नेपाली राजनीति अचम्मको छ–नेताले बोलेको पुष्टि फेरि कहिल्यै गर्नुपर्दैन। उनीहरु बोल्दै जान्छन् भन्दै जान्छन्, सपना बाँडिनै रहन्छन्। हामी नेपालीहरु छिटो विश्वास गर्छौं र पहिलाको कुरा बिर्सिहाल्छौं। के महाकाली सन्धि राष्ट्रघाती होइन? यो सन्धिका प्रवर्तक अहिलेका राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली होइनन्। महाकाली सन्धिको पक्षमा सबैभन्दा ठूलो ‘त्याग’ कसैले गरेको थियो भने यिनैले गरेका थिए।
तर अचम्मछ–नेताले बोलेको पुष्टि फेरि कहिल्यै गर्नुपर्दैन। ओलीले महाकालीको बारे फेरि कहिल्यै बोलेनन्। अझ भनौं, उनलाई बोल्नुपरेन। उतिबेलाका ‘राष्ट्रघाती’ ओली अहिले रातारात राष्ट्रवादी भए। राष्ट्रवादको श्रीपेच टाउकोमा गुथेपछि यिनले जनताको अनगिन्ती माया पाए। कोशी, गण्डक र महाकाली सन्धिजस्ता राष्ट्रघाती सन्धिका विपक्षमा ओली कहिल्यै बोलेनन्। भारतीय सुरक्षाबल नेपालको भूगोलमा पसेर दिनहुँँजसो हाम्रो राष्ट्रवादलाई चुनौती दिँदा ओली उग्राइरहे। कालापानी र सुस्तामा भारतीय विस्तारवादले फौजी क्याम्प खडा गरेर बस्दा यिनको राष्ट्रवाद कता थियो? त्यो पनि थाहा पाइएन।
देशको सीमा हजारौं स्थानमा मिचिएका छन्–ओली बेखबर जस्तै छन्। अचम्म–ओली यस्तै भएपनि उग्रराष्ट्रवादी भएका छन्। संविधान कार्यान्वयन गर्ने कार्यकारी जिम्मेवारी पाएका ओलीले ‘संघीयता लागू गर्न खोजे जनताले खारेज गर्ने’ भनेर आफ्नो असली नियत बोले भन्दा अतियुक्ति हुँदैन। यो अभिव्यक्ति ओलीको अन्तरमन थियो। किनकी ओली पछिल्लो परिवर्तनको पक्षमा कहिल्यै उभिएनन्। यिनै ओली हुन ०६२÷०६३ को आन्दोलनलाई उल्टो खिसिगरेर आन्दोलनको सफलता भनेको ठेलागाढा चढेर अमेरिका जानु जस्तै हो भन्थे। यो परिवर्तित अग्रगमनमा ओलीको उदासिनताबाहेक कुनै देन छैन। यो टिप्पणी ‘ओली गफ र राष्ट्रवाद’ मा मदहोश भएकाहरु प्रति हो। ओली प्रधानमन्त्री भएपछि के गरे? प्रधानमन्त्री भइसकेपछि ओलीका मुख्य तीन जिम्मेवारी थिए।
नयाँ संविधानको कार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण तथा राहत र संविधानमा असहमत मुख्यतः मधेसी मोर्चा तथा अन्यलाई सहमतिमा ल्याउँदै संविधान कार्यान्वयनको थालनी गर्नु। ओली यी तीन मुख्य जिम्मेवारीमा असफल मात्रै छैनन् पुर्णतः उदासिन छन्। ओली अहिलेका यी तत्कालिन एजेण्डा र मुख्य जिम्मेवारीबाट भागिरहेका छन्। हो, यहीँनेर ओलीको परिवर्तनप्रतिको उदासिनता र स्वार्थमा केन्द्रित ‘ओली राष्ट्रवाद’काबीच प्रश्न खडा हुन्छ हो, केही काम भए। ओलीले बजेटमा केही नयाँ कुरा ल्याएका छन् । चीनसँग पारवहन सम्झौता भयो। केरुङ, काठमाडौं, पोखरा, लुम्बिनी रेलको एजेण्डा हाम्रो होइन–चीनको हो। तर राम्रो भयो। ओली मुख्य काम र जिम्मेवारी छाडेर सपनाको कुम्लो बोकेर सोझा जनतालाई भ्रम बाँड्न माहिर छन्। ओली जनता हाँसेको या रोएको पत्तो पाउँदैनन्।
पुनःनिर्माण बेलैमा नहुँदा लाखौं घरवारविहीनहरुले अत्महत्या गर्नुपर्ने अवस्था आउँछ भन्नेप्रति ओली बेखबर छन् या उदासिन? ओलीले सपना देख्न पाउँदैनन–यसो भन्न खोजेको होइन। तर, संक्रमणकालमा रहेको मुलुकको एक कार्यकारीलाई गफाडी बन्ने छुट छैन। योे सपना होइन, ओली गफ हो। गफसँग मुलुक विकासको कुनै साइनो हुँदैन। भूकम्पले घरको जरो उखेलेको छ। पीडितलाई टिनको टहरो चाहियो। टहरो बनाउन उदासिन ओली पानीजहाज किन्ने भन्छन्। हामी सस्तो या महंगो, पेट्रोलपम्पमा तेल नपाएर साधन थन्क्याउन नपरे हुन्थ्यो भन्छौं, ओली भने २ वर्षमा तेलको खानी चलाउँछु भन्छन्।
भान्सामा एक सिलिण्डर ग्याँस चाहिएको छ–ओली घरघरमा ग्याँस पाइप जोड्छु भनेर हाम्रो भान्सामा ‘हाँसोको बहार गराउँछन्। वर्षामा राजधानीको सडकमा हाम्रा सवारी साधन नडुबे र बटुवालाई हिलाम्य नबनाए हुन्थ्यो, जे छ त्यसमा जाममा नपरी यात्रा गर्नुपाए हुन्थ्यो–ओलीको मेट्रो बस कहिले चढ्नु? हावाबाट आउने बिजुली एक वर्षमा छेलोखेलो चाहिएको छैन–लोडसेडिङको तालिका अनुसारै सहि, बत्ति आए हुन्थ्यो। ओली राष्ट्रको यो अवस्थाप्रति चिन्तित थिए भने असफल राष्ट्रका रुपमा घोषणा मात्रै नभएको मुलुकको अर्थ अवस्था सुधार्न पहल गर्नुपर्ने हाइन र? अहिले सुनिन्छ ओली महान हुन्। ओलीले उत्पातै गरे। ओलीलाई काम गर्न नदिने षड्यन्त्र हुँदैछ। यो सरकार ढाले पाप लाग्छ। हाँसो उठ्छ। किन लाग्ने हो पाप? ओली के भएर महान भएका हुन्? ओलीले के गरे? के–के गरे भन्ने कुनै काम गरेको प्रमाण छ ?