फाष्ट ट्रयाक प्रोजेक्ट नेपालको कुनै EIRR, C/B Ratio हिसाब गरेर बनाउने प्रोजेक्ट होइन, यो प्रोजेक्ट देशको राजधानीलाई आधा जनसंख्यासँग जोड्ने भौतिक पूर्वाधार मात्र होइन, भावनात्मक रूपमा जोड्ने सेतु समेत बन्नेछ।
तराई मधेशका जनताको भावनात्मक दूरी घटाउने कुरालाई कुनै EIRR, C/B Ratio सँग तुलना गर्न सकिन्न भन्ने कुरा त केही अघिको मधेश आन्दोलनले पनि देखाइसकेको छ। यसको आयोजनाको लागि प्राविधिक र वित्तिय विश्लेषण मात्र महत्वपूर्ण छैन, यसको सामरिक, रणनीतिक र राजनीतिक महत्व पनि भएको कुरा त संविधान घोषणाको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा भारतीय दूतावासका अधिकारी समेत संलग्न भएर आयोजनाका बारे प्रस्तुतिकरण हुनुले नै प्रष्ट पारेको छ।
अहिलेसम्म हामीसँग त्यस्ता कुनै पूर्वाधार छैनन्, जसले तराई मधेश र राजधानीलाई सहजतासाथ जोडेको छ, बाहेक चालीस वर्ष पहिले चीनले चालीस किलोमिटर बनाइदिएर जोडिएको मुग्लिङ नारायणगढ सडक नै अहिलेसम्म गुल्मीका ज्ञवाली, सिरहाका यादव, सप्तरीका साह, जनकपुरका झा, रौतहटका मुस्लिम, सर्लाहीका महतो, दाङ-कैलालीका चौधरी वा झापाका राजवंशीको राजधानी आउने प्राथमिकताप्राप्त मार्गमा पर्दछ ।
यसले दिने लगानी प्रतिफल वित्तिय आधारमा मात्र विश्लेषण गरिनु अत्यन्त अपूर्ण छ, अनि प्राविधिक क्षमताको कुरा गर्दा हामी कति दिनसम्म आफूले आफैंमा हिनताबोध गरेर बस्ने? के कुलेखानी जलविद्युत् आयोजना नेपालको तत्कालीन प्राविधिक र वित्तिय क्षमताको विश्लेषण गरेर बनाइएको थियो? लोडशेडिङ भोगिराखेको अहिलेको नेपालमा यस कुलेखानी देशको एक मात्र जलाशययुक्त आयोजनाको महत्वलाई कुनै वित्तिय विश्लेषणका आधारमा मापन गर्न सकिन्छ?
पञ्चायतले बनाउने सकेको (कुलेखानी) जलाशययुक्त जलविद्युत आयोजना जस्तै के त्यसपछिका प्रजातान्त्रिक र लोकतान्त्रिक सरकारले २५ वर्षसम्ममा प्राविधिक र वित्तिय क्षमता जुटाउन नसकेकै आधारमा अन्य जलाशययुक्त जलविद्युत आयोजना बन्न नसकेका हुन् त?
के जोन एफ केनेडीले पूर्व अनुभवका आधारमा एपोलो सेरिजको चन्द्रमा पुग्ने यात्राकाो प्रोजेक्ट शुरुवात गरेका थिए? के महाथिर मोहम्मदले मलेशियाको तत्कालीन प्राविधक क्षमताका आधारमा क्वालालम्पुरमा ट्वीन टावर बनाउने घोषणा गरेका थिए? के लि क्वान यु ले सिंगापुरमा उपलब्ध स्रोतसाधनका आधारमा मलेशियाबाट छुट्टयाउनलाई भूमिका खेलेका थिए? के धुर्मुस-सुन्तलीले काभ्रेको पाँचखालमा ऊनीहरु इञ्जिनियर, आर्किटेक्ट वा साहु महाजन भएर एकीकृत बस्ती बनाउन सफल भएका हुन् वा सिन्धुपाल्चोकको गिरञ्चौरमा एकीकृत बस्ती बनाउन कसिएका हुन्? बाह्र वर्ष अघि भोकमरीको समाचार पस्कने इथिइयोपियाले कसरी आज १२ हजार मेगावाटको बिजुली उत्पादन गर्ने तिर लम्कदैंछ?
हामीले कहिलेसम्म हामी नेपालीसँग व्यवस्थापकीय क्षमता छैन, कहिलेसम्म हामीले ‘जनशक्ति, प्रविधि र क्षमताले त्यसको व्यवस्थापन गर्न सक्दैन। हामीमा त्यत्रो परियोजना कार्यान्वयन गर्ने व्यवसायिकता पनि छैन। हाम्रो मानसिकतानै ढिला र ‘नेग्लेट’ गर्ने छ। कुनै परियोजना ढिला गर्न हुन्न भन्ने कुरा अथवा कहीँ ढिलासुस्ती भयो भने त्यसलाई दण्ड दिने कुरा हाम्रोमा विकास भएको छैन,’ भन्ने हिनताबोध पालेर बस्ने? कहिलेसम्म यसलाई निरन्तरता दिने?
के नेपालको राजनैतिक नेतृत्व र कर्मचारीतन्त्रको उच्च तहले सधैं भरि विदेशका चिल्ला सडकमा खिचिएका फोटोहरु वा तिनका छोराछोरीले विदेश गएर विदेशका चिल्ला सडक छेउमा खिचिएका फोटोहरु फेसबुकमा पोष्टिएकोमा मख्ख भई बस्ने? के नेपालको राजनैतिक नेतृत्व आफैंले केही गर्न सक्छौं, आफैंले केही सपना देख्न सक्छौं र त्यसलाई आफ्नै क्षमतमा पूरा गर्न सक्ने तागत पनि राख्छौं भन्ने आत्मविश्वास गुमाइसकेको हो? के नेपालको राजनैतिक नेतृत्व र कर्मचारीतन्त्रको उच्च तहको उच्चतम खुशी भनेको छोराछोरीले PR/Green Card पाउँदा पार्टी दिने र हर्षले उफ्रने नै हो?
निश्चय नै अन्तर्राष्ट्रिय स्तरको कुनै आयोजना सम्पन्न गर्न त्यही स्तरको प्राविधिक क्षमता र व्यवस्थापकीय कौशलको आवश्यकता पर्छ, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रले संकीर्ण स्वार्थ, लोभ र कुखुरेछाति बोकेर मात्र हिंड्ने हो भने चाहिं पक्कै पनि यस्ता आयोजना नेपालले बनाउन सक्ने छैनन्।
यसका लागि त्यही अनुसारको अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी प्रविधि र व्यवस्थापनको नेपाल सरकारले संयोजन गर्न सक्ने हो भने ७६ किमिको फाष्ट ट्रयाक होइन, ७६० किमिको फाष्ट ट्रयाक बनाउन पनि नेपाल सफल हुनेछ। होइन, राजनीतिक नेतृत्वले कुनै बेरोजगार कार्यकर्तालाई रोजगारी दिन मात्र यस्ता आयोजनाको हुँइय्या पिट्ने र कर्मचारीतन्त्रले सीमित व्यक्तिगत लोभलालचमा बाँधिइराख्ने, राज्यका सम्बन्धित अन्य निकाय पनि देशको स्वार्थलाई सर्वोपरि राख्ने होइन कि, आ-आफ्ना इगो र आत्मतुष्टिमा रल्लिराख्ने हो भने देवका देव महादेवले पनि नेपालका लागि केही गर्न सक्ने छैनन्।