प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने सवालमा धेरै चुनौतीहरू आउने गरे पनि सबै चुनौतीहरूको सामना गर्दै संघीयता कार्यान्वयन र प्रदेशलाई स्थापित गर्ने दाबी गरेका छन्।
प्रदेश ५ सरकारले तयार गरेको प्रदेशको वस्तुस्थिति विवरण (प्रोफाइल) सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले संघीयता कार्यान्वयन र प्रदेशलाई स्थापित हुन नदिन भइरहेका अवरोधहरू सृजना हुने गरे पनि कसैले प्रयास गर्दैमा संघीयता कमजोर नहुने बताए।
‘हामी वस्तुस्थिति नबुझी र जानकारी बिना नै आवश्यकताभन्दा बढी निराश र उत्साहित हुन्छौं, संघीयता कार्यान्वयनसँगै नेपालको आर्थिक अवस्था खस्कियो भनेर प्रचार गरिएको छ त्यसमा कुनै सत्यता छैन,’ उनले भने।
पहिले ३ प्रतिशत रहेको आर्थिक वृद्धिदर अहिले ७ प्रतिशतमा पुगेको भन्दै मुख्यमन्त्री पोखरेलले संघीयता र प्रदेशको स्थायित्वबाट नै आर्थिक समृद्धिको बाटो पहिल्याउने बताए।
उनले प्रदेशको वास्तविक अवस्थाको विश्लेषण नगर्दासम्म आर्थिक समृद्धिको बाटो पहिल्याउन नसकिने भन्दै प्रदेशले निकालेको वस्तुस्थिति पुस्तकले प्रदेशको आर्थिक समृद्धिको बाटो पहिल्याउन सहज हुने बताए।
उनले प्रदेश नं ५ कृषिका हिसाबले नेपालको औषत अवस्थाभन्दा माथि रहेको उल्लेख गर्दै यसमा केही मेहेनत गर्न सकिए कृषिबाट धेरै फड्को मार्न सकिने बताए। ‘हामी कृषिमा राष्ट्रिय औषतभन्दा केही माथि छौं थोरै पनि सुधारको लागि काम गर्न सक्यौं भने राम्रो प्रगति हुन सक्छ, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा त कर्णाली र ७ नं प्रदेशको सहयोगी बन्न सक्छौं,’ उनले भने।
आफ्नो धरातलबारे बुझ्न नसके अगाडिको यात्रा गर्न नसकिने भन्दै उनले प्रदेश सरकार गठन भएको एक वर्षमा प्रदेश खोज्ने र भेटिने अवस्थामा पुर्याएको दाबी गरे।
कर्मचारी नआएका कारण बजेट कार्यान्वयनमा समस्या भए पनि अबका दिनमा त्यस्तो अवस्था नआउने बताए।
‘हामीले ५ महिना विकास प्रशासन पाएनौं त्यसको प्रभाव बजेट कार्यान्वयनमा देखियो तर अबको महिना बजेट कार्यान्वयनमा नतिजा देखिने महिना बन्ने छ,’ उनले भने।
प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले प्रदेशको दिगो विकासको समेत लक्ष्य समेत समावेश गरी प्रदेश वस्तुस्थिति पुस्तक तयार गरिएको जानकारी दिए।
पुस्तकमा प्रदेश नम्बर ५ को आर्थिक, भौगोलिक, सामाजिक, साँस्कृतिक अवस्थाको विश्लेषण गरिएको छ। पुस्तकमा उल्लेख गरिए अनुसार प्रदेश नम्बर ५ ले नेपालको आर्थिक सक्रियतामा ४१ प्रतिशत योगदान गरेको देखिएको छ।