काठमाडौं, चैत २८ (सेतोपाटी)– नेपाललाई हिन्दु राष्ट्रकै हैसियतमा फर्काउनुपर्ने माग नेपाली कांग्रेसको महासमिति बैठकमा जबर्जस्ती अगाडि सारिएको छ । केन्द्रीय समितिका सदस्य तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई अन्यायपूर्ण तरिकाले सर्वोच्चले दोषी ठह¥याएकोमा आपत्ति जनाउँदै न्यायका लागि पार्टी नेतृत्वसँग आह्वान पनि गरिएको छ ।
नवलपरासीको त्रिवेणीमा जारी महासमिति बैठकमा हिन्दु राष्ट्रको सट्टा नेपाललाई धर्म निरपक्ष बनाइएकोमा आपत्ति जनाउँदै हस्ताक्षर अभियान सुरु भएको हो । अहिलेसम्म कतिजनाले हस्ताक्षर गरे स्पष्ट भएको छैन । अभियानको अगुवाइ गरेका पूर्वसांसद शंकर पाण्डे तथा दामोदर गौतमले भोलिसम्म करिब १ हजार ३ सयमध्ये अधिकांश सदस्यले हस्ताक्षर गर्ने दाबी गरे । त्यसपछि उक्त याचिका पार्टी नेतृत्वलाई बुझाउने उनीहरूले जानकारी दिए ।
देशलाई धर्म निरपेक्ष बनाएकोमा पार्टीभित्र असन्तोष रहेको महाधिवेशनमा भएका अन्य घटनाले पनि साबित गरेका छन् । मंगलबार बन्द सत्र सुरु हुनुअघि मुक्तिनाथ पीठका प्रमुख स्वामी कमलनयनाचार्यलाई विशेष अतिथिका रूपमा बोल्न आमन्त्रित गरियो । उनले नेपाललाई धर्मनिरपेक्ष बनाइनु यहाँको वैदिक परम्परा, सांस्कृतिक मान्यता प्रतिकूल भएको र विदेशीहरूको उक्साहटमा यस्तो निर्णय लिएको आरोप लगाए । कमलनयनाचार्यको प्रवचनलगत्तै हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर सुरु भएको हो ।
यससँगै पार्टी नेतृत्वले अपेक्षा नै नगरेको खुमबहादुर खड्का प्रकरणलाई १४ मध्ये १२ अञ्चल प्रतिनिधिले समूहगत रूपमा उठाएर उनलाई घुस काण्डमा राजनीतिक प्रतिशोधका कारण नियतवश फसाइएको जिकिर गरे । उनलाई राजनीतिक न्याय दिलाउन पार्टी नेतृत्व अगाडि आउनुपर्ने उनीहरूको माग थियो ।
कतिपय प्रतिनिधिले खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउनुपर्ने माग मात्रै राखेनन्, उनको माओवादीसँगको निकटताका कारण खड्काजस्ता कांग्रेस नेतालाई राजनीतिक प्रतिशोध साँधेर अदालतले भ्रष्टाचारमा दोषी ठहर्याएको आरोप लगाए ।
अहिलेसम्म कांग्रेस केन्द्रीय समितिका सदस्यले बोल्ने अवसर पाएका छैनन् । तर, खड्काको पक्षमा केन्द्रीय समितिको एउटा ठूलो संख्याले लबिङ गर्ने सम्भावना प्रबल रहेको प्रतिनिधिहरू बताउँछन् ।
केन्द्रीय सदस्य शेखर कोइरालाले प्रतिनिधिहरूबीच बाँडेको अपिलमा रेग्मीले न्यायपालिकाबाट तत्काल राजीनामा गर्नुपर्ने माग राखिएको छ । उनलाई राजीनामा अगावै मन्त्रिपरिषद्को अध्यक्ष बनाएर पार्टी शक्ति पृथकीकरणको सिद्धान्तविपरित उभिएको उनले आरोप लगाएका छन् ।