एमालेको भावी अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुने बलियो सम्भावना देखिएको छ ।
अहिलेसम्मको मतगणनामा अध्यक्षमा माधव नेपालको अग्रता भएपनि गणना हुन बाँकी बुथमध्ये धेरैमा ओलीको पकड भएको ठानिने हुँदा यस्तो सम्भावना दखिएको हो ।
सेतोपाटीले पदाधिकारी उम्मेदवार, उम्मेदवार प्रतिनिधि र अरु नेताहरुसँग कुराकानी गर्दा मतदाता संख्या उल्लेख्य रहेको गण्डकी, लुम्बिनी, रापती, भेरी अञ्चलमा ओली खेमाको निकै वर्चस्व छ । ओलीका पदाधिकारी उम्मेदवारहरु उपाध्यक्षमा वामदेव गौतम, किरण गुरुङ, उपमहासचिवद्वय विष्णु पौडेल र शंकर पोखरेल, सचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र केशवलाल श्रेष्ठ गण्डकीदेखि भेरी क्षेत्रकै हुन् ।
नेपाल खेमाका नेताका अनुसार अहिलेसम्म १, २ र ३ नंवर बुथको गणनामा कम्तीमा असी मतको अग्रता कायम राख्न सकेको भएमात्र नेपालको विजयको सम्भावना रहन्थ्यो । अब गणना सुरु हुने चार अंचलबाट ओलीले सय मतले ‘लिड’ गर्ने ठोकुवा ओली समूहको छ । त्यसपछिको कर्णाली, सेती र महाकालीमा नेपाल समूहको भोट धेरै आउने दावी छ।
ओली समूहले पनि यसलाई नकारेको छैन । तर गण्डकीदेखि–भेरीसम्मको गणनामा कायम हुने मतान्तरलाई कर्णाली र सुदुरपश्चिमले पूर्ति गर्नसक्ने सम्भावना देखिदैन । त्यसैले ओली पक्ष उत्साहित छ । नेपाल पक्षका नेताहरु भने गण्डकी–भेरी क्षेत्रबाट अपेक्षित सुधार हुन सके १०/२० मतले अध्यक्षमा नेपालले जित्ने आशमा छन् । अर्घाखाँचीमा २६ जना प्रतिनिधि ओलीको एकलौटी रहेकोमा बाह्र जाना आफूतिर ल्यायौं भन्ने गणना नेपाल पक्षको छ । पिताम्बर भुसाललाई वैकल्पिक केन्द्रीय सदस्यको प्यानलमा राखेर बाह्र भोट तानिएको दावी उनीहरुको छ ।
नेपाल पक्षले तनहुँ र गोरखाबाट पनि ओलीको मत चोर्न सक्ने आश गरेको छ । तनहँुका शंकरनारायण श्रेष्ठलाई तानेर वैकल्पिक केन्द्रीय सदस्य उम्मेदवार बनाउँदा गोरखाको समेत मत बढ्ने आश नेपाल पक्षको छ । अहिलेसम्म गणना भएको १ नं बुथ भनेको केन्द्रिय कमिटी, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग, विभाग र जनवर्गीय संगठनको मत हो । यसमा ओली पक्षको अग्रता थियो । २ नंवर बुथमा भूमीहिन किसान संघ, अपाङ्ग संघ, खेलकुद महासंघ, भूपू सैनिक, प्रेस चौतारी, वुद्विजिवी परिषद् र अञ्चल समन्वय समिति लगायत छन् ।
३ नंवरमा मेची, कोशी, सगरमाथा र जनकपुरको अधा भाग, नारायणी र काठमाडौं उपत्यका छ । २ र ३ माधव नेपालको पकडवाला हो । उनीहरुले यसको गणनापछि कम्तीमा ८०/९० भोटले अग्रता हुने ठानेका थिए । त्यसो भएन । यसले नेपाल पक्ष निकै अत्तालिएको छ । अहिलेसम्मको गणनामा ओली पक्षकै पूर्वानुमान पनि मिलेको छैन । १ देखि ३ सम्मको बुथ गणना गर्दा नेपालसँग बराबरीजस्तै अवस्था रहने आश उनीहरुले गरेका थिए ।
गणना हुन बाँकी गण्डकीदेखि पश्चिम महाकालीसम्मै नेपाल पक्षले कल्पेजस्तै भोट आएपनि उनीहरु बढिमा तीस मतले अगाडि हुन्छन् । प्रवासमा पनि नेपाल समूहले आस गरेको थियो । तर समूहको नेता छान्दा ओली समूहले टक्कर दियो । ओलीले बाइस भोट ल्याएर चौंवीस मत ल्याएका नेपालका उम्मेदवारलाई टक्कर दिए ।
सुरुको मतगणनामा ओली पक्षले ‘स्विप’ नै गर्ने सम्भावना देखिएकोमा अहिलेसम्मको छाँटले पदाधिकारीमा नेपाल पक्षका केहिको बलियो सम्भावना देखिएको छ । गणना बाँकि क्षेत्रबाट ओली प्यानलले असी/नब्बे भोट बढी नै ल्याएपनि उपाध्यक्षमा नेपाल प्यानलका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य बलियो देखिएका छन् । ओलीका वामदेव गौतम र विद्या भण्डारीको विजय पनि निश्चित जस्तै छ । नेपाल पक्षका पदाधिकारी उम्मेदवारमध्ये अहिले असी भन्दा बढिले अग्रता कायम राखिरहेकाले जीत्ने पक्का जस्तै देखिन्छ । त्यस आधारमा उपमहासचिवमा ओलीका विष्णु पौडेल र नेपालका घनश्याम भुषालको सम्भावना छ । महासचिवमा ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको कडा प्रतिष्पर्धा देखिएको छ । सचिवमा नेपाल प्यानलका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्यको पक्कापक्की जस्तो देखिएको छ ।