हामीलाई सानैदेखि सिकाइएको हुन्छ आफूभन्दा ठूलालाई तपाईं हजुर भन्नु पर्छ अनि आफूभन्दा सानालाई तँ तिमी। त्यसैअनुसार हामी अभ्यस्त हुदै जान्छौं हामी हाम्रो बाल्यकालदेखि नै। पुरुष प्रधान समाज भएकाले नै होला हामीकहाँ श्रीमतीलाई तिमी भनेर सम्बोधन गर्ने अनि श्रीमानलाई तपाईं हजुर। त्यति मात्र होइन श्रीमानले लात हान्न हुने अनि जुठो भात टाउकोबाट खन्याईदिन हुने तर श्रीमतीले त्यसको विरोध गर्न पनि नहुने।
मैले केही वर्ष पहिला आफन्तकोमा आफ्नै आँखाले देखेको कुरो हो यो। सहीलाई सही र गलतलाई गलत भन्न पाउने सबैको जन्मसिद्द अधिकार हो तर हाम्रो समाजमा पुरुषले जे बोले पनि हुने जे गरे पनि हुने अनि महिलाले गर्दै नगरेको गल्ती पनि गलत हुन्छ। त्यतिमात्र नभएर गर्दै नगरेको गल्तीको सजाय दिइन्छ नारीलाई। सजाय दिनेमा पुरुष र नारी दुबै पात्र हुन्छन् या पुरुष पात्र मात्र।
घरमा छोरो ढिलो घर आयो भनेर बुहारीले विरोध गरिन् भने सासू बुहारीको पक्ष लिएर बोलेको विरलै देखिन्छ। त्यतिमात्र नभएर लोग्ने मान्छे जतिबेला घर फर्कदा पनि हुन्छ, जे गरे पनि हुन्छ भनेर छोराको गल्तीलाई नै प्रोत्साहन दिने गरिन्छ। केटीमान्छे भएर अबेरसम्म बहिर बस्नु हुन्न भनेर छोरीलाई सिकाउने हाम्रो समाजले अबेरसम्म बाहिर बस्नुहुदैन भनेर छोरालाई सिकाएको कहीँ पाइँदैन। घरको राम्रो कोठा छोरालाई, खाना खान बस्दा सजिलो बस्ने ठाउँ छोरालाई, दुध र घिउको मात्रा पनि धेरै छोरालाई नै। घरबाटै शुरु हुन्छ विभेद प्रत्येक कुरामा।
आजको महँगीको जमानामा श्रीमान श्रीमती दुवैजनाले काम नगरी खर्च धान्नै नसक्ने अवस्था छ। त्यसमाथि काठमाडौंको अस्तव्यस्त जिन्दगी सम्हाल्न त्यति सजिलो छैन। फलतः दुवै जनाले वाहिर काम गर्नुपर्ने हुन्छ। दशदेखि पाँच दुवैले आफ्नो आफ्नो काम गरेकै हुन्छन्। तर कार्यालय समय पहिले र कार्यालय समयभन्दा पछि नि? श्रीमती विहान ४ बजे नै उठेर सरसफाई, भातभान्छा, छोराछोरीको स्कूलको तयारीमा लाग्छिन् भने श्रीमानजी औछ्यानमा लम्पसार परिरहेका हुन्छन् अबेरसम्म। अझ श्रीमतीले वेड टी बनाएर लगेर बोलाउँदासम्म पनि उनिहरुलाई उठ्न गाह्रो हुन्छ। यस्तो लाग्छ की चिया पिईदिएर श्रीमतीमाथि उनिहरुले कुनै कृपा गरिरहेका छन्। एउटै समयमा अफिस जाने र घर फर्कने उनीहरु घरको कामको जिम्मा चाहिँ श्रीमतीको टाउकोमा मात्र थोपर्छन्। यस्तरी की उनी कुनै निर्जिव मेशिन हुन् अनि उनलाई न भोक प्यास लाग्छ न त थकाई नै। त्यति मात्र नभएर कुनै दिन खाना नमिठो भयो अथवा तरकारीमा नुन चर्को भयो भने भातको थाल नै उचालेर फालिदिन र तथानाम गाली गर्न पनि कत्ति बेर लाग्दैन उनिहरुलाई।
यसको मतलब सबै पुरुषहरु यस्तै हुन्छन् भनिएको होइन तर पनि हाम्रो वरिपरि, छरछिमेक सबैतिर यस्ता घटना वग्रेल्ती भेटिन्छन्, प्रशस्तै देखिन्छन्। श्रीमतीले जस्तो सुकै परिस्थितिमा पनि श्रीमानलाई मैले तँ भनेको सुनेको छैन तर श्रीमान तिमीबाट तँ मा झर्न कत्ति पनि बेर लगाउदैनन्। त्यति मात्र नभएर चुल्ठै समातेर ढुन्मुन्याईदिन र अगाडि जे भेटिन्छ त्यही बस्तुले हान्न बेर लगाउदैनन्। एउटा सानो घटना उल्लेख गरिहालौं। एकजना महिलाले आफ्नो बच्चालाई नजिकैको पसलवाट दुईवटा अण्डा लिएर आउन पठाइन्। बच्चाले ल्याउदै गर्दा अण्डा फुट्न पुग्छ। अनि श्रीमानको प्रतिकृया स्वरुप दुबै फुटेका अण्डा श्रीमतीको टाउकोमा बज्रिन पुग्छ। यस्तो छ हाम्रो समाज। एक अवोध बालकले गरेको सानो गल्तीको सजाय पनि महिलालाई नै दिईन्छ। छोरा छोरी बिग्रिए भने तेरो छोरा छोरी अनि सप्रिए भने मेरा छोराछोरी वास्तविकता यही हो। यी त केही प्रतिनिधि घटना मात्र हुन हाम्रो समाजको। यस्ता अरू थुप्रै घटना हुन्छन्।