सात एआइजी बढुवा सिफारिसमा आइजिपी उपेन्द्रकान्त अर्याल, गृहसचिव सूर्य सिलवाल र मन्त्रिपरिषद् कार्यालयका सचिव दुर्गानिधि शर्माको तजबिजमा रहेको १२.५ (आइजीपी ५ र बढुवा समितिको ७.५) अंकमा व्यापक पक्षपात भएको भेटिएको छ।
लोकसेवा आयोग स्रोतले दिएको जानकारी अनुसार बढुवामा ल्याउने उद्देश्यले सात जनालाई पूर्णाङ्क वा अत्याधिक अंक दिएको देखिएको हो।
अर्कातिर जेष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादन मूल्यांकन, भौगोलिक अनुभव, तालिम लगायतमा माथि नै रहेका ४ जनालाई बढुवाबाट बञ्चित गर्ने उद्देश्यले आइजिपी र गृहसचिव संयोजक रहेका अलगअलग समितिले नम्बर काटेको भेटियो।
बढुवाको पछिल्लो चारमा रहेका केदार साउद, रमेशशेखर व्रजाचार्य, वीरेन्द्रबाबु श्रेष्ठलाई आइजिपीले ५ र बढुवा समितिले साढे ७ नै दिएको देखियो। यसरी पूर्णाङ्क पाउनेमा राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह पनि हुन्।
'यो १२.५ पूर्णाङ्ककमा गणेश राई, नारायण वस्ताकोटी, यादव अधिकारी, शुसीलवरसिंह थापा, परशुराम खत्री, विश्वराज सिंह शाहीलाई जम्मा ६.५ दिइएको छ,' स्रोतले सेतोपाटीलाई भन्यो।
बढुवा समितिको सिफारिस पुनरावलोकन सुन्ने समितिलाई यहीँनेर बढुवा समितिको मूल्यांकन खोटपूर्ण लागेको हो।
प्रहरी परिवार, गृहमन्त्रालय, र प्रहरीका जानकारहरु अंक दिँदा काखी च्यापिएका साउद, वज्राचार्य, श्रेष्ठलाई राई, वस्ताकोटी, अधिकारी र थापाभन्दा उच्चकोटीको प्रहरी अधिकृत ठान्दैनन्। अरु प्रतिष्पर्धीभन्दा झण्डैं दोव्वर अंक फरक हुनेगरी कतिपयको कसरी मूल्यांकन भयो भन्ने प्रश्न उब्जेको छ।
विभिन्न चुनौतीपूर्ण जिम्मेवारी सम्हालेबापत आइजिपीले दिने ५ अंकमा कोहीलाई फुलमार्क र बाँकीलाई किन साढे ३ अंक दिइयो भन्ने प्रश्नको जवाफ पुनरावलोकन समितिले खोजेको छ।
गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र आइजिपी नै रहेको बढुवा सिफारिस समितिले दिने साढे ७ अंक पनि राई, बस्ताकोटी, अधिकारी र थापाहरुले जम्मा साढे ३ अंकमात्र पाएका छन्।
प्रहरी नियमले यो १२.५ अंकलाई गोप्य भने पनि बढुवा चित्त नबुझ्ने डिआइजी अदालत जानेबित्तिकै सबैलाई दिएको अंक सार्वजनिक हुन्छ।
'त्यतिबेला आइजिपीसापले यादव अधिकारीभन्दा केदार साउद, नारायण बस्ताकोटी भन्दा रमेशशेखर वज्राचार्ज, गणेश राईभन्दा वीरेन्द्रबाबु श्रेष्ठ असल, सक्षम र इमान्दार भएकाले बढी अंक दिएकै हुँ भनेर बचाउ गर्न सक्नुहोला?' प्रहरी प्रधान कार्यालयका एक डिआइजीले भने।
सेतोपाटीलाई प्राप्त जानकारीअनुसार गृहसचिव संयोजक रहेको बढुवा समिति र चुनौतीपूर्ण जिम्मेवारी वापत आइजिपीले दिएको अंक यस्तो छ।
माथि तालिकामा हेर्नुहोस्