आइतबार बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले आफ्नो पार्टीको औपचारिक घोषणा गर्दैछ। जहाँ करिव एक लाख मान्छेको उपस्थिति हुने र अनुमानित खर्च करिव २ करोड हुने खबर बाहिर आएको छ.
नयाँ शक्ति नेपालले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग कुनै भिजन र मिसन नभएको आरोप लगाउँदै भूकम्प पीडितको पुनर्स्थापना लगायतका विषयमा सरकारको गम्भीर आलोचना समेत गरेको छ। आफ्नो पार्टी घोषणा कार्यक्रममा त्यत्रो खर्च गर्न नहिच्कीचाउने नयाँ शक्तिले आफैले पनि भूकम्प पीडितलाई सहयोग गरे हुन्न?
लाखौं जनतालाई भूकम्प पीडितको पुनर्स्थापना, घरबास मर्मत सम्भारमा स्वयंसेवक परिचालन गरे हुन्न? अनि त्यो घोषणा कार्यक्रममा खर्च गर्ने २ करोड भूकम्प पीडितको घर बनाउन खर्च गरे हुन्न? धुर्मुस सुन्तलीले पहरी वस्तीको निर्माणपछि अहिले गिरान्चौर एकीकृत बस्ति निर्माणमा जुटेका छन्।
आफूसंग अत्यन्त कम आर्थिक स्रोत भएका उनीहरुलाई अहिले देश विदेशबाट सहयोग जारी छ जसले गर्दा उनीहरुले भूकम्प पीडितलाई अत्यन्त ठूलो सहयोग गर्न सकिरहेका छन्। के नयाँ शक्तिले समेत त्यस्तो गर्न सक्दैन? आफै नगरे धुर्मुस सुन्तलीलाई सहयोग गरे हुन्न? प्रचारबाजी बहुत गर्ने पार्टी घोषणा नै तामझामसंग गर्नेले आफूलाई नयाँ शक्ति भन्न अलि सुहाएन कि?