गृहमन्त्री बामदेव गौतमले मध्य तराईको शान्ति सुरक्षाका लागि सशस्त्र भूमीगत संगठन अझै पनि चुनौती रहेको बताएका छन्। मगंलबार वीरगन्जमा आयोजित मध्यमाञ्चल क्षेत्रिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री गौतमले तराईका जिल्लामा सशस्त्र भूमीगत संगठनको सकृयता न्युन भए पनि ढुक्क हुने अवस्था नरहेकाले प्रो एक्टीभ हुन निर्देशन दिए।
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी जनताको लामो कठिनाई र बलिदानीले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत र सुदृढ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको पनि उनले बताए। भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइएको बताउदै उनले अपराध नियन्त्रणमा कुनै पनि प्रकारको मोलाहिजा स्वीकार्य नहुने समेत बताए।
आपराधिक प्रवृत्तिले कुनै पनि हालतमा टाउको उठाउन नपाउने गरी काम गर्न निर्देशन दिदै उनले जनताको मन जितेर काम गर्न मुस्कान सहितको प्रहरी अभियानलाई कार्यान्वयन गर्न निर्देशन समेत दिए।
मन्त्री गौतमले यसका लागि सुरक्षा निकायबीच समन्वयका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई अझ प्रभावकारी भूमीका निर्वाह गर्नुपर्नेमा आवश्यकता रहेको बताए। गृहमन्त्रालय सिडिओलाई प्रभावकारी बनाउन आवश्यक समन्वयका लागी आवश्यक सहजीकरण गर्न तयार रहेको उनले प्रतिबद्धता समेत व्यक्त गरे।
खुल्ला सीमाबाट हुने तस्करी, चुरे पहाडको अनियन्त्रित उत्खनन् र खुल्ला सीमाका आडमा हुने आपराधिक गतिविधीलाई गृहमन्त्रीले पनि तराइको चुनौती भएको बताएका छन।
उनले बाढी पहिरो,डुबान, आगलागी र शीतलहरजस्ता प्राकृतिक प्रकोप नेपालमा आकस्मिक आउने चुनौती भएकाले तयारी हालतमा रहन आवश्यक रहेको बताए। गौतमले सुरक्षा व्यवस्था कायम गर्न कुनै पनि मोलाहिजा नगर्न र राजनीतिक प्रभावमा नपर्न निर्देशन दिएका छन्।
गोष्ठीमा यस क्षेत्रमा साना हतियार,महिला हिंसा,सडक दुर्घटनाले शान्ति सुरक्षामा पर्ने कठिनाई तथा परेका असर बारे सम्बन्धित जिल्लाका नेपाल प्रहरीका अधिकारीहरुले ब्रिफिङ गर्नेछन्। त्यसैगरी सीमा सुरक्षा,सीमास्तम्भ रेखदेख,यसका लागि मित्र राष्ट्रका समकक्षीहरुसँग गरेका छलफल र प्रयास बारे सशस्त्र प्रहरीका अधिकारीहरुले ब्रिफिङ गर्नेछन्।
सम्मेलनमा गृहसचिव सूर्य शिलवाल, क्षेत्रिय प्रशासक शंकर कोइराला, कारागार विभागका प्रमुख शम्भू कोइरालाका साथै नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल,सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त र राष्ट्रिय अनुसन्धानका मुख्य निर्देशक जीतबहादुर केसी समेत सहभागी रहेको गोष्ठीमा चितवनदेखि धनुषा सम्म ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहित तिनै सुरक्षा निकाय प्रमुखहरु समेत सहभागी छन्।