एमाओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय पेरीसडाँडामा दिउँसो १ बजेपछि बस्ने बैठकमा मलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ । पार्टीभित्र र पार्टी बाहिरका गतिविधिको समेत समन्वय गर्नका लागि माओवादीलेकेही विभाग गठन गरेको छ ।
यस अघि हिजो बसेको बैठकले संविधान मस्यौदा तथा सुझाव समितिको जिम्मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ भने अन्तर्राष्ट्रिय विभागको जिम्मासमेत उनलाई नै दिइएको छ । सरकार, सदन र मन्त्रालयहरूका हुने विभिन्न कामहरूमा पार्टीको उपस्थिति देखाउन र ती कामहरूलाई व्यवस्थित बनाउनका लागि गठन गरिएको भनिएका ती विभागमा यस अघि विभिन्न मन्त्रालय सम्हालेका पार्टी नेतालाई नै समावेश गरिएको छ ।
योजना तथा अर्थ विभागको जिम्मा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई दिइएको छ भने राज्य व्यवस्था तथा सुरक्षा विभागको जिम्मा जनार्दन शर्मालाई दिइएको छ । यस्तै सामान्य प्रशासन विभागमा सुरेन्द्र कार्की, शिक्षामा अग्निप्रसाद सापकोटा, जलस्रोत तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्यामा गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामा टोपबहादुर रायमाझी, पर्यटन तथा नागरिक उड्डयनमा लोकेन्द्र विष्ट मगरलाई जिम्मा दिइएको छ ।
यस्तै कृषि तथा भूमिसुधारमा गजुरेल, सङ्घीय मामिला तथा स्थानीय विकासमा रामचन्द्र झा, सामाजिक न्यायमा सन्तु दराई, कानुन न्यायमा प्रभु साह, युवा तथा खेलकुदमा चक्रपाणी खनाल, श्रम तथा रोजगारमा लेखराज भट्ट, विज्ञान, प्रविधि तथा वातावरणमा कल्पना धमला, सूचना तथा सञ्चारमा दीनानाथ शर्मा, गैरसरकारी सङ्घ तथा संस्थामा सत्या पहाडी, उद्योग वाणिज्य तथा आपूर्तिमा महेन्द्र पासवान, दलित र साहित्य तथा संस्कृतिमा विश्वभक्त दुलाल, महिलामा हिसिला यमी, वन तथा भूसंरक्षणमा धनीराम पौडेल, सहिद, बेपत्ता तथा घाइतेमा हितराज पाण्डे र राष्ट्रिय मुक्ति मोर्चामा गोपाल किराँतीलाई जिम्मा दिइएको छ ।
यस्तै बैठकले पार्टीको केन्द्रिय सङ्गठन तथा अनुगमन विभागमा पोष्टबहादुर बोगटी, प्रचार–प्रसारमा कृष्णबहादुर महरा, केन्द्रीय आर्थिक विभागमा गजुरेल र उत्पादन, निर्माण तथा सहकारी विभागमा शक्तिबहादुर बस्नेतलाई कार्यभार तोकेको छ ।