बहुदलको स्थापना गरेका थिए भने २०६२÷६३ को दोस्रो जनआन्दोलन समेत सोही दिशाअनुसार नै भएको भट्टराईको कथन छ । विसं १९९८ मा श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाजलगायत मिलेर नेपाल प्रजातान्त्रिक सङ्घको गठन गरेका थिए ।। सो सङ्घले राणा शासनको विरोध गर्ने, विद्यालयहरू खोल्ने र राजनीतिक सचेतनाका आन्दोलन गर्ने कार्यक्रम अगाडि सारेको थियो ।
विसं २००४ मा नेपाली राष्ट्रिय काँग्रेसमा समाहित भई नागरिक अधिकारका लागि गरेको आन्दोलनमा समेत पुष्पलालले सक्रिय सहभागिता जनाएका थिए । नेपालको राजनीतिक आन्दोलनमा जनताको तहबाट गरिएको यही नै पहिलो कदम थियो ।
नेपाली समाजको सर्वप्रथम वैज्ञानिक विश्लेषण गर्ने बुद्धिजीवीका रूपमा पुष्पलाललाई लिइन्छ । समाजलाई वैचारिक मोड दिने कुशल नेपाली माक्र्सवादी–लेनिनवादी सिद्धान्तकारको रूपमा लिइने उनको सादगी जीवन आजका कम्युनिस्ट पार्टीका नेताहरूले अनुसरण गर्न लायक थियो ।
विसं २००५ सालमा उनले विश्व प्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गरेका थिए । कलकत्ताको एउटा पुरानो घरमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य र नरबहादुर कर्माचार्यसँग मिलेर कम्युनिस्ट पार्टीको घोषणा गर्दा नेपाली समाजको आमूल परिवर्तन गर्ने सोच उनको थियो ।
उनले तत्कालीन समयमा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो भनेर व्याख्या गरेका थिए । तर उनको यो व्याख्या नेपालको वर्तमान सन्दर्भमा जायज नभएको भन्दै नेकपा(एमाले)को केही दिन अघि सम्पन्न नवौँ महाधिवेशनमा पारित राजनीतिक प्रतिवेदनले सच्याइसकेको छ भने गत साल हेटौँडामा सम्पन्न एकीकृत नेकपा(माओवादी)ले समेत फरक ढङ्गले विश्लेषण गरेको छ ।
पुष्पलालले नेपाली क्रान्तिको न्यूनतम् कार्यक्रमका रूपमा नयाँ जनवादी क्रान्ति र अधिकतम् लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तीकरण गरेका थिए ।
पुष्पलालबाटै पार्टी सदस्यता लिनुभएका एमाओवादीका प्रवक्ता दीनानाथ शर्मा भन्छन् ‘‘आजसम्म नेपालका कम्युनिस्ट पार्टीले अङ्गालेको राजनीतिक धार र कार्यदिशा सबै उनीबाटै प्रभावित हुँदै आएको छ ।’ संयुक्त जनसङ्घर्ष तथा जनपरिचालनबाट पनि परिवर्तन सम्भव छ भन्ने धारणा राख्नुहुने पुष्पलालले जनअधिकारको रक्षा हुन नसक्ने अवस्था आएमात्र सशस्त्र क्रान्तिमा जोड दिएको उनको कथन छ ।
वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रूपमा परिचित पुष्पलालले नेपाली काँग्रेससँग शत्रुतापूर्ण सम्बन्ध होइन सहकार्य गर्न प्रयत्न गरेका थिए ।
नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालका अनुसार उहाँ विचारमा एकदमै प्रष्ट र कार्यनीतिमा लचक र नेपाली जनताको खास भावनालाई प्रतिनिधित्व गर्ने नेता थिए ।
दोस्रो महाधिवेशनपछि नेतृत्वमा आएका केशरजङ्ग रायमाझीसँग कुरा नमिलेपछि अर्का नेता तुलसीलाल श्रेष्ठसँग पनि उनको विवाद भएको थियो । पुष्पलालको मूल बाटो र तुलसीलालको कुन बाटो भन्ने विवादले विसं २०२२ मा नेपाली कम्युनिस्ट आन्दोलनमा विभाजन सुरु भएको थियो ।
विसं २०१७ मा भएको ‘कु’ पछि भूमिगत राजनीतिमा सक्रिय रहँदै आउनुभएका पुष्पलालले २०२५ सालमा अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको कार्यदिशा २०४६ सालमा आएर कार्यान्वयन भएको थियो भने यसैको जगमा टेकेर विसं २०६२÷६३ मा जनआन्दोलनमार्फत अभिव्यक्त भएको थियो ।
विसं २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीमा दिवङ्गत भएका पुष्पलालको ३६ औँ स्मृति दिवसको अवसरमा बुधबार नेकपा(एमाले)ले पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एमाओवादीले पनि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ भने अन्य विभिन्न कम्युनिस्ट पार्टीहरूले समेत उनको स्मृतिमा कार्यक्रमहरूको आयोजना गरेका छन् ।
मुलुकमा जातपातको राजनीति हाबी भइरहेका बेला उनले अगाडि सारेकोे नेपाली मात्र जात भन्ने भावनालाई आत्मसात् गर्दै अगाडि बढ्नु नै उनीप्रतिको सच्चा श्रद्धान्जलि हुनेछ । उनी धर्मपत्नी साहना प्रधान अहिले सिकिस्त विरामी छिन् । उनको होस खुल्न सकेको छ्रैन् । लामो समयदेखि उनको उपचार बल्खुस्थित बयोधा अस्पतालमा भइरहेको छ । पुष्पलालको स्मृति दिवसमा उनीसँग पतिलाई संझने क्षमता छैन् ।
प्रकाशित मिति: 2014-07-23 07:25:24