क्याम्पसी ड्रेसमा साथीसँग रम्मिदै
बाग्मती किनारको छेऊमा एक हातले नाक थुन्दै
हातको रित्तिएका लेज र रेड बुलका बोतल खोलामा फाल्दै
ऊ बढो प्रकृतिप्रेमी पारामा भन्छ
सरकारले बाग्मती सफा गरेन।
जुन थालमा खायो त्यही थालमा थुक्ने भने झै
चटपटे र पानीपुरी दिने दाईलाई
ऊ हेपाइको शैलीमा भै’या पुकार्छ
अनि बढो देशप्रेमी पारामा भन्छ
सरकारले सीमा सुरक्षा गरेन।
लामो लाईन कुर्न नसकेर
नेता र मन्त्रीको सोर्स लाउँदै
कर्मचारीलाई घुस दिँदै
ऊ आफ्नो काम चाँडो निम्त्याउँछ
र कानुन पालक झै भन्छ
देशमा कानुन व्यवस्थै भएन।
ग्याँस र पेट्रोलमा बढेको पाँच रुपैया भाऊ घटाउन
ज्यानकै बाजी लाएर आन्दोलनमा उत्रन्छ ऊ
र बाध्य पार्छ सरकारलाई तुइनका लागि छुट्याइएको रकम पेट्रोलमा घटाउन
र पिरोल्दै भन्छ
सरकारले कर्णाली विकास गरेन।
पाखो बारी बाँझो राख्दै
बुढा आमा बालाई गाउँमै छोडेर
ऊ सहर हुँदै विदेश हुतिन्छ
र माझ्छ जुठो भाडा
अनि सराप्दै भन्छ
सरकारले देशमा रोजगारी श्रृजना गरेन।
खबरदार युवा हो,
गाँउ बुढापाका र वालवच्चालाई जिम्मा लाएर
पाखो भित्ता रित्तै राखेर
फेसबुकका भित्ता रंग्याउँदै
विदेशी संस्कृति र भूमिमा रमाउनेलाई
नेताले केही गरेनन् भन्दै
नाङ्गो देशप्रेमी दर्शाउन
अनि कर्तव्य पालना नगरी
अधिकार माग्ने कुनै हक छैन।
साच्चै देशको माया छ भने
र केही गर्न सक्छौ भने,
आऊ सबै नेपाली माटोमा
सुख्खा हुँदै गएको तराईको माटोमा फेरि धानका लहरा झुलाऊ
पटपटी फुटेका पहाडका पाखाहरुलाई हरियाली बनाऊ
र पग्लिदै गएका हिमालका चुचुरालाई फेरि उचालौ
अनि देश विकास गरौं।