सानो छदाँ केही नराम्रो काम गर्न लाग्दा सतर्क गराउन हरेक कुरासँग जोडेर पाप लाग्छ, यसो गर्न हुन्न भनेर सम्झाउनु हुन्थ्यो आमाले। हो त्यही पाप लाग्छ भन्ने डरले पनि कति गल्तीहरु गरिएन होला आजसम्म आइपुग्दा। तर, आज आएर स्मरण गर्छु ती बच्चा बेलाका घटनाहरु।
एक दिन मेरी साथीको दिदी बिरामी हुनुहुन्थ्यो। उहाँलाई पेट दुखेको रे भन्दै थिइन् साथीले। हामी खेल्दै थियौं। आगनमा अचानक भित्रबाट आवाज आयो ‘तँलाई भान्सामा नजा भनेको होइनरु भित्र बुबा भात खाँदै हुनुहुन्छ देख्दिनस्रु बुबालाई त के केही खानेकुरा पनि छुन हुन्न तैंलेरु तैले जान्ने हुनु परेको छैन। यहाँ बाहिर भुइँमा बस् म त्यही भात ल्याइदिन्छु।
पूजा कोठातिर त जाँदै नजानू देउताले सराप्छन्। पाप लाग्छ त्यसो गर्नु हुन्न।’ त्यस दिन मनमनै सोचिरहें यिनीहरुकी कस्ती आमा बिरामी भएका बेला पनि कसैले गाली गर्छन् भनेर। बाहिर राखेर भुइँमा बसाएर भात दिन्छन्। अनि अझ झन् देउतालाई सम्झिँदा पनि पाप लाग्छ रे। हिजोसम्म त्यही पानी चढाएर पूजा गर्दा खुसी हुने भगवानले आज चैं किन सराप्नुरु पछि बुझें उहाँलाई महिनावारी भएको रहेछ।
हाम्रो देशको पश्चिमी भेगमा छाउपडी प्रथाको व्यापकता अझै पनि छ। दिदीबहिनीहरु महिनावारीको समयमा छाउमा कष्टकर दिन काट्न बाध्य छन्। छाउमा बस्दा के कस्ता शारीरिक तथा मानसिक समस्या भोग्नु पर्छ भनेर त भनिरहनु नपर्ला। तर, समग्रमा के मुलुकका अन्य भेग चाहिँ यस्ता प्रथाहरुबाट अछुतो छन् तरु छाउपडी एउटा नाम मात्र फरक हो। महिनावारीको बहानामा महिलाले भोग्ने कठिनाइहरु तिनै हुन्। मात्र अवस्था वा आचरण फेरिएको होला। महिनावारी हुँदा छोरीले छोएको पानी चल्दैन, भान्सा चल्दैन, ओछ्यान चल्दैन, घरभित्रै एक्लिन्छ मान्छे अनि भोक लाग्दा आफैंले छोएको खानेकुरा नचलेर छिमेकी गुहार्नुपर्ने अवस्था पश्चिमी भेगमा मात्र हैन, सबैतिर छ।
महिनावारी एउटा शारीरिक, प्राकृतिक प्रक्रिया हो, जुन चक्रबिना कोही आमा बन्न सक्दैनन् र यो कुनै नौलो विषय पनि हैन। यही क्रममा महिलाले शारीरिक रुपमा पाउने पीडा त छँदै छ, त्यसमाथि अझै पीडा थपेको छ हामीले मान्ने अन्धविश्वासले।
घाममा हिँड्दा शरीरबाट आउने पसिना, रुघा लागेको बेला नाकबाट बग्ने पानीभन्दा फरक लाग्दैन महिनावारी हुँदा बग्ने रगत। भलै यसको महत्व कैयौँ गुणा बढी छ अनि पीडा पनि ज्यादा। जुन न त रोकेर रोक्न सकिन्छ, न त नकार्न नै सकिन्छ। तर, यसमा के त्यस्तो कारण छ जसले महिलाको शरीरलाई अछुतो बनाइदिन्छरु पानी नचल्ने बनाइदिन्छरु खानेकुरा नचल्ने बनाइदिन्छरु आफ्नै शरीरले छोएको नचल्ने बनाइदिन्छरु आफूले पुज्ने देउता नचल्ने बनाइदिन्छरु अहँ, म तयार छैन आफूले आफैंलाई अछुतो मान्न।
महिनावारी हुँदा लामा साथीहरु गुम्बा गएर पूजा गर्छन्, यशु मान्ने क्रिश्चियन साथीहरु चर्च जान्छन्। अनि हामीलाई चाहिँ किन पाप लाग्नेरु आफूले आफैंलाई अछुतो मानेर खानेबेलामा पनि अरुको आस किन गर्नु पर्नेरु जवाफबिनाका प्रश्नहरु हुन् यी। मैले प्रकृतिले दिएको उपहारलाई नकार्न सक्दिनँ अनि मैले भगवानप्रतिको विश्वासलाई यति सानो सोचमा सीमित गर्न सक्दिनँ। म आत्मादेखि देउता मान्छु, मेरो शरीरमा हुने परिवर्तनलाई आधार बनाएर मप्रति हुने कृपा फरक पर्छ भने मलाई स्वीकार छ र मलाई कुनै आपत्ति छैन।