कलियुगमा मानिसहरुले गर्न सक्ने सबै किसिमका पाप गर्छन् भनेर त्रेतायुगमै नारद ऋषिले ब्रह्मासँग गरेको वार्तालापलाई रामायणमै स्पष्ट उल्लेख गरिएको छ। जस्तो कि प्राय: सबै मानिस आफ्नो काम बनाउन धेरै झुट बोल्ने, हत्या हिंसा गर्ने, व्यभिचारी हुने, अर्काको धन सम्पत्ति हडप्न कुनै कसुर बाँकी नराख्ने, धर्म छाड्ने, अन्याय गर्ने, पैसाको लोभमा हरेक दुश्कर्म गर्ने, आदि।
वर्तमान परिप्रेक्षमा नेपालमा पनि केही अपवादलाई छाडेर मानिसहरुमा अझ भनौं राजनीतिक नेतृत्वमा साँच्चिकै कलियुग आएको छ। यसको ज्वलन्त उदाहरण भनेको हरेक जनतालाई सर्वसुलभ स्वास्थ्य शिक्षाको पहुँच होस्, चिकित्सा शास्त्रजस्तो संवेदनशील क्षेत्र पैसाको बलमा भन्दा पनि दक्षताको आधारमा अगाडि बढोस्, स्वास्थ्य क्षेत्रमा हुनेखानेलाई मात्र होइन, हुँदा खानेलाई पनि उत्तिकै अवसर मिलोस् भनेर जनहितको पक्षमा एउटा साधुजस्तो चिकित्सक एक पटक होइन, दुई पटक होइन, ८/८ पटक आफ्नो ज्यानलाई दाउमा राखेर अनसन बस्दासमेत उसको माग पूरा गर्न राजनीति नेतृत्व उदासिन देखिनु हो।
विगतमा पनि डा. केसीका मागमा सरकारले धेरै आलटाल गर्ने, अनसनको समय लम्बिएर उनका समर्थकहरुले आन्दोलन घोषणा गरेपछि मात्र केसीसँग सम्झौता गर्ने, तर कहिल्यै सम्झौताको कार्यान्वयन नगर्ने सरकारी रबैया देखिएकै हो, तर यसपटक अनसनको १० औं दिन बितिसक्दा समेत सरकारबाट उनको मागका बारेमा कुनै प्रतिक्रिया नजनाइनुले के पुष्टि गर्छ भने सरकार डा. केसीलाई चुपचाप मार्न चाहन्छ। हुन त नेपालमै यस्ता धेरै घटना घटिसकेका छन् जसले हामी जनहित, निष्ठा र न्यायमा कति पछाडि छौं भन्ने पुष्टि गर्छन्। जस्तो समयमा उपचार नपाएर सरकारी सेवामा कार्यरत डा. चित्र वाग्लेले संसार त्यागे, अनसनमै नन्दप्रसादको प्राण अन्त भो। तसर्थ, यदि अनसन बसेरै केसीको पनि मृत्यु भएमा सरकारलाई कुनै नौलो हुने छैन। किनकि, हामीले निष्ठा र इमानको राजनीति भुलिसकेका छौं।
नेताहरुले कहिल्यै दुर-दराजका जनताका बारेमा सोचेनन्। जनता यहाँ भोकमरीले मरिरहेछन्, स्वास्थ्य सेवा नपाएर मर्नु त नेताहरुका लागि सामान्य नै हो। उनीहरुका सन्तान प्राय: विदेशमा बस्छन्, उतै पढ्छन्। अनि नेताहरुलाई टाउको दुख्यो कि विदेश नै हानिन्छन्। त्यसैले, गरिब जनताको पक्षमा आवाज उठाउने केसीलाई उनीहरु हाँसोको पात्र बनाउँछन् र उनका मागहरुप्रति पूरै बेवास्ता गर्छन्।
