त्रिविवि समाज/मानवशास्त्र विभागले गरेको एक अध्ययनले स्वास्थ्य र सरसफाइका हिसाबले थकाली जाति पहिलो स्थानमा रहेको देखाएको छ।
दोस्रो, तेस्रो र चौथो जातिमा क्रमशः नेवार, छन्त्याल र गुरुङ छन्। स्वास्थ्य सेवामा पहुँच र उक्त सेवाको उपयोग गर्नसक्ने क्षमता, बालबालिकाको जीवित दर, स्वच्छ खानेपानीमा पहुँच र आधुनिक शौचालयको उपयोगजस्ता चार मुख्य कुरालाई समेटेर तयार गरिएको ९७ जातजातिको सूचकाङ्कमा थकाली पहिलो नम्बरमा परेको हो।
त्रिविविको यही अध्ययनले थकाली आर्थिक हिसाबले पनि सबैभन्दा सवल जाति रहेको देखाएकाले स्वास्थ्य र सरसफाइका हिसाबले उनीहरु अग्रणी स्थानमा रहनु स्वभाविक देखिन्छ।
स्वास्थ्य सेवामा पहुँच र उक्त सेवाको उपयोग गर्ने क्षमताको दृष्टिले भने नेवार जाति अग्रपंक्तिमा देखिएको छ। त्यसपछि मधेसका जातजाति, पहाडे बाहुन र क्षेत्री छन्। स्वास्थ्य सेवामा जस्तै आधुनिक शौचालयको पहुँचमा पनि नेवारहरु नै अगाडि देखिएका छन्। दोस्रो नम्बरमा पहाडे बाहुन छन्। तराईकै अन्य जातजाति र मुसलमानको पहुँच पनि आधुनिक शौचालयमा कम रहेको उक्त अध्ययनले देखाएको छ।
सफा र स्वच्छ खानेपानी माथिको पहुँचमा भने पहाडका जनजाति, नेवार र पहाडे दलित अगाडि देखिएका छन्। यी तीन जातजातिका लगभग सबै परिवारको स्वच्छ खानेपानीमा पहुँच रहेको अध्ययनले देखाएको छ।
प्राध्यापक ओम गुरुङको नेतृत्वमा साढे २ वर्ष लगाएर तयार पारिएको नेपाल बहुआयामिक सामाजिक समावेशी सूचकाङ्कले अन्य क्षेत्रमा जस्तै मधेसका दलितहरुको अवस्था स्वास्थ्य र सरसफाइको अवस्था सबैभन्दा नाजुक रहेको देखाएको छ।
यो पनि हेर्नुहोस्।
नेपालको नम्बर एक जाति कायस्थ, नम्बर दुई पहाडे बाहुन