अमित ढकाल, काठमाडौं– चुनावको सम्भावनासँगै मधेसवादी दलहरू चुनावी मोर्चाको कसरतमा जुटेका छन् । २३ भन्दा बढी दल र समूहमा विभाजित मधेसी नेताहरू आजकाल फरकफरक चुनावी मोर्चा र एकता वार्तामा दिनहुँ व्यस्त छन् ।
‘मैले हिजोमात्र जेपी गुप्ता र महन्थ ठाकुरलाई भेटेर कुरा गरेँ र ठाकुरलाई सबै राजनीतिक दल र समूहहरूलाई बोलाउनुहोस्, सँगै बसेर एकल पार्टी वा संयुक्त मोर्चाको सम्भावना खोजौं भनेँ,’ संघीय सद्भावनाका अध्यक्ष तथा पूर्वमन्त्री अनील झाले सेतोपाटीलाई बताए ।
जतिसुकै प्रयत्न गरे पनि मधेसका सबै राजनीतिक पार्टीहरूको एकल मोर्चा बन्ने सम्भावना भने नरहेको मधेसी नेताहरू नै स्वीकार्छन् । त्यसैले मधेसी पार्टीहरूको अहिलेको रणनीति मन मिल्ने वा सम्भावना भएका पार्टीहरूबीच एकता वा मोर्चाबन्दी गर्ने र त्यसको बलमा अन्य शक्तिहरूसँग बार्गेन गर्ने रहेको छ ।
गत मंसिर–पुसमा उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम र महन्थ ठाकुरले नेतृत्व गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीबीच एकीकरणको प्रयत्न भएको थियो । यो प्रयास यी दुई पार्टीको आफैं पहलमा नभएर भारतीय चाहनाअनुसार भएको थियो । मधेसमा एउटै पार्टी वा मोर्चाको सम्भावना नदेखेपछि लैनचौरले यादव र ठाकुरलाई मिलाउन खोजेको थियो । यादवको ठूलो भोटबैंकलाई प्रतिनिधित्व गर्ने र मधेस आन्दोलनको विरासतका हकदार उपेन्द्र यादव तथा तराईका आर्थिक रूपले सम्भवतः सबैभन्दा निष्कलंक नेता ठाकुर र उनले नेतृत्व गरेको कथित उच्च जातिको प्रतिनिधित्व गर्ने तमलोपा पार्टी एक ठाउँमा उभिए ठूलो राजनीतिक शक्ति निर्माण हुने लैनचौरको ठम्याइ थियो । यी दुई पार्टीले वार्ता टोली गठन गरे र धेरै चरण वार्ताहरू पनि भए । अन्ततः नेतृत्वको प्रश्नलाई लिएर कुरा मिलेन । लैनचौर ठाकुरको नेतृत्वमा नयाँ पार्टी निर्माण गर्न चाहन्थ्यो, यादवले त्यसलाई स्वीकार गरेनन् । उल्टो उनको पार्टीको केन्द्रीय समितिले अर्को पार्टीसँग एकीकरण हुने भए यादवको नेतृत्वमा मात्र हुनसक्ने निर्र्णय गरेर एकीकरणका प्रयासलाई पूर्णविराम लगाइदियो ।
फोरम नेपाल हाल ससाना जनजाति पार्टीहरूसँग मोर्चामा छ र यो मोर्चाबन्दीलाई अशोक राईले नेतृत्व गरेको संघीय समाजवादी पार्टीसम्म बढाउन सकिन्छ कि भनेर प्रयासरत छ ।
ठाकुरले नेतृत्व गरेको तमलोपाको अर्को स्वभाविक मोर्चा विजय गच्छदारले नेतृत्व गरेको फोरम–लोकतान्त्रिकसँग हुनसक्छ । गच्छदार र यादव एक ठाउँमा आउन सक्दैनन् । अनि गच्छदार र ठाकुर दुवैको पार्टीलाई उपेन्द्र यादवको पार्टी झेल्न एकअर्काको साथ चाहिन्छ ।
जेलबाट छुटेर आएपछि पूर्वमन्त्री जेपी गुप्ता पनि आफ्नो शक्तिलाई तराईमा पुनर्संगठित गर्न खोज्दै छन् । उनी जेलमै भएका बेला पार्टीको नेतृत्व राजकिशोर यादवले हत्याइसकेका छन् । जेलबाट छुट्नेबित्तिकै विजय गच्छदारबाट अलग भएर बसेका शरतसिंह भण्डारीसँग उनले संयुक्त वक्तव्य निकाले, निर्वाचन क्षेत्र पुनर्निधारण र समानुपातिकमा संख्या बढाउने माग राखेर । भण्डारी र गुप्ताको आगामी दिनमा सँगै हिँड्ने सन्देश थियो त्यो । दुवै जना एकै ठाउँमा उभिनु उनीहरूको बाध्यता पनि हो । भण्डारी मन्त्रीबाट हटेपछि घाँटीमा गम्छा हालेर उपेन्द्र यादवसँगसँगै देखिए पनि उनलाई यादवको नेतृत्वमा अटाउन गाह्रो छ । फर्केर गच्छदारसँग जाने कुरै भएन । गुप्ताले चाहे पनि उपेन्द्र यादवले उनलाई लिने छैनन् । किनकि उनले पार्टी संकटको घडीमा फुटाएको घाउ आलै छ । यादव गुप्तासँग कतिसम्म चिढिएका छन् भने उनी जेल पर्दा यादवले आफ्ना कार्यकर्ताहरूलाई लड्डु बाँडे र अदालतको निर्णयको स्वागत गर्दै सार्वजनिक रूपमा बोल्ने उनी सम्भवतः एक्ला मधेसी नेता थिए ।
गुप्ता र भण्डारी अहिले ससाना मधेसी दलहरूलाई एक ठाउँ मिलाएर शक्ति आर्जन गर्ने रणनीतिमा छन् । अनील झाको संघीय सद्भावना पार्टीसँग उनीहरूको कुरा धेरै अघि बढिसकेको छ ।
मधेसका अरू दुई यादवहरू– राजकिशोर र महेन्द्र– पनि एकीकरण वार्तामा छन् । ‘हो, महेन्द्रजीले प्रस्ताव ल्याउनुभएको छ र हामी पनि त्यसमा सकारात्मक छौं, केही गरी प्राविधिक कारणले पार्टी एकीकरण हुन सकेन भने पनि हामी मोर्चा बनाएर अघि जाने मुडमा छौं,’ राजकिशोरले सेतोपाटीलाई भने ।
यी दुई यादवहरूको दाउ तेस्रा यादव (उपेन्द्र) सँग बार्गेनिङ गर्ने हो । ‘यदि उहाँहरू दुईजना एक ठाउँमा उभिनुभयो भने उपेन्द्रलाई यादव भोट बाँडिने डरले एकीकरणको दबाब पुग्छ,’ तमलोपा–नेपालका एक नेता तर्क गर्छन् । तर, दुई यादवहरूको दृष्टि विजय गच्छदारको फोरम–लोकतान्त्रिकमा पनि छ ।
गच्छदारलाई मधेसी ‘हार्टल्यान्ड’ (सप्तरीदेखि पर्सासम्म) मा ठूलो चुनौती छ, उनी स्वयं थारु भएका कारण । त्यसैले आफूहरू सँगै उभिए गच्छदार आफूहरूतिर आकर्षित हुने विश्वास दुई यादवहरूलाई छ । ‘हामी दुई एक ठाउँ आएपछि स्वभाविक रूपमा मधेसका अन्य शक्तिहरू हामीतिर आकर्षित हुनेछन्, हेर्दै जाउँ, हामी उपेन्द्र र विजयजी दुवैसँग कुरा गर्न सक्छौं,’ राजकिशोरले भने ।
मधेसमा एक्लै हिँड्न खोज्ने एक्ला खेलाडी भने सद्भावनाका राजेन्द्र महतो देखिएका छन् । उनले कसैसँग हात बढाएका छैनन् र सार्वजनिक रूपमै मोर्चाको विपक्षमा बोलेका छन् । उनको अहिलेको रणनीति मधेसका ठूला दलहरूलाई मधेसविरोधी देखाउनु हो । उनले केही दिनअघि सुनसरीमा विजय गच्छदार र महन्थ ठाकुरको पार्टीलाई मधेसविरोधी भएको आरोप सार्वजनिक रूपमै लगाएका थिए । ‘हामीले मोर्चाबन्दी गर्न खोज्यौं भने पनि हामीलाई अरूले कम सिट दिन खोज्छन्, फेरि मोर्चा बनाउँदैमा भोट आउने होइन, कार्यकर्ता मोर्चाकै विरुद्ध गइदिन्छन् र जनताले पनि आफ्नै हिसाबले भोट हाल्छन्,’ मोर्चाप्रतिको आकर्षण नहुनुको कारण प्रस्ट्याउँछन् महतोनिकट एक नेता ।
अहिले नै हेर्दा मधेसमा कम्तीमा तीन मोर्चा बन्ने देखिन्छ अबको निर्वाचनमा । ‘एक पार्टी वा एक मोर्चाको सम्भावना छँदै छैन, बन्यो भने दुई वा तीन मोर्चा बन्ने हो मधेसमा,’ नेपाल मधेस फाउन्डेसनका कार्यकारी निर्देशक तुलानारायण शाह भन्छन् । तर, अनिश्चित मधेस राजनीतिबारे अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
‘मधेसमा अहिले ठूलो अनिश्चितता छ र मधेसी पार्टीहरूमा त्यसकै चिन्ता देखिन्छ, मोर्चा बनाउने प्रयास त्यसकै परिणाम हो, तर मधेस राजनीति यति तरल छ कि भोलि कस्तो ध्रुवीकरण हुन्छ, भन्न सकिन्न,’ मधेसलाई नजिकबाट नियालेका पत्रकार चन्द्रकिशोर झा भन्छन् ।