कति छचल्किए यी आँखाहरूमा आँसु, कति यादहरू यो दिल छोडेर कहिलै जान मान्दैनन्, यो प्राविधिकको मनमा पनि केहि सम्झना लुकेको छ, नपोखिकन बसिरहन सकिनँ।
जतिसुकै ठेलीहरू पढौँ,जतिसुकै सैदान्तिक बनौँ, वास्तविकता फरक हुने गर्छ। चार वर्से इन्जिनियरिङ अध्ययनमा कठोर भइसकेको मन बिस्तारै पग्लिदैछ। यही मनले भोगेका केही तथ्य पस्कन लागेको छु।
भूकम्पले थिलोथिलो पारेर पालमुनि आश्रम लिईरहेका व्यक्तिको वासस्थान निर्माणको पहिलो चरणको लगत संकलन कार्यक्रममा आफूलाई सहभागी गराउन पाउँदा केही हदसम्म खुसी मिलेको छ।
काठमाडौंको वर्ल्ड ट्रेड सेन्टरको पाँच दिने प्रशिक्षणपछि हामी करिब ६० जना इन्जिनियर गोर्खा हानियौँ। गोरखा,जि.वि.सको कार्यालयमा आफूलाई पर्ने गाविसको नाम सुनाइयो र परिचालकसँग भेट गराइयो।
मेरो कार्यक्षेत्र विकट एवम् भूकम्पले अति प्रभाव पारेको लाप्राक गाउँमा पर्यो। मेरो नामसँगै कार्यक्षेत्र सुनाईँदा सबैजना साथीहरू गलल्ल हाँसे। म पनि हासेँ मनमा भएको एउटा अठोट पूरा गर्न। एउटै परिवेसमा पनि बेग्लै उद्धेश्यको हाँसो थियो त्यो।
गुम्दा, लाप्राकका साथी र सामाजिक परिचालकहरू एकै दिनमा लाप्राकको गुप्सिपाखा पुग्न सफल भयौं। गुप्सिपाखा हिउँले छोपिएको थियो। त्यही हिउँभित्रको एउटा कटेजमा स्लीपिङ ब्यागले आफैंलाई छोपेँ र निदाउने प्रयास गरेँ।
गणेश र बुद्ध हिमालको मनोरम दृष्यले त्यो बिहान अर्थपूर्ण बनिरहेको थियो। सोहि दिन गाविस भवनमा वडा अध्यक्ष, वडा नागरिक मन्चका सदस्य, राजनीतिक दलका प्रतिनिधि एवम् उपस्थित जनतासँग छलफल भयो। कुनै पनि कार्यक्रम जनतामाझ जाँदा त्यसको उद्धेश्य,फाइदा,बेफाइदाबारे सुरूमै प्रष्ट पार्न सकियो भने काम गर्ने बेलामा निकै सजिलो हुनेरहेछ।
अर्को दिनबाट लगत संकलन सुरू भयो। सामाजिक परिचालक गाउँकै मणिकामदेवी मा.वि का प्र.अ भविराज गुरुङ हुनुहुन्थ्यो। उहाँले जनतालाई हरपल भनेका दुई प्रसङ्ग मलाई अहिलेसम्म याद आइरहन्छ।
जुन घरमा पुगेपनि ‘वास्तविक भूकम्पपीडित’ र ‘सही विवरण एवम् ल्याप्चे को कुरा’। मेरो दृढता, उदेश्य र कार्यसम्पादनमा उहाँले कुनै अप्ठेरो सिर्जना हुन दिनुभएन।
धेरैले भविले दुश्मन बढायो भने। तर, म भन्छु भविजीले सत्यताको धरातलमा अडिएर सही सूचना दिनुभयो जसकारण मलाई काम गर्न निकै सजिलो भयो। सम्पूर्ण गाउँका लागि एउटै व्यवहार प्रस्तूत गर्ने उहाँलाई मेरो तर्फबाट एक सलाम।
मिठो खाना एवम् सुरक्षित बासस्थानका लागि स्थानीय रितिपाल गुरूङप्रति साधुवाद। मेरो भागमा लाप्राकको वडा न: १,२,३,५,६,७ परेको थियो। त्यो उत्साहमा शनिबार भनिएन, बिहान बेलुका गनिएन। करिब ३५ दिनमै हामी काम सम्पन्न गर्न सफल भयौं।
हामी केवल ढुंगामाटोको अस्तिपन्जर नियाल्न गएका थिएनौं। हामीले सामाजिक एवम् आर्थिक विवरण पनि संकलन गर्नु थियो। धेरै पटक रसाएका आँखाहरु मेरो अगाडि फेरि बर्सिए, त्यतिखेर लाग्यो हामी मन जोड्न होइन भत्काउन लाइरहेका छौं।
कति ठाउँमा सान्तवना दिएँ कति ठाउँमा प्रसङ बदलेँ। ठाउँ विकट भएता पनि मान्छेको सोच र व्यवहार निकै विकसित पाएँ। विदेशी पाहुना र नयाँ मान्छे देख्नेबित्तिकै नमस्कार सर भन्ने लाप्राकका बालबालिका सुसंस्कृत चालचलनको उपज हुन्।
ढिलै भएपनि पुनर्निर्माण प्राधिकरणका कामले केही गति लिएको छ। नामावली प्रकाशन कार्य जारी रहेको छ। एन्.आर. एन्ले लाप्राकको सम्पूर्ण घरधुरी बनाइदिने भएको छ। आशा छ यो कामले छिट्टै मूर्तरूप पाओस्।
केन्द्रमा पुनर्निर्माणको नारा घन्काउँदैमा नयाँ घर बन्दैन, अति प्रभावित गाविसमा पक्की घर बनाउन धेरै ढिला भएको छ। चिसो रात सहे, हुरी बतास सहे अब फेरि असारको भेल सहन नपरोस्।
sujanresime7@gmail.com