त्रिवि मानवशास्त्र/समाजशास्त्र विभागले गरेको अध्ययनले थकाली नेपालको सबैभन्दा सम्पन्न जाति भएको देखाएको छ। अध्ययनले व्यापारी समुदायको मारवाडी जातिलाई पनि उछिनेर थकाली आर्थिक हिसाबले नेपालको सबैभन्दा सम्पन्न जाति बनेको उल्लेख गरेको छ।
मारवाडीपछि तेस्रो, चौथो र पाँचौं सम्पन्न जातिमा मधेसी समुदायका कायस्थ, तराई ब्राम्हण र राजपूत छन्। छैटौ र सातौंमा नेवार र पहाडे बाहुन परेका छन्।
साढे दुई वर्ष लगाएर त्रिविले ९७ जातजातिको आर्थिक अवस्था अध्ययन गरी प्रत्येक जातिको आर्थिक सूचांक तयार पारेको छ। आर्थिक सूचांक तयार गर्दा मूलतः तीनवटा आधारलाई हेरेको छ।
पहिलो, त्यो खास जातिको उत्पादनका साधन र गैरकृषि क्षेत्रको आर्थिक गतिविधिमाथिको पहुँच। यो अध्ययनले जमिनमाथिको स्वामित्वलाई उत्पादनका साधनमा पहुँचको रुपमा लिएको छ।
दोस्रो आधार त्यो जाति गरिबीबाट कति मुक्त छ भन्ने हो। आफ्नो कुल आम्दानीमध्ये खानपिनमा हुने खर्च, खाद्यान्नको उपलब्धता र आधारभूत रोजगारीमाथिको पहुँचको लेखाजोखा गरेर गरिबीबाट मुक्तिको आँकलन गरिएको छ।
तेस्रो, त्यो जातिको जीवनस्तर। चारवटा आधारलाई हेरेर जीवनस्तर तय गरिएको छ। परिवार बस्ने घरको किसिम, घरमा सुत्ने कोठाको संख्या, बिजुलीको उपलब्धता र खाना पकाउने प्रयोग हुने इन्धनको किसिम।
अन्य क्षेत्रजस्तै आर्थिक हिसाबले पनि मधेसका दलितहरु सबभन्दा विपन्न रहेको अध्ययनले देखाएको छ।