नेपालको सप्तरी जिल्लासँगै सीमा जोडिएको कुनौलीमा भारतीय पक्षले एकतर्फीरुपमा बनाएको बाँधले नेपालतर्फको आधा दर्जन गाविस जलमग्न भएपछि सप्तरीबासीहरुले उक्त बाँधलाई भत्काइ दिए। सप्तरी जिल्लास्थित दशगजामा भारतले निर्माण गरेको एकतर्फी बाँधका कारण डुबानमा पर्ने भएपछि सप्तरीवासी जनताबाट भएको सशक्त प्रतिकार नेपालमा पहिलो र नौलो घटना भयो।
हुनत भारतले वर्षौँदेखि दशगजा क्षेत्रमा एकतर्फी रुपमा जबर्जस्ती निर्माण गर्दै आइरहेका तटबन्ध, बाँध र सडकहरु गैरकानूनी, अनुचित र अपराधजन्य छन्। हाम्रो मौनताकै कारण हो सप्तरीको बाँध निर्माण। यस्तै मौनताकै कारण थियो नेपालसँग कुनै सम्पर्कसमेत नगरी भारत र चीनले नेपालीभूमि लिपुलेकमाथि गरेको कथित सम्झौता। अन्तराष्ट्रिय कानून अनुसार कुनै एक राष्ट्रले सीमाबाट पानी निकास हुने कुनै क्षेत्रमा गर्न चाहेका निर्माण कार्य तथा संरचनाका बारेमा अर्को सम्बन्धित राष्ट्रलाई अग्रिम जानकारी दिनुपर्दछ। अन्तर्राष्ट्रिय कानुन अनुसार दुई राष्ट्रहरुबीचको अग्रिम सहमतिविना सीमा क्षेत्रमा अर्को राष्ट्रमाथि गम्भीर असर पर्ने गरी कुनै पनि कार्य गर्न पाइँदैन। भारतले लामो समयदेखि सीमा क्षेत्रमा गरेका यस्ता भौतिक संरचना निर्माणसम्बन्धी कार्यहरू स्वतः अन्तर्राष्ट्रिय कानूनविपरीत छन्। भारतका यस्ता गैरकानूनी कार्यहरूका कारण उत्पन्न सम्पूर्ण नोक्सानीको उचित क्षतिपूर्ति अब उसलाई तिराउनै पर्छ।
सीमामा भारतको यस्तो हेपाहा प्रवृत्ति छ। काठमाडौँको राज्यसत्ता बस्नेहरु सँधै यो वा त्यो वाहानामा भारतप्रति लम्पसार छन्। उता जनता बाध्य भएर भारतीय ज्यादतीको सशक्त प्रतिकारमा उत्रिरहेका छन्। तसर्थ नेपाल सरकारले बेलैमा भारत सरकारका तर्फबाट दशगजा तथा सीमाक्षेत्रमा भइरहेका कुनै पनि भौतिक संरचना निर्माणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल बन्द गरोस्। नेपाली भूभागमाथि गम्भीर असर पर्ने गरी एकतर्फीरुपमा विगतमा निर्माण गरिएका सम्पूर्ण संरचनाहरुको तत्काल अनुचित सञ्चालन बन्द गरोस र नेपाल सरकारले तत्काल भारत सरकारसँग वार्ताको थालनी गरी प्रचलित अन्तर्राष्ट्रिय कानूनका मापदण्डअनुरुप तत्काल द्विपक्षीय सम्झौताको पहल गरोस् तथा त्यस्तो सम्झौता सम्पन्न नभएसम्म एकअर्कामाथि प्रतिकूल असर पर्नेगरी सीमा जलक्षेत्रमा कुनै पनि निर्माण कार्य नगर्ने नगराउने बाध्यकारी घोषणा गरोस्।
स्मरण रहोस् सप्तरीवासी जनताको यस न्यायोचित प्रतिकारको समर्थनमा अन्तर्राष्ट्रिय तहसम्म प्रचारप्रसार गर्ने र भारतको यस जलदादागिरीका विरुद्ध विश्वजनमत सिजर्ना गर्ने कार्यमा सरकार पछि नहटोस्। भारतीय पक्षको लाठी प्रहारबाट घाइते सप्तरीबासीहरु भारतीय थिचोमिचो सहँदै भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको छन्। यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारतीय’ र ‘विहारी’ भनेको सुन्दा मन दुख्ने गरेको घाइते सप्तरीबासीले गुनासो छ। ‘उनीहरुलाई सुरक्षा नदिने, समस्या नसुनिदिने अनि मधेसीहरु भारतीय नागरिक हुन्, बिहारबाट आएका हुन, भारतका चम्चा भनि सामाजिक संजालका पाना भर्ने अनि चीन गएर लिपुलेकबारे एक शब्द नबोल्ने कार्यकर्ता लगाएर सामाजिक सञ्जालमा राष्ट्रवादी र राजनेता कहलाउन खप्पीस हाम्रा नेता राष्ट्रवादी कि भारतीयले सीमामा बनाएको बाँध भत्काएर प्रतिकार गरी चार घण्टा लड्ने ति सप्तरीबासी राष्ट्रवादी?