बिहानै उठेर जाँतो पिस्दै थिएँ
जेठो छोराले फुन बजायो
आमा मुख हेरे है भन्यो
मैले भने हेर हेर बाबु! हेर
हैन कस्तो जमना आयो
फुन मा नि मुख हेर्न मिल्ने भएछ
जे भए पनि
बर्षा दिनमा फोन गर्यो मेरा नाक फुले खुसीले
बुहारी नाती नातिनाको खबर सोध्नै लाग्या थे
फुन त काटियो चट्टै ...!
एकिछन पछि
जेठी छोरीले फुन गरी काठमान्डुबाट
आमा मुख हेरे है भनी
हेर हेर छोरी भर्खरै तेरो दाइले नि हेर्यो रे
कस्ती देखिएकी छु त भन्नै लागेको
फुन त ट्वा ट्वा गर्छ
कुनी के भो, माइलाले कतार बाट पठाइदिएको फुन हो
साइलोले घाँसको भारी बिसाउँदै भन्यो
मुख हेरे है आमा तिम्रो
हैन रात दिन हेरेकै त छस् नि मेरो मुख
केलाई हेर्नु परो यो बुढीको मुख
हुन त बिचरा
नौ भाई छोराछोरीमा यही एउटा त छ नि मसँग
दुःख मा साथ दे को छ
अरू छोराछोरी त लाखापाखा लागेका छन्
जेठोले श्वासनी छोराछोरी लगेर अम्रिका हानिएको दशै साल भयो
माइलो कतारमा काम गर्छ
श्वासनी छोरालाई पढाउन भन्दै
बजारमा बसेकी छे।
कान्छो खै!! कुन पार्टीको काम गर्छु भन्छ
महिनामा एसो एक दुई पटक आउँछ
जान्छ केही भन्दैन
अब ज्वरो आउँदा पनि पानी दिने त यही साइलो छोरो त होनी
छोरी सबै अर्काको घर गए
यस्को एउटी खोजेर बिहे गर्दिना पाए
मरे नि शान्तिले श्वास फेर्थेँ होला
मुख त देखाइदिनु परो भन्दै
पछि फर्किए
छोरो त छैन
साइला मुख हेर्न आईजा भनेर बोलाए
उस्ले आमा भात खाँदै छु भन्यो
बिचरा भोक लागेको होला खा! बाबु खा भने
फेरि साइली छोरीको फुन बज्यो
आमा मुख हेरे भनी
हेर छोरी हेर
अब जमानै यस्ता
फुन मै मुख देख्न पाएसी तिमीहरुलाई के चाहियो र
कान्छी छोरीले नि गरी फुन
आमा मुख हेरे भनी
हेर हेर छोरी,
हैन यो मुख आज मात्रै देखिन्छ कि के हो
सबैले मुख हेरे भन्छन्
अस्ती ज्वरो आएर पल्टिँदा
कसैले मुख देखेनन् कि के हो?
अब फुन मै हेर्न मिलेसी त
हेरेको भए मैले पानी खान पाउँथे होला नि
धन्न माथिकी फताउरी बुढी आईन र
पानी पिएर बाँचे थे..!