‘मानिसका अनेकौं इच्छा र आकांक्षाहरु’ – भन्दै आउँछिन् मिथिला शर्मा। अनि देखिन्छन् निर शाह! निर शाह भन्छन्–‘रुमलिएका सपनाहरु बीचको बदलिंदो स्वरुप’। अनि थप्छन् मनोज गजुरेल –‘नयाँ इतिहाँस, रच्ने दरिलो संकल्प’। मुस्कुराउँदै झरना ब्रजाचार्य भन्छिन्,– ‘सिमीतताबाट माथि उठ्ने प्रतिज्ञा’। दरिलो शैलिमा सागर थापा थप्छन्– ‘मेहेनेती हात र लगनशिलताको नमुना’। अनि थप्छन्, सुरज सिंह ठकुरी –‘टाढा छैन् लक्ष्य अनि अठोटको सामना।’
उही गर्जन शैलीमा राजेश हमाल भन्छन्, –‘यी सबै अठोटहरु हुन्छन् अब पुरा’।
पृष्ठमूमिमा ‘मारुती सिमेन्ट’ भन्दै आवाज आउँछ।
अनि एकै साथ सबैले भन्छन्, ‘हामी बनाउँदैछौं नेपाललाई!’
यो एउटा मारुती सिमेन्टको विज्ञापन हो। यहाँ नेपाललाई साँच्चिकै बनाउने कुरा भैरहेको हुँदैन्। न त मारुती सिमेन्टले जिम्मा नै लिएको छ। यहाँ त बस्, सिमेन्टको प्रचार गरिएको छ र भनिएको छ,–‘हामी बनाउँदैछौ नेपाललाई।’ मारुती सिमेन्टले नेपाललाई बनाउँछ भनेर पत्याउनु गलत नै हुन्छ। यो त एक विज्ञापनको शैली हो।
यस्तै विज्ञापन जगदम्बा स्टिलले पनि गरेको छ। उसको विज्ञापनको मुख्य शीर्षक,‘राष्ट्र निर्माणमा सर्मपित’ छ। त्यस्तै ‘बलियो नेपाल’ भन्दै सगरमाथा सिमेन्टले पनि आफ्नो विज्ञापन बनाएको छ। अनेकन यस्ता कर्पोरेट संस्थाहरुको विज्ञापनको ब्राण्डिङ स्लोगन यस्तै प्रकृतिका छन्।
यहाँको मनोविज्ञानलाई बुझेर, भावनासँग मेल ख्वाउने गरि विज्ञापन बनाउनु विज्ञापन कम्पनीहरुको धर्म नै हो। मानिसलाई मनोवैज्ञानिक रुपले उत्साहित गराउन वा दबाब दिन यस्ता विज्ञापनको ठूलो भूमीका रहने गरेको छ। यी यस्ता विज्ञापनहरु विभिन्न शैलिमा आ–आफ्नो सिजन अनुसार पत्रपत्रिका, रेडियो अनि टेलिभिजनमा देख्न, सुन्न र पढ्न पाइन्छ। यी यस्ता विज्ञापनहरुले कहिलेकाँही दैनिक प्रकाशित हुने पत्रिकाको मुख्य पृष्ठ नै भरिने पनि गर्दछ।
यस्तै शैलिमा आजको अधिकांश जसो दैनिक पत्रिकाका अग्रपृष्ठ ‘रातो पृष्ठभुमिमा कालो व्यक्तिको तस्बिर (डा.बाबुराम भट्टराई)’ ले भरिएर आयो। त्यो कालो तस्बिरको अलि तल भागमा रातो र सेतो अक्षरले लेखिएको थियो–‘अबको निकास, आर्थिक विकास। समृद्धि छ हाम्रै पालामा।– नयाँ शक्ति नेपाल’।
पानामा देखिएको कालो तस्बिरका डा. बाबुराम भट्टराई कम्युनिष्ट राजनीतिबाट प्रशिक्षित माओवादी आन्दोलनका एक मुख्य हिस्सा थिए। आज उनैको नेतृत्वमा नयाँ शक्तिको घोषणा भइरहेको छ। पाँच स –‘सुशासन/सदाचार, स्वाधीनता/सार्वभौमिकता, समतामुलक समृद्धि, समानुपातिक/सहभागितामुलक लोकतन्त्र र समुन्नत समाजवाद’ लाई मुल कार्यदिशाको रुपमा अगाडि सारेका उनले भड्किलो प्रचारलाई निरुत्साहित गर्दै आर्थिक सुशासन र पारदर्शितालाई एजेन्डा समेत बनाएका छन्। तथापी उनको मिडिया प्रचार शैलीलाई भने चुनावी प्रचारभन्दा पनि महंगो मानिएको छ।
बिहानै उनले सामाजिक सञ्जालमा राखेको नयाँ शक्तिको प्रचार प्रति मानिसहरुले लज्जा व्यक्त गरेका छन्। अधिकांशको सोधाई छ, –‘खर्च कहाँबाट आयो, उत्तर कि दक्षिण?’ विभिन्न कर्पोरेट संस्थाले ब्राण्डिङ सामानको प्रचारका लागि लाखौंको विज्ञापन गरे झैं, ‘नयाँ शक्ति’ पनि कम देखिएको छैन्। उनको नारालाई कतिपय सिमेन्ट तथा स्टीलको विज्ञापनमा प्रयोग हुने स्लोगनको रुपमा मानेका छन्।
विगतको राजनीति र अहिलेको अवस्थालाई हेर्दा भट्टराई पत्याउन मिल्ने नेतृत्व होइनन्। उनको क्षमता र उनीसँग जोडिएका विषयहरु मुद्दा बनेर नराम्रो प्रचारका रुपमा आएका छन्। हजारौंको ज्यान जानेगरि भएको जनयुद्ध प्रतिको उनको पछिल्लो समिक्षालाई विज्ञापनमा राखिएको कालो तस्बिरसँग तुलना गर्न मिल्छ। र, भन्न मिल्छ उनि ‘काला मान्छे’ हुन्। उनको आफूले गरेको काम प्रति जिम्मेवारी बोध छैन्।
सयौं निर्दोषहरुको रगतले लतपतिएको उनको अनुहार। स्वार्थको लागि उद्त हातहरुसँगको साँठगाठ। सत्ताको चरम महत्वकांक्षा। केही संभ्रान्तहरुको सहयोगबाट जन्मेको नयाँ शक्ति र यसको पृष्ठभूमिको कथा। उनले गरेको महंगो प्रचारलाई बिगतले फिका गराउँछ।
छोटो समयमै चलेको नयाँ शक्ति अभियान र यसले गरेको खर्चको तौर तरिकाबारे धेरै प्रश्न उठेका छन्। पछिल्ला दिनमा उनले यसको स्रोत प्रष्ट्याउने कोशिस गर्लान्। साथै विज्ञापनको नारालाई स्थापित गराउने उद्द्त गर्लान्। तथापी मारुती सिमेन्टले ‘हामी बनाउँदैछौं नेपाललाई’ भने झैं कसैले पत्याउने छैनन्। र भन्नेछन् यो यौटा प्रचार हो। प्रचारमा स्प्राइट खाएर बाटो सफा हुन्छ। तर साँच्चिकै बाटो सफा हुँदैन्।
sandeshnews9@gmail.com