सोमबार, असोज १७ गतेको कुरा हो।
छिमेकी कोठाकी बहिनी सौरभीसँग बसेर टिभि हेर्दै थिएँ। उनीहरू भोलिपल्ट दशैं मनाउन घर जाने भएकाले तयारी गर्दै थिए।
घरबेटी भाउजू कोठामा पस्नु भयो। दसैंमा घर जाने कुरा चल्न थाल्यो।
'उमाचाहिँ कहिले जाने त घर?' उहाँले सोध्नुभयो।
मैले जवाफ फर्काएँ, 'म जादिनँ जस्तो छ भाउजू।'
'किन नजाने नि?'
'अफिसमा बिदा नमिल्ला जस्तो छ।'
सुशीला भाउजू जोसिँदै भन्नुभयो, “कस्तो खालको के अफिस! त्यस्तो ठूलो दशसैंमा नि घर नजानी रे ! कस्तो आफ्नो घर जान पनि मन नलागेको होला?'
उहाँ यतिमा रोकिनु भएन, 'पोहोर पनि गइनौ क्यारे, तिम्लाइ त जान मनै लाग्दो रहेनछ, के के न जस्तो काम गर्ने।'
मैले प्रतिवाद गर्नै पर्ने भयो, 'भाउजू तपाईंको जस्तो सरकारी मेरो जागिर होइन मेरफ। चाडपर्वमा तपाईंको बिदा भइहाल्छ। तर, चाडवपर्व नै भएपनि समाचार त दिनै पर्यो नि। रेडियो टिभि पनि बन्द भयो भने त तपाईंहररुको दसैं पनि खल्लो होला नि त।'
'दसैंमा काम गरेर कमाउन बसेकी तेसो भए?'
मनै अमिलो भयो। मैले बोल्नै सकिनँ अर्को शब्द। नेपाली मिडियमा दसैंमा ड्युटी गरेबापत के नै पो कमाइ हुन्छ र घरै नजानलाई। बाध्यता र कर्तव्यबोधका कारण नै हामी दसैंमा घर जाने चाहना लुकाएर बसेका हुन्छौं।
सौरभीकी सानिमा सुमित्राले भाउजूलाई सम्झाउन् खोज्नुभयो, 'रेडियोमा लाइभ बोलिराख्नुपर्छ त्यही भएर बिदा नमिलेको होला। गाह्रै हुन्छ नि मिडियामा पनि।'
'कहाँ तेस्तो हुनु, सप्पै रेकर्ड गरेको हुन्छ रे। यिनको त घर जान मन नभएर पो।' भाउजूले उहाँको कुरा पनि पत्याउनु भएन।
गाउँमा मेरो पनि सानो घर छ। परिवार छ। आफन्त छरछिमेक छन्। यी सबैको सम्झना मलाई पनि आउँछ। घर मास्तिर लटरम्म जुनार पाक्न थालेका छन्। बारीमा कोदो, फापर, तिल, गहत, मस्याङ झुलिरहेको छ। खेतमा धान लहलह भएको छ। यो सहर दसैंमा सुनसान हुँदा मेरो गाउँ राजधानीबाट गएका आफन्तले भरिएर रङ्गीचङ्गी भएर गुञ्जिएको छ। लिङ्गे पिङले सजिएको छ यतिबेला मेरो गाउँ।
चाडपर्वमा घर नजाँदा मेरी आमालाई पनि खपिनसक्नु पीर त पर्दो हो। बुबा पनि पहिले पत्रकार भएकाले उहाँलाई सबै कुरा थाहा छ। मनको पीर मनैमा राख्नुहुन्छ। आमालाई पत्रकारको काम कस्तो हुन्छ भनेर सबै थाहा भएकाले धेरै सम्झाउनु पर्दैन ।
पत्रिका केही दिनका लागि बन्द भए पनि त्यसमा काम गर्ने पत्रकारले आफू जस्तो ठाउँमा पुगेपनि समाचार बनाएकै हुन्छ। अनलाइनमा काम गर्ने पत्रकारले जहाँ बसेपनि समाचार बनाइरहेकै हुन्छ। अझ रेडियो र टेलिभिजनमा भने प्रत्यक्ष बोल्नुपर्ने हुन्छ, त्यो पनि घण्टैपिच्छे।
दसैंमा समाचार पनि खास हुँदैनन्, तर समयभरी समाचार त दिनै पर्छ। अरूले मनाएको दसैंको समाचार पढ्दै मन अमिलो बनाउनु पर्छ। त्यसमै रमाउँदै सकिन्छ पत्रकारको दसैं।