विशेष अदालतमा बयान दिन पुगेका गुन्डा नाईके चक्रे मिलनलाई १ करोड धरौटी बुझाउन पर्ने आदेश गरेको छ।
अवैध रुपमा ७ करोड ८ लाख रुपैँया कमाएको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेका चक्रे मिलन बुधबार विशेष अदालतमा बयानका लागि हाजिर भएका थिए। धरौटी उनले बुधबार नबुझाएर पहिला रहँदै आएको जगन्नाथ देवल कारागारमै गएको विशेष विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए।
चक्रे मिलन कि पत्नी इन्दिरा गुरुङ्गलाई अदालतले दुई लाख धरौटी बुझाउन आदेश दिएको थियो। आदेश अनुसार उनले भने धरौटी राखेर थुनामुक्त हुने भएकी छिन्। १० बजे श्रीमतिसहित चक्रे मिलन बयानका लागि अदालत हाजिर भएका थिए।
जेठ ३ गते चक्रे मिलनसहित पाँच गुन्डा नाईकेहरु गणेश लामा, पर्शुराम बस्नेत, अभिशेक गिरी र दिपक मनाङेविरुद्ध ६३ करोड रुपैँया विभिन्न गैरकानुनी काम गरि कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो।
चक्रे मिलन अर्कै फौजदारी मुद्दामा सजाय भोगिरहेकाले उनलाई अदालतमा उपस्थित गराउन विशेषले जेठ २३ गते जगन्नाथ देवल कारागारलाई पत्राचार गरेको थियो। यसअघि अर्का गुन्डा नाईके पर्शुराम बस्नेतलाई थुनछेक आदेशमा २ करोड धरौटी बुझाउन अदालतले आदेश दिएपछि त्यो नसकेर उनलाई कारागारमा लगिएको छ। विशेष अदालतले बाकिँ तीनजना अभियुक्तहरुलाई पनि अदालतमा उपस्थित हुन म्याद जारी गरिसकेको छ ।