एसएलसी र प्लस टुको परीक्षापछि अध्ययनको लागि खुलेका विभिन्न शिक्षण संस्थामा किशोर–किशोरीहरूको भीड दिनानुदिन बढ्दो छ। सरकारी कलेजमा निरन्तर पढाइ हुन नसक्नु, राजनीतिक दल तथा तिनका विद्यार्थी संगठनका कारण काफितलोको कारणबाट पढ्ने वातावरण हुन नसकेको हो।
सरकारी कलेजमा हुने गरेको यस्तो कमजोरीले अधिकांश विद्यार्थी आफ्नो भविष्यका लागि निजी शिक्षण सस्थामा धाउने गर्दछन्। सफा, चिटिक्क अनि आकर्षक कपडा आफ्नो ठाउँमा छ, त्यसका अलावा विद्यार्थीहरू निष्पक्षता तथा समान व्यवहारको अपेक्षा राख्दछन्।
भनिन्छ, निजी कलेजमा सरकारी कलेजभन्दा बढी शुल्क लाग्दछ। हरेक पक्षमा सरकारीस्तरका संस्थाभन्दा बढी शुल्क लाग्छ। सही हो, त्यो पनि असमान रुपमा लागू हुन्छ।
नेपाल एउटा अल्पविकसित विपन्न राष्ट्र हो। यहाँका अधिकांश मानिस गरिबीको रेखामुनि बाँच्नु परिरहेको छ। दिनहँु आफ्नो हातमुख जोर्न धौ–धौ पर्ने अवस्था छ। बाहिरी रुपले धनी देखिने व्यक्ति पनि केही न केही समस्याबाट ग्रसित नै छन्। सरकारी संस्थाभन्दा राम्रो तथा गुणस्तरीय शिक्षा प्रदान गर्छु भनी खोलिएका निजी शिक्षण संस्थाहरूले आफूलाई मनलागी ढंगले शुल्क उठाइरहेका छन्।
देशले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै नयाँ संविधान जारी गरिसक्दा अन्य कुरामा समानताका कुरा गरिँदै आएका छन्, बहस चलाइँदै छ। तर शैक्षिक क्षेत्रमा हुने असमानताका कुराप्रति कसैको ध्यानाकर्षण भएको छैन। शिक्षालाई एउटा लुगाको व्यापारजस्तो छाडिएको छ, जहाँ दलाल गरेर विद्यार्थी ल्याइन्छ।
मनलागी शुल्क लिने कुरामा त रोक्ने हिम्मत कसले उठाउला र? सबैले यस्तो नगरेका होलान् तर जोबाट असमान, भेदभाव भइरहेको छ उनीहरूमाथि यो प्रश्न हो मेरो।
म बिबिएस तेस्रो वर्षमा अध्यनरत् विद्यार्थी हुँ। मैले केही नलुकाई भन्नुपर्दा मसँग स्कुल पढेका साथीहरू विभिन्न कलेजमा छरिएका छन्। एउटै कलेजमा एउटै कक्षामा बस्ने साथीहरूलाई सोध्यौं भने उनीहरूको मुखबाट भिन्न–भिन्न शुल्क सुन्नु परेको छ।
जसलाई छात्रवृत्ति दिइने हो, त्यसलाई थाँती राखिएको छ। समानस्तरका विद्यार्थीमा पनि भिन्न–भिन्न शुल्क उठाइएको छ। यदि भिन्न शुल्क नै लगाउने हो भने बढी शुल्क तिरेकाहरूले कम शुल्कको तुलनामा अझ बढी तथा राम्रो गुणस्तरीय शिक्षा पाउनुपर्ने हैन? भिन्न कक्षामा पढ्न पाउनुपर्छ।
भनिन्छ, गुरु भनेका मातापिता समान हुन्। अनि विद्यार्थी सन्तान। त्यसो भए किन गरिन्छ आफ्नै आमा–बाबुबाट सन्तानमाथि भेदभाव? कि देखाइन्छ असमानता? देशलाई शिक्षा दिने एउटा जिम्मेवार शिक्षण संस्थाले यसरी भेदभावको नीति अख्तियार गरिरहे कालान्तरमा त्यसको प्रभाव कस्तो रहला? यसको बारेमा कहिले सोच्ने? कसले सोच्ने? सैद्धान्तिक कुरामा मात्र सीमित नभइ व्यवहारमा झल्काउन सके कति राम्रो हुने थियो होला?