कन्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीले नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएपछि त्यसको विरोधमा विप्लव माओवादीले घोषणा गरेका नेपाल बन्दको औचित्य के थियो? मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन। त्यही बन्दको दिन काठमाडौंमा साझा बसमाथि आगजनी भएपछि यस घटना माथि विप्लपले दुःखप्रकट गर्छन या गर्दैनन् त्यसको नतिजा पर्खेर बसेँ। घटना भएको केही दिन बितिसक्यो, घटना सेलाई पनि सक्यो यस विषयमा विप्लवले केही बोलेनन् यसै सम्बन्धमा मलाई ढिलै भएपनि केही लेख्न मन लाग्यो।
नेपालमा हुने बन्द हड्तालका कार्यक्रममा धेरैजसो आगजनी र तोडफोडका कार्यक्रम सम्भवत: विप्लवले नै आयोजना गरेका बन्दमा हुने गर्छन्। त्यसमा पनि धेरै नोक्सानी मजदुर वर्गले नै खेप्नुपरेको देखिन्छ। चालकलाई ट्याक्सी भित्रै राखेर बाहिरबाट आगो लगाइएका घट्ना समेत हामीले यस्ता बन्द हड्तालमा देखिसकेका छौँ। ती घटनासम्म त मैले पनि केही लेखिनँ। माओवादी जनयुद्धको समयमा यस्ता आगजनीका घट्ना धेरै देखिएकाले पनि स्वभाविकै ठानियो।
तर अस्ति भर्खर भारतीय सुरक्षाकर्मीको गोली लागि कन्चनपुरमा एक नेपाली नागरिकको मृत्यु भएपछि आयोजना गरिएको नेपाल बन्द र त्यस क्रममा काठमाडौंमा साझा बसमाथि गरिएको आगजनीले मलाई मात्र हैन धेरैलाई गम्भीर बनायो। नेपालकै सीमा मिचिनु, नेपालकै नागरिक मर्नु यसको विरोधमा फेरि नेपाल बन्द गर्नु र नेपालकै गाडी जलाउनुको औचित्य के हो? तपाईँ जस्तो राजनैतिक शक्ति भएको दलले त सीमामा गएर विरोध देखाउनु पथ्र्याे वा सरकारलाई सीमा सुरक्षाको लागि जनसागरलाई सडकमा ल्याएर सरकारलाई दबाब दिन सक्नुपथ्र्याे।
मेरो अनुरोध आफ्ना कार्यकर्तालाई कहिलेकाहीँ आगो निभाउने तालिम पनि दिनुस्। कार्यकर्तालाई आगजनी गर्नमात्र अभ्यस्त गराउँदा कुनै दिन तपाईँकै पार्टी कार्यालयमा केही गरि आगलागी भयो भने आफ्नै कार्यकर्ताको कार्यकुशलतादेखि घृणा जाग्ने समय आउन सक्छ। विरोध नगर्नूस् भन्ने मेरो आसय होइन मेरो आसय तपाईँको विरोध धेरैको लागि स्वीकार्य र हितकारी होस्। विरोधको पद्धति विध्वंसात्मकभन्दा सिर्जनात्मक पनि हुन्छ। अब विरोधको पनि सिर्जनात्मक बाटो खोज्ने हो कि? नत्र यस्तै तरिकाको विरोध शैली ओ भने नोक्सान कसलाई त? जवाफ दिनुपर्ने हुन्छ।