नेपालमा अहिले सीमांकनको विषयलाई लिएर आन्दोलन चलिरहेको छ। यता कोरियामा राष्ट्रपतिको राजीनामा माग्दै २३ लाख मान्छे सडकमा आन्दोलन गरिरहेका छन्।
तर, कोरियामा आन्दोलन नितान्त फरक तरिकाले हुँदोरहेछ। यहाँ मान्छे सडकमा उत्रन शनिबार र आइतबार कुर्दा रहेछन् किनभने त्यो दिन सबैको बिदा हुन्छ। अरू बेला सबै जना आफ्नो काम धन्दामा ब्यस्त हुन्छन्। यहाँ आन्दोलनको नाममा कसैको हक अधिकार हनन् हुदो रहेनछ।
आन्दोलनको नाममा कुनै कल कारखाना संघ संस्था बन्द गर्ने परिपाटी हुँदोरहेनछ। यसरी चलिरहेको काम बन्द गरिदाँ अरूको हक अधिकार हनन तथा देशलाई ठूलो आर्थिक भार पर्न जाने मानसिकता आन्दोलनकारीमा हुँदो रहेछ।
उनीहरुले देश विकासको लागि उचित नेतृत्व राम्रो भएन भनेर आन्दोलन गरेका हुन्। ढुंगा मुडा बन्द हडताल गरिदाँ अरुको अधिकार त हनन् हुने हुने देश समेत पछि पर्न जाने हुँदा यो देशको लागि आन्दोल्न नहुने तर्क आन्दोलनकारीमा हुँदोरहेछ।
२३ लाख मान्छे सडकमा उत्रेर आन्दोलन गरि फर्कदा सडकमा कहि कतै फोहोर देखिदैन। सबभन्न्दा गजबको पक्ष भनेको सडकमा आन्दोलन गरिदाँ प्राय साँझको समय शनिबार बेलुका भोलि आइतबार बिदा पर्ने गरि गरिदो रहेछ, यसो गरिँदा दिउँसो सडकमा चल्ने सवारी साधन कुनै अवरोध नहुने भएकाले आन्दोलनको नाममा सडक बन्द गर्ने परिपाटी छैन।
बेलुका भएपछि सबैजना आ आफ्नो काम धन्दा सकि हातमा मैन बत्ति बालेर २३ लाख मान्छे सडकमा उत्रदा साच्चै नै रौनक देखिन्छ।
यति खेर मलाई नेपालमा सडकबन्द गरी मान्छेनै तर्साउने गरी आतंक सिर्जना हुने गरि हातमा राँको लिएर कुद्दै गरेको राँके जुलुसको याद आउँछ। वातावरण नै खलबलिने गरि कालो मुस्लो उठ्ने बिच बाटोमा बालेको टायरको याद आउँछ, सार्वजनिक सम्पतिको तोडफोड गरी ढुङ्गा मुडा गरेको याद आउँछ अनि सम्झन्छु नेपालमा शान्तिपूर्ण आन्दोलन भएको समाचारलाई, शान्तिपूर्ण आन्दोलन भनेको प्रहरीको कुटाई नखाइ कोही घाईते नभएको आवस्थालाई भनिदो रहेछ।
देशको आर्थिक पक्ष असर नपर्नेदेखि मानिसको हक अधिकार नहुनेसम्मको ख्याल गरी गरिने आन्दोलन पो शान्तिपूर्ण आन्दोलन, ढुङ्गा मुडा नगरी सवारी साधन अवरोध नगरी गरिने आन्दोलन पो शान्तिपूर्ण आन्दोलन।
नेपालमा पनि विभिन्न विषयलाई लिएर विभिन्न समयमा आन्दोलन हुँदै आएका छन्। कुनै जायज माग होला कुनै जायज माग नहोला आफ्नो ठाँउमा छन्। आफ्नो हक अधिकारको लागि कुनै ठाँउमा भेला भएर शान्तिपूर्ण माग राख्न पाउनु मौलिक अधिकार हो। तर, आन्दोलनको नाममा अरुको हक आधिकारको ख्याल नगरी देशलाई आर्थिक व्यय पर्ने गरि उद्योग धन्दा शैक्षिक संस्था सवारी साधन ठप्प पारी गरिने आन्दोलन शान्तिपूर्ण हुन सक्दैन, देशको हितमा हुन सक्दैन।
माग पूरा गर्ने भन्दैमा सडकमा मान्छे जम्मा हुँदा आन्दोलनलाई कसरी ब्यवस्थापन गर्ने, कुन बेला गर्ने के गर्दा देशलाई आर्थिक ब्यय पर्दैन, कसरी अरुको हक अधिकार सुरक्षित गर्न सकिन्छ?
कपिल्बस्तु ,हाल दक्षिण कोरिया