विगतमा पनि केसीलाई धेरै तड्पाएपछि सम्झौता गर्ने तर उनका माग पूरा गर्न कहिल्यै अग्रसर नहुने, अझ भनौं सम्झौता विपरीत कार्य गर्ने सरकारी कदम देखिएकै हो। तर, कमसेकम केसीका मागमा सरकार अलि लचिलो भएर प्रस्तुत भएको थियो। यसपालि त न सरकार, न कुनै राजनीतिक नेतृत्वले केसीका मागका बारेमा मुख खोलेको सुनिएको छ। केसीप्रति सरकार र उनका विरोधी मेडिकल माफियाहरु त लागेकै छन् तर अस्पताल प्रशासनले समेत यो पटक केसीलाई अत्यन्तै अमानवीय व्यवहार देखाएको छ।
केसीलाई अनसनको लागि कोठा नदिनु, स्लाइन दिनको लागि नर्सहरुलाई केसीसम्म जान नदिनु, बेड उपलब्ध नगराउनु तथा न्यूनतम स्वास्थ्य सेवासमेत उपलब्ध गराउन हिच्किचाउनु अस्पताल प्रशाशनको चरम लापरबाही हो।
यसपटक केसीको विरुद्धमा जताततैबाट व्यापक प्रचार गरिनुको मुख्य कारण हो, उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्छ भनेर राखेको माग। नेपालमा हरेक राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म छन्। केही अपवादलाई छाडेर हरेकजस्तो सांसदले कुनै न कुनै रुपमा भ्रष्टाचार गरेकै छन्। अनि निजी मेडिकल कलेज, तिनका संस्थापकहरु समेत यसबाट अछुतो छैनन्। अनि कसले साहस गरुन् लोकमानको विरुद्ध औंला ठड्याउन? यही परिस्थितिलाई आत्मसात गर्दै लोकमान निष्फिक्री साँढेझैँ उफ़्रिरहेछन्, गर्जिरहेछन्। अनि आफ्नो मर्यादा समेत भुलेर आफूले गर्ने नहुने काममा समेत हात हाली आफैं अख्तियार दुरुपयोग गरिरहेछन्, उनलाई रोक्ने को? यसरी चारतिरबाट केसीका विरुद्ध प्रहार भइरहेको छ।
तर, अब पनि हामी सर्वधारण जनताहरु हेरेरै मात्र बस्ने हो भने केही दिनपछि केसीको ज्यान जाने निश्चित छ। किनकि केसी त ‘पागल’ हुन्। उनी न्याय र निष्ठाको लागि आफ्नो ज्यानलाई तिलाञ्जली दिन पछि पर्दैनन्। तर, केसी बाँचे भने र उनका माग पूरा भए पनि भोलि कसैले पैसा नभएकै कारण मेडिकल शिक्षाबाट बन्चित हुन पर्दैन। हामीले भगवान ठान्ने डाक्टरहरु दक्षता भएरै डाक्टर भएका हुनेछन्, प्रमाणपत्र किनेर होइन। त्यतिमात्र होइन, दुर-दराजका जनताले समेत सर्वसुलभ स्वास्थ्य सेवा पाउनेछन्। सामान्य झाडापखालाबाट कसैले ज्यान गुमाउन पर्नेछैन। तर, यसका लागि हामी जनताले फेरि एकपटक केसीलाई साथ दिनु जरुरी छ।
केसीले राखेका माग तमाम गरिब नेपाली जनताका पक्षमा छन्, यी माग हाम्रा माग हुन्, केसीका होइनन्। किनकि केसी यदि ‘सज्जन’ हुन्थे भने आफ्नो परिवार नभएका, आफूले कमाएको सबै सम्पत्ति गरिब जनताको स्वास्थ्यमा खर्च गर्ने बानी परेका उनले आफूले केही नपाउने अवस्थामा आफ्नो ज्यानको बाजी राखेर यसरी अनसन बस्ने थिएनन्। उनी ‘पागलै’ हुन्, तर उनको यो ‘पागल’पन सबै ‘हुँदा खाने’ नेपाली जनताको पक्षमा छ। तसर्थ, मेरो बिन्ती छ, आउनुस् हामी सबै अन्तिमपटक आन्दोलन गरौं। केसीका माग पूरा गर्न दबाब दिऔं।