अन्तिम संस्कारका निम्ति श्यामार्पा रिम्पोचेको शब नेपाल ल्याउने अनुमति दिन राष्ट्रपति रामवरण यादवले सरकारको ध्यानाकर्षण गर्न पत्र लेख्ने भएका छन् ।
पूर्वमन्त्री गोपाल दहित एवं सभासद रुक्मिणी चौधरी र हेलम्बुमा रहेका उनका उपासकहरूले सोमबार राष्ट्रपति यादवलाई भेटी उनको पार्थिव शरीर काठमाडौं रानीवन फेदीमा उनले स्थापना गरेको श्यार् मिन्हुन इन्स्टिच्युटमा समाधि राख्ने अनुमति दिलाउन आग्रह गरेका थिए ।
सरकारका सचिवहरूले नबुझेर यस्तो निर्णय गरेका हुँदा तिनलाई बुझाउन विज्ञहरूलाई लिएर जानसमेत राष्ट्रपतिले तिनलाई सुझाउ दिँदै आफूले सरकारलाई पत्र लेखिदिने आश्वासन दिएको यो अभियानमा क्रियाशील हिमाली संस्कृतिका ज्ञाता डा. रमेश ढुंगेलले सेतोपाटीलाई बताए ।
भूटान सरकारले मानार्थ दिएको रातो पासपोर्टका आधारमा विदेशी नागरिक भनी नेपालमा शब ल्याउन नदिन गृह सचिव स्तरीय निर्णय भई कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले समेत अनुमोदन गरेका हुँदा त्यसलाई मन्त्रिपरिषद्को निर्णयले मात्र परिवर्तन गर्न सकिने भएको छ । यसमा सकारात्मक निर्णय गर्न आग्रह गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई आग्रह गर्दा यसलाई मन्त्रिपरिषद्मा लैजानु पर्ने जानकारी दिएको हिमाली संस्कृति तथा वौद्ध धर्मसम्बन्धी जानकार डा. रमेश ढुंगेलले बताए ।
श्यामार्पाको शब ल्याउन दिन आग्रह गर्दै एक सयभन्दा बढी यस क्षेत्रका समुदायहरूले कार्यवाहक प्रधानमन्त्री, परराष्ट्र मन्त्री र पर्यटन मन्त्रीलाई समेत पत्र लेखिसकेका छन् । बौद्ध धर्मावलम्बीहरू अत्यन्तै सम्मान गरेका श्यामार्पाको शब जसरी पनि काठमाडौं सरोकारवाला समुदाय सक्रिय भएको थाहा भएको छ । उनको सब आइनपुगे पनि आस्थावान व्यक्तिहरू केन्द्रमा पुगेर ध्यान गर्न थालिसकेका छन् ।