विश्वकप फुटबलको २१ औं संस्करणको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आज ट्युनिसियाको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति ११.४५ बजे भल्गोग्राद अरिनामा हुँदैछ।
सन् २०१४ को विश्वकप फुटबलमा समुह चरणबाटै बाहिरिएको र सन् २०१६ को युरोकपमा पनि निराशाजक प्रदर्शन गरेको इंग्ल्याण्डका समर्थक यसपालिको विश्वकपलाई लिएर धेरै उत्साहित छैनन्।
विश्वकै सबैभन्दा धनी र लोकप्रिय क्लब फुटबल प्रतियोगिता आयोजना गर्ने भए पनि त्यसको सकारात्मक असर इंग्ल्याण्डमाथि पर्न सकेको छैन। इंग्ल्याण्डको राष्ट्रिय टोली जित हात पार्नबाट चुकिरहेको छ। ठूला प्रतियोगितामा आशाको ठूलो बोझ बोकेर उत्रने इंग्ल्याण्डबाट यसपटक भने खासै अपेक्षा गरिएको छैन।
दबाबबिना खेल्ने पाउने यो युवा टोलीले प्रतियोगिता नै नजिते पनि अघिल्ला संस्करणका टिमभन्दा राम्रो गर्न सक्छ। तुलनात्मक रूपमा सजिलो समूहमा परेको फाइदा पनि उनीहरूलाई हुनेछ। विश्वकप प्रतियोगिताअघि भएका दुई खेलमा इंग्ल्याण्डले जित हात पारेको छ। उसले कोस्टारिकालाई २-० ले तथा नाइजेरियालाई २-१ गोलअन्तरले पराजित गरेको छ। इंग्ल्याण्डका मुख्यखेलाडी हेरी केन हुन्। टोटनह्याम हटस्परबाट व्यावसायिक फुटबल खेल्ने केनले सो क्लबका लागि गएका चार सिजनमा १३५ गोल गरिसकेका छन्। केन विश्वकपका लागि इंग्ल्याण्डको गोल ‘मेसिन’ हुन्।
पनामा र ट्युनिसियाजस्ता तुलनात्मक रूपमा कमजोर टोली मानिएका समूहमा परेकाले केनले गोल्डेन बुटका लागि पुर्चगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई चुनौती दिने सक्ने मानिन्छ। रोनाल्डोले स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका छन्। केन र टोटनह्याम टिमले गएका चार सिजनमा धेरै राम्रो खेलेका छन् तर कुनै उपाधि भने जितेका छैनन्।
ट्युनिसियाको खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा एक रसियन पत्रकारले रसिया आउँदा उनलाई स्वागतमा दिइएको कलात्मक चियाको भाँडो नै उनले उचालेको पहिलो कप हो भनेर सोधे।
इंग्ल्याण्डका कप्तान समेत रहेका केनले नरिसाइकन उत्तर दिए- के थाहा सुनको ठूलो कप पो उचाल्छु कि!
इंग्ल्याण्डका यसपालिको यूवा टोलीमा केनबाहेक टोटनह्यामकै डेली अली, मेन्चेष्टर सिटीलाई यस सिजनको लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका रहिम स्टर्लिङ, र मेन्चेष्टर युनाइटेडका मार्कस रासफोर्ड र जेसी लिनगार्ड जस्ता तीव्र गतिका खेलाडी छन्। घुँडाको चोटका कारण रसियामा भएको पहिलो ट्रेनिङ सत्र छुटाएका रासफोर्ड फिट छन् र चाहिएमा बेन्चबाट आएर खेल्ने छन्। केन र अलि एकै क्लबबाट खेल्ने भएकाले उनीहरूको तालमेल राम्रो छ। त्यस्तै डिफेन्डसमा मेन्चेष्टर सिटीका काइल वाकर र जोन स्टोन्सबीच पनि राम्रो तालमेल हुनेछ।
१९९८को विश्वकपमा पनि इंग्ल्याण्डले पहिलो खेल ट्युनिसियासँग खेलेको थियो। २-०ले जितेको सो खेलमा हालका कोच ग्यारेथ साउथगेट डिफेन्डरका रूपमा खेलेका थिए। खेलाडीका रूपमा त्यो उनको पहिलो विश्वकप खेल थियो र संयोगले कोचका रूपमा पनि पहिलो खेल ट्युनिसियासँगै हुँदैछ।
माथिल्लो तहको फुटबल कोचिङको धेरै अनुभव नभए पनि उनले तीन वर्षसम्म इंग्ल्याण्डको यू-२१ टिम सम्हालेका थिए। अहिलेको सिनियर टिमका धेरै युवा खेलाडीलाई उमेर समूहमा कोचिङ गरिसकेकाले उनले राम्ररी बुझेका छन्।
अर्कोतर्फ ट्युनिसिया १२ वर्षपछि विश्वकपमा फर्किएको छ। छनौट चरणका सबै खेलमा अपराजित ट्युनिसियाले आफूलाई बलियो प्रतिद्वन्द्वीका रूपमा उभ्याइसकेको छ। पाँच पटक विश्वकप खेलिसकेको ट्युनिसिया यसपटक कम्तिमा समूह चरण पार गर्ने आशामा छ। ट्युनिसिया अहिलेसम्म समूह चरणबाट माथि पुग्न सकेको छैन। ट्युनिसियाका प्रमुख खेलाडी युसिफ मास्कानी हुन्। २७ वर्षीय मास्कानीले गिनीविरुद्ध विश्वकप छनौट चरणमा ह्याट्रिक गरेका थिए। त्यस्तै ट्युनिसियाका अर्का महत्वपूर्ण खेलाडी वाहबी खज्री हुन्। इंग्लिस प्रिमियर लिग क्लब सण्डरल्याण्डबाट लोनमा फ्रान्सको रेन्स गएर उनी व्यावसायिक फुटबल खेलिरहेको छन्।
एजेन्सीको सहयोगमा