उद्योगमन्त्री कर्णबहादुर थापालाई निर्वाचन आयोगको आचारसंहिता उलंघन गरेको भन्दै जरिवाना गरेको छ। मन्त्री थापाले असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारको सिलसिलामा संविधानसभा सदस्य निर्वाचन आचार संहिता (संशोधनसहित), २०७० को दफा ५९ को विपरीत हुने गरी काम कारबाही गरेको हुनाले एक सय रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको आयोगको प्रवक्ता महेश्वर न्यौपानेले बताए।
कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ६ मा मन्त्री थापाले ने.क.पा. (एमाले) पार्टीको प्रचारप्रसार एवं आमसभाहरुमा सरिक भई निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको भनी उक्त निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगले जरिवाना गर्ने निर्णय गरेको हो।
निर्वाचन आचारसंहिताको दफा ५९ मा नेपाल सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमण वा निरीक्षणमा जाँदा वा जुनसुकै सरकारी काममा संलग्न रहँदा निर्वाचन प्रचार–प्रसारको काममा संलग्न हुनुहुँदैन भन्ने व्यवस्था छ।
त्यसैगरी, 'निर्वाचन आयोग ऐन, २०६३ को दफा २९ मा कसैले आयोगले बनाएको आचार संहिताको उल्लंघन गरेको पाइएमा त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्न आदेश दिन सक्ने र त्यस्तो आदेशको पालना नगर्ने व्यक्ति, राजनीतिक दल, संस्था वा पदाधिकारीलाई एक लाख रुपैंयासम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ।