कमरेड !नेपाल बन्द र चक्काजाम गर्दै जनतालाई दु:ख दिएर जनजनका अगाडि नायक बन्ने दिन अब होइन!
-केशव प्रसाद पाण्डे
प्रिय कमरेड ,विप्लव
क्रान्तिकारी लाल अभिवादन !
कमरेड! तपाईंलाई यो पत्र लेख्नु मेरो कुनै रहर हुँदै होइन ।म सोच्छु , यो पत्र लेख्दालेख्दै विचमै कलम बन्द गर्नु परोस् ,पत्र अपुरो छोड्नुपरोस।त्यस्तो शुभ समाचार पढ्न पाईयोस 'कात्तिक २८ गतेको नेपालबन्द विप्लव माओवादीबाट फिर्ता!' नत्र दिनभर कमाएर पेट पाल्ने भरियादाईको भारि खोसिएर भोको भएको समाचार सुन्नु छ। ट्याक्सी चलाउने डाइभरदाईको ट्याक्सी ड्राइभर सहितलाइ पेट्रोल छर्किएर आगो लगाईयो भन्ने अप्रिय समाचार सुन्ने दिन हुनेछ।
भविष्य खोज्दै गरेका वावुनानीले पढ्न नपाएको दिन भएर रहनेछ। सर्वाहाराको मुक्ति सर्वाहारालाई दुःख दिएर अन्त्य होला र कमरेड? लाग्छ हिजो आज नेपाल बन्द र चक्काजामको टेन्डर तपाईंको पार्टीको नाममा मात्रै परेजस्तो!
सुन्दैछु माओवादी एकता केन्द्रको केन्द्रीय पार्टी कार्यालय, नयाँ शक्तिको कार्यालय मा पुर्वजनसेनाले कव्जा गर्दै ताला लगाएर अन्तिम लडाइँ लड्ने संकल्प गरे। जो योध्दाहरु हिजो नेपाल बन्द देखि हतियार युद्वसम्म गरेका जनसेना थिए ।उनीहरुवाटै सुरु गरौं जसको जिन्दगी आज नेपाल बन्द, चक्काजाम र युद्व लड्दैमा सकियो र आज धर्ना वस्नुपरेको छ अयोग्य वनेर।
उनीहरुलाई मुक्ति दियो त बन्दले? मुक्ति पाए त जनताले यसअघिका बन्दले?
तपाईंहरू सायद देशको तमाम वेतिथिको अन्त्य देख्ने सपना बोकेर मुठ्ठीमा ज्यान अर्पेर हिँड्नुभयो। ऊ जमानामा ती नाजायज सपना पक्कै थिएनन् । नेतृत्व लिनेहरुले त्यत्रो सपनाको लडाँईलाई औचित्य पुष्टि गर्न सकेनन्। कतै फसे ,अल्झिए। जे र जसका विरुद्ध विद्रोह भयो ,नेतृत्वले तिनिहरुसँगै गला मिलाँउदा त्यसको प्रतिरोध तपाईंले गर्नुलाई अन्यथा लिने ठाउँ म देख्दिँन। महँगी, भ्रष्टाचार कानुन विहिनताको विरोध गर्नु जाएज छ। हिजो यसैलाई निष्कर्षमा पुर्याईएन त्यही गल्तीको परिणाम हो 'उडी जाने वस' संसारलाई वरदान हुँदा हामीलाई अभिसाप भयो।
हेपाईको मराई लिन लालावाला, जहानवच्चा चटक्कै छाडेर जाने र लास ओसार्ने साधन बन्यो। हिजोका त्यही सपनाका सारथीहरु देशको शाख हरर उडाएर जान बाध्य वने।जे भएपनि युद्वको विसर्जन भयो।
शान्तिको सास फेर्ने दिनको झिनो आशा त आयो भन्ने लाग्थ्यो। देश बनाउने सपना तपाईंले पनि देख्नु थियो र पनि तपाईं अझै अन्तिम युद्व गरेरै मात्र बनाउने गरि सशस्त्र युद्वको आवश्यकता देख्न छोड्नुहुन्न।
हतियारबाटै कब्जा गर्ने छापामार शैली अपनाउन छोड्नुहुन्न। अहिलेको आवश्यकता नहुँदा नहुँदै मानौँ !अन्तिम युद्व भयो नै । मलाई एउटा प्रश्न गर्नुछ कमरेड! के त्यतिवेलाको लडाइँमा लड्नेहरुले दुई पैसा धनको लागि अहिलेजस्तो उड्ने बस चड्नुपर्ने छैन?
अनि त्यतिबेला पसिना र पौरख यही पोखेर सम्वृध्दि आउने अवस्था बन्नेछ भन्ने ग्यारेन्टी छ? त्यसका लागि नेपाल बन्द र चक्काजाम गरिनैपर्छ हो? ट्याक्सी जलाएर र भरियाका भारि खोसिनुपर्छ हो कमरेड?
नयाँ तरिकाको क्रान्तिका नाममा जनता तर्साउने र दु:ख पाँउने उहीँ शैली सुहाएन। अब धन र मनको संयोजन गरेर पानि र खानिमा हात हालेर बन्दुकको ह्याँङ फालेर सम्बृध्दिको सपना देखाउन कोशिश गर्नुहोस्। व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तनको सपना देखाउनुस कमरेड! जनताको मनको मोर्चामा विजयी बन्ने संकल्प गर्नुस। अहिलेको हतियार भन्नू त्यो भन्दा शक्तिशाली केही हुनेछैन।
सियो ,र नुनदेखि चामल र सुनसम्म बाहिरबाट नल्याए चुलो तात्दैनन् यताका र पनि भारतलाई दोषी देखाएर उम्किने अवस्था अब होइन। त्यही मुद्दामा नेतृत्व लिएका सुप्रिमो 'प्रचण्ड' कसरी भारतीय चक्क घुम्ने बने आजकाल त्यहि हेर्नुस्, सुरुङ युद्वको औंचित्य! कुटनीतिले खेल्नुहोस्। हतियारले बिच्काँउन जानेर मात्रै पुग्दैन। बन्द गरेर होइन खुल्ला राखेरै आत्मनिर्भरताको देश बनाउनुस्।
मलाई यसले साँच्चै पीडा बोध गरायो। आफ्ना दाजुभाई मारिनुमा छिमेकिलाई दोष दिउ कि आफ्नो पक्षको जिम्मेवारी हेरौँ । तपाईं नेतृत्वको माओवादीले भारतीय राष्ट्रपति नेपालमा रहेको सन्दर्भमा पाकिस्तान युद्वमा गोर्खा सैनिक प्रयोग नगर्न भारतसँग एउटा माग गरेको थियो। उताको सुविधाभोग गरेर त्यो देशको रक्षामा ज्यान अर्पने सपथ खाएका गोर्खा सैनिकलाई भारतले आफ्नो आवश्यकता अनुरुप जोखिमपूर्ण क्षेत्रमा लगाएको छ।
मलाई लाग्दैन कि भारतले सेवा सुविधा दिएर सीमा रक्षामा सेना प्रयोग गर्नु अस्वभाविक हो। जुनसुकै देशका भए पनि सेनामा ज्यान हत्केलामा राखेर लड्ने नै हो। कमरेड! मागको नाममा जे जसरि पनि राखेर जनताका अगाडि नायक बन्ने दिन अब होईन र आफ्नो कमजोरीलाई पनि सँधै भारतीय देखाएर पार्टी चल्ने जमाना अलिक पुरानै भैसकेको हो।
ऊ बेलामा सर्वहाराको मुक्तिका नाममा नेपालीलाई जनसेनामा भर्ना गरेर मर्न लगाँउदाका वास्तविक अपेक्षा पूरा भएनन्। त्यही तत्कालीन पार्टीको नेतृत्व सरकारमा र त्यसकै टुक्रा टुक्रा सडकमा विरोध गरिरहेको वर्तमान अवस्था छ।
सँधै हतियार क्रान्तिका नाममात्रले देशको मुक्ति सम्भव पक्कै छैनन्। प्रत्येक क्रान्तिका चरण पूरा भएपछि सम्वृद्धिको चरण सुरु हुने गर्छन्। यही सम्वृद्धिका सपना लिएर यसअघि पनि लडिएकै हो। अब लडाउन खोज्नुभएकालाई युद्वमा जा भन्ने कि नभन्ने? हो अर्काको देशमा गोलि खाएर मर्ने रहर कसैलाई छैन।
विदेशीले सेनामा भर्ना लिनुमा नेपालीलाई आज बहादुर यही मानेमा लिईन्छ वफादार र वहादुर भनेर फुर्काईन्छ। मर्न र मार्न लगाईन्छ। कारण उही गरिबी र परनिर्भरता हुन्। यी सबको ईतिहास छ। इतिहासका प्रत्येक गल्तीको सजाय भोग्नेमा त्यही सर्वाहारा पर्छन्।
त्यही इतिहासका गल्ती सच्याउने नाममा तपाईँको सदावहार क्रान्तिकारी छवि पनि दाउमा नपरोस्। जसका लागि रगतको साटो पसिना वग्ने नौलो क्रान्तिको देश वनाउने अठोट र नेतृत्व गर्नुहोस् त्यति हो जनअपेक्षा, हतियार हामीलाई फेरि देख्ने रहर होइन।बन्द र चक्काजाममा रोकिएर हजार माईलको दुरी पार गर्न अवेला गर्नु अब छैन।
अन्त्यमा ,तपाईंकै रचनाको सम्झनामा आईरहने एउटा गीत तपाईँलाई नै मनन गर्न सुझाव दिन मन लाग्यो,
कस्ले बनायो दाजै उडिजाने बस?
हाम्रो देशै उडायो ,हाम्रो शाखै उडायो!
हरर उडेर नजाउ न है....
नवनाइ कहाँ हुन्छ आफ्नै देशलाई!!
हेपाईको मरण के लानु छ र दुई पैसा जोडेर..
देश विझेको यस गीतमा तपाईंका सपनाका यी रूपलाई मुर्त रुप दिन नेपाल बन्द र यस्ता कार्यक्रम जहिल्यै पनि वाधक हुज भन्न चाहन्छु। कमरेड!तपाईंकै नेतृत्वमा देश कायापलट होस भन्छु तर नेपाललाई खुल्ला राखेर मात्र त्यो सम्भव छ बन्द गरेर होइन।
तपाईंको शुभचिन्तक
केशव प्रसाद पाण्डे