फुटमा जुटभन्दा धेरै गुणा पीडा छ। जबकि जुट्नु फुट्नुभन्दा कयौं गुणा राम्रो हो तर माओवादी एकता ठीक विपरीत भयो। १२ वर्षसम्म सँगै जनयुध्द लडेको तत्कालीन नेकपा माओवादी दर्जनौं टुक्रामा विभाजित भएर शान्ति प्रकियामा आइसकेपश्चात छोटो समयमै लामो फुटको फेरिहस्त बनायो।
भर्खरै दसौं टुक्रा जुट्दै नेकपा (माओवादी केन्द्र ) बनेको छ तर यसले वास्तविक माओवादीजनमा जति उत्साह देखिनुपर्थ्यो त्यो देखिन सकेन।
वास्तविक र इतिहास बोकेका कार्यकर्ताका लागि यो एकता टुटेका माटाको गाग्रोलाई जोडेर रंग पोती धमिलो पानी भरेर हामी भरियौं भनिएजस्तो मात्र भएको छ। विगतमा एउटै विचार र कार्यदिशाको नेतृत्व गरेका प्रमुख तीन हस्तीहरू मोहन वैध (किरण), पुष्पकमल दाहाल (प्रचण्ड),बाबुराम भट्टराई (लालध्वज) तीनतिर ध्रुवीकृत भएका छन्।
शान्ति प्रक्रियामा आइसकेपछि सहरमा माओवादीलाई त्यो नाम सुहाउन छोड्यो। जतिपटक झुण्ड थपियो त्यति परिवर्तन हुँदै गयो। जब किरणबाट मोहन वैध्य, प्रचण्डबाट पुष्पकमल दाहाल, लालध्वजबाट बाबुराम भट्टराई भएर नेताको नाम र जीवनशैली परिवर्तन हुँदै माओवादी संसदीय राजनीतिमा उम्कनै नसक्नेगरी फस्यो। जनताले संसद र सरकारमा अन्तिम आशाको रूपमा माओवादीको बलियो उपस्थिति गराइदिए तर संसद र सरकारमा रहँदा आफूले प्राप्त गरेका क्रान्तिका उपलब्धी संस्थागत गर्न र लामो ऐतिहासिक वर्ग संघर्षको बाँकी कार्यभार पूरा गर्न चुक्यो र उसको कार्यक्षमतामाथि जनताले लिएको परीक्षामा असफल भयो। नेपाली राजनीतिको महान रोग ‘फुट’ले माओवादीलाई पनि छोयो। जतिबेला जति जुटेर गर्न सकिन्थ्यो त्यति फुटेर गर्न सकेन र विश्वास गुमाउँदै गयो।
तत्पश्चात क्रान्तिका हस्तीहरू तीनतिर कहिल्यै नमिल्ने जसरी फर्किए र एक-अर्कामा आरोप-प्रत्यारोपमा लागे। केही समयअघि मात्र हेमन्तप्रकाश ओलीले एमाओवादी छोडेर कम्युनिष्ट न्युक्लस केन्द्र गठन गरे। यसरी विगतमा महत्वपूर्ण जिम्मेवारी लिएका नेताहरू एक्लाएक्लै हिँड्न थाले। धेरैतिर भौंतारिएर शिथिल र क्षीण भएपछि जोडिएका टुक्राहरू वैध्य माओवादीबाट पम्फा भूसाल, देब गुरूङ, रामबहादुर थापाको समूह र वैध्य माओवादी हुँदै टुक्रिएको विप्लव नेतृत्वको अर्को समूहसहितको यो एकता जनयुध्दकालीन मुद्दामा एकैठाउँमा रहेर प्रतिरक्षा गर्नुपर्ने अवस्था र सरकार परिवर्तनको हल्लाका बीच भएकाले अवसरवादी एकताको रूपमा पनि देखिन्छ। हावाहुरी चलेपछि एकै छाप्रामुनी जम्मा भएको यो समूह रोकिएपछि लाखापाखाको सम्भावना पनी उत्तिकै देखिन्छ।
तत्कालीन समयमा एमाओवादी पार्टी फुटाउँदा बादलले भनेका थिए, ‘जल्लाद र तिनका दलालले आज जनमुक्ति सेनालाई विघटन गरी ह्वीस्की र स्याम्पेनका बोतल तोडे र ती रातहरूलाई भोजभतेर गरेर मनाए तर विघटन भएको जनमुक्तिको खरानीबाट लाखौं जनमुक्ति सेना निर्माण गरी दलालहरुलाई तह लगाइने छ।’ बादलको त्यो भनाइमै सीमित भयो र अन्तत: यो एकतालाई सच्चा कम्युनिष्ट र क्रान्तिकारी एकताको आवश्यकताको आँखाले हेर्दै आफैंद्वारा दलाल आरोपित टोलीमा मिसिन पुगे।
सदावहार क्रान्तिकारी धारको नेतृत्व गरेको र सिध्दान्तमा मात्र अडिग रहेको तथा परिस्थितिको माग नबुझेको शास्त्रीय मार्क्सवादीको आरोप लाग्ने गरेको वैध नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी),एकता केन्द्र गठनपश्चात विप्लव नेतृत्वको नेकपा माओवादीसँग नजिकिएको छ र यो एकतालाई उनीहरूले नवसंशोधनवादी, अवसरवादी जनगद्दार र राजनीतिक लाशहरूको एकताको संज्ञा दिएका छन्। क्रान्ति र वर्गसंघर्षको मैदानमा आफूलाई समाहित राखी कसैको सती नजाने पक्षमा यो समूह छ।
संशोधनवादीको आरोप लागेका बाबुराम भट्टराई वैकल्पिक राजनीतिक धार र सैध्दान्तिक रूपमै नमिल्ने गरी मार्क्सवाद छाडेर नयाँ शक्तिमा गएका छन् र यो एकतालाई ‘ठुटो जोडेर रूख बन्दैन’ भनेका छन्।
जनवादी क्रान्ति पूरा गरेर वैज्ञानिक समाजवाद स्थापनाको एउटै उदेश्य बोकेका माओवादीहरू एक हुनु आवश्यक छ। अन्यथा, ९९९ सदस्यीय केन्द्रीय समितिमा थामिनसक्नुको भीडसहितको भद्दा सुरूवात भएको माओवादी एकता केन्द्र, ‘ए ! कता केन्द्र’ मात्र बन्नेछ।