जो कसैको बोलि र भाषणको पछि नलागि,
आफ्नो धर्म र कर्मको पालनामा लाग्दछ ।
जो कसैको झुठो आश्वासनको प्रवाह नगरी,
लगनशिलता र कर्तव्यलाई अँगाल्दछ ।
हो, उही हो श्रमिक ।
जो विशाल मुढाहरु चिर्ने करौँतिका दाँतजस्तै, आफ्ना पाखुरीले,
जीन्दगीका झुपडिहरू सिंगार्छ ।
जो आकाशलाई छानो हालि ढुंगाको सिरानीमा मस्त निदाउँदै,
विशाल गगनचुम्बि अपार्टमेन्टहरू उभ्याउँछ र संसारलाई त्यसको रमिते बनाउँछ ।
हो, उही हो श्रमिक ।
जो अन्धकारहरुको प्रवाह नगरी, अरुलाई उज्यालो दिलाउन,
विद्यालयको खम्बा ठड्याउँछ, खोलाबाट बिजुली निकाल्न पहाडजत्रै बाँध खोलामा कस्छ,
अनि,
अैँजेरु पलाईसकेका खुट्टाले टेकी, पथ्थर भन्दा साह्रा आफ्ना हातहरुले,
गैँति र साबेल उठाउँदै पहाडका भित्ताहरु फोर्छ,
र भविष्यका सन्ततिहरुको गोडामा काँडा नबिझ्ने, चिल्ला सडकहरुको कल्पना गर्छ,
हो, उहि हो श्रमिक ।
जसलाई सिंगो आकाशले,
आमाले आफ्ना सन्ततिहरुलाई, न्यानो पछ्यौरी ओडाएजस्तै,
जूनताराको बुट्टेदार पछ्यौरी ओढाउँछ ।
धर्तिको धुलोले, डस्नाको नरमपना बिर्साउँछ,
अनि,
ढुंगाले रुवाको डल्लोरुपि सिरानीलाई भूलाउँछ ।
हो, उहि हो श्रमिक ।
तर आज,
परिभाषा फेरीएको छ , व्याख्या बदलिएको छ ।
श्रमिक कामले नभएर,
पद, व्यवहार वा आचरणले भएको छ ।
जसले श्रमको नाउँमा एउटा सिन्को पनि भाँचेको छैन,
ऊ पनि श्रमिक कहलिएको छ ।
वास्तवमा,
जसको मन, मुटु र मस्तिष्कमा श्रम गरेर संसार रंग्याउने सपना छ ।
जसका हात–गोडाहरुमा असिम कार्यशक्ति छ ।
अनि,
जसका आँतहरुमा थकानको कुनै महशुस छैन ।
हो, उहि हो श्रमिक ।