नेपालमा पछिल्लो समय अलि चर्कै स्वरमा राष्ट्रवादी र राष्ट्रघातीको सूची तयार गर्नेहरुको भीड बढ्न थालेको छ। अहिले राज्यको ढुकुटीबाट सात पुस्तालाई पुग्ने गरी कुम्ल्याएका मानिसहरुमा अलि बढी नै राष्ट्रवादी हुने जोश चढेजस्तो देखिन्छ। ओली जीहरुलाई मैमात्र देशभक्त हुँँ, मै अमरसिंह हुँ, मै बलभद्र हुँ, भन्ने भ्रम छ।
साँच्चै यो देशमा राष्ट्रवादी को हो? सत्तामा पुगेर तर मारेर, जीवन उजिल्याउनेहरु कि रोग, भोक, अभाव, भेदभाव भोगेर, सिटामोलसमेत राज्यबाट नपाएर पनि देशभित्र उभिएका जनता? अरबको धूपमा बालुवा चालेर रेमिट्यान्स पठाउने पीडित मजदुर कि तिनको जीवनलाई नरक कोठरीको यात्रा बनाउन सत्ताको चाँबी मुठ्याएर बसेका शासक वर्गहरु? टाउकोमा नाम्लोको डाम बसाएर खलखली पसिना बगाउँदै भारी बोक्ने भरिया कि तिनलाई चुसेर मोटाएका नवधनाढेहरु?
गरिखाने भुइँका मानिसहरु कि तिनको पसिना र मेहनत चुसेर राज्य कोषबाट करोडौं रकम लिएर विदेशी अस्पताल शयर शासक वर्गहरु? को हो राष्ट्रवादी? को हो देशभक्त? के हो राष्ट्रवादी हुने मापदण्ड? को हो राष्ट्रवादीको सर्टिफिकेट बाँड्दै हिँड्ने परीक्षानियन्त्रक? र, को हो राष्ट्रघाती? सत्तामा बसेर देशको मन्दिर, वन्यजन्तु, जवाहरत र सम्पति विदेश पुर्याउने, यो देशलाई चुसेर खोस्टा बनाउने को हो? को होे राष्ट्रघाती?
गरिब जनताले तिरेको करको रकममा क्रुर भ्रष्टाचार गरेर जीवन सुधार्नेहरु कि सीमामा बसेर एसएसबीको लाती, लाठी र अपमानको भुक्तमान ब्यहोरेर बदलामा अलिकति सहानुभूति पनि नपाउने मधेसका देवनारायणहरु? महाराजको पदवी भिरेर शताब्दीऔंदेखि देशलाई लुटिखानेहरु कि असिमपीडा बेहोरेर बाँचेको सुदुर पहाडको सोझा जनता? लाखौंलाख युवाहरुलाई अरबको खाडीदेखि फोकल्याण्डको टापुसम्म पठाएर, आफ्नो देशको नागरिक विदेशीलाई बेचेर त्यसबापत आएको हण्डी खाएर मोटाउनेहरु ? के तिनै हुन् राष्ट्रवादी?
अब आफ्ना आसेपासेहरुलाई मात्र राष्ट्रवादी देख्ने र अरुलाई राष्ट्रघाती देख्न गरिब मानसिकता आजबाटै छाडौं। देश अधिकार माग्ने जनतालाई सत्तोसराप गरेर बलियो हुँदैन। जनतालाई अधिकार सम्पन्न बनाएर, सिंहदरबारमा च्यापिएर बसेको अधिकारलाई जनतासम्म पुर्याउन सकेमात्र देश बलियो हुन्छ। अतः निरीह जनताहरुमाथि रजाइँ गरेर राष्ट्रवादी बनिन्न। जनद्रोही बनिन्छ। सबै नेताहरुलाई चेतना भया।