म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त छन्।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो ।
जिल्लाका ठूला राजनीतिक दलका उम्मेदवारलाई समेत पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका बेनी नगरपालिका–३ भकिम्लीका पदम पुन गाउँमा लोकप्रिय छन्।
बिहानदेखि बेलुकीसम्म जनताको सेवामा सक्रिय रहेका पुनले आफूले सुरू गरेको बाख्रापालनलाई समेत समय दिन सकेका छैनन्। बेनी नगरपालिकाभित्रका वडामा सबैभन्दा बजेट कार्यान्वयन तथा योजना सम्पन्नमा समेत भकिम्ली अग्रस्थानमा छ । वडावासीको दैनिक काम, निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको २० कोठे भवनमा उनले धेरै समय खर्चनु परेको छ। तीन वर्ष अगाडि करिब रु १२ लाखमा स्थापना गरेको बाख्रापालन व्यवसायलाई पर्याप्त समय दिन नसक्दा पुनले बाख्रापालन नै छोड्न लागेको बताए।
‘मैले जनप्रतिनिधिको भूमिकासँगै बाख्रापालनलाई अगाडि बढाउन नसक्ने भएकाले संख्या घटाउँदै छु, आफ्नो कार्यकालमा भकिम्लीमा धेरै काम गर्नुपर्नेछ’, पुनले भने। जनताको प्रतिनिधिको भूमिका र व्यवसायलाई सँगसँगै लैजान समय व्यवस्थापन गर्न नसकिने बताउँदै उनले खरी र उन्नत जातका ८५ वटा बाख्रा विक्री गरिसकेका छन्।
जनप्रतिनिधिको उपस्थिति जनताको आवश्यकताअनुसार हुने भएकाले पनि व्यवसायमा ध्यान दिँदा जनताले समयमै काम नपाउने उनको भनाइ छ